चितवन / बिश्वब्यापीरूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागी नेपाल सरकारले जारी गरेको लकडाउनको समयमा चितवन राष्ट्रिय निकुञ्जमा निषेधित गतिविधि बढ्न थालेकाे छ ।
चितवन राष्ट्रिय निकुञ्जले राप्ती नगरपालिका ६ बस्ने ५४ वर्षीय आइतराम राई (चतुरे) लगायत ९० जनालाई पक्राउ गरेपछि घटना बाहिरिएको हो । राई गैंडाको खाग तस्करीमा संलग्न रहेको आरोपमा झन्डै १० वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । राई सहित ९० जनालाई निकुञ्जमा सुरक्षार्थ खटिएका बटुकदल गणले पक्राउ गरे संगै निकुञ्जको सुरक्षामा थप कडाइ गरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेतीका अनुसार राज्यको ध्यान मोडिएको बेला अपराधीहरूले अन्यत्र ध्यान केन्द्रित गरेकोले निकुञ्जको सुरक्षामा थप कडा गर्नुपरेको जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई निकुञ्ज प्रशासनमा बुझाइएको छ ।
यस्तै, नेपाली सेनाले पनि निकुञ्जको एरिया डोमिनेशन तथा शंकास्पद स्थानमा चेकिङ्ग गर्दै स्विप, सर्च, स्पेशल एण्टिपोचिङ्ग लगायतका अप्रेसनमा तीव्रता दिएको जनाएको छ । निकुञ्ज सुरक्षाको लागी ड्रोनको समेत अधिकतम प्रयोग गरेर निरन्तर निगरानी गरेको सेनाको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।