अनि गृहमन्त्री थापासँग गले रक्षामन्त्री ईश्वर पोखरेल

काठमाडौं– बिहिबार दिउँसो सिंहदरबारमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सकिनै लागेको थियो । आजको बैठकमा सबैभन्दा महत्वपूर्ण निर्णय थियो– काठमाडौं उपत्यकामा समस्यामा परेका र बाहिर आफ्नो घर जान चाहनेहरुलाई शुक्रबार र शनिबार सरकारले नै गाडीको व्यवस्था गरेर पुर्याइदिने । 

जसै बैठक सकियो, यो समाचारले मिडियामा पनि राम्रो स्थान पायो । केही दिनयता काठमाडौंबाट दैनिक राति सयौँ जना हिँडेर नै टाढा टाढा गन्तव्यमा पुग्न खोजिरहेका छन्, आफ्नो घर फर्किन चाहिरहेका छन् । 

यस्तो समयमा आएको यो समन्वय समितिको बैठकको निर्णयले काठमाडौंमा ठूलो तरंग पैदा गर्यो । धेरैले सरकारको यो निर्णयको स्वागत गरे, केहीले आलोचना गरे । 

तत्काल आलोचना गर्नेहरु अलिक कम देखिए । तर, क्षणभरमा नै आलोचकहरुको संख्या बढ्न थाल्यो । कतिसम्म भने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत यसको विरोध गरे, यस्तो निर्णय भएकोमा आशंका व्यक्त गरे । 

समन्वय समितिको बैठक सकियो । गृहमन्त्रालयमा यसबारे छलफल सुरु भइसकेको थियो । जसै मन्त्रालयमा यसको गृहकार्य हुन थाल्यो, गृहमन्त्री बादललाई सन्देश आयो– यो काम गर्न नै सकिँदैन । 

त्यसमा अझ जोड दिइएको थियो– सरकारले नै लकडाउन गर्ने र सरकारले नै लकडाउनको उल्लघंन गर्ने ?



यतिमात्र होइन, यतिबेलासम्म नेकपाका अन्य नेताहरुले पनि यसबारे गुनासो गर्न थालिसकेका थिए ।  

यसको एउटै कारण थियो– काठमाडौंबाट गाउँमा गएको व्यक्तिमा यदि कोरोनाभाइरस संक्रमण रहेछ भने त्यो गाउँभर फैलिन्छ । 



स्रोतका अनुसार तत्कालै गृहमन्त्री थापाले यो निर्णयलाई उल्ट्याउन रक्षामन्त्री तथा समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई अनुरोध गरे । ईश्वर पोखरेललाई यो निर्णयबाट पछाडि हट्न शंकर पोखरेल तथा अन्य नेताहरुको पनि दबाब परिसकेको थियो । 

गृहमन्त्री बादलले यसलाई अझ बढी जोड दिन थालेपछि रक्षामन्त्री पोखरेलले यसबारे एउटा विज्ञप्ति नै निकाले र यस्तो निर्णय नभएको जानकारी दिए । 

‘खासमा निर्णय चाहिँ भएको थियो, तर व्यापक दबाब पछि फेरिएको हो,’ समन्वय समितिकै एक सदस्यले फरकधारसँग भने, ‘यो निर्णय गर्दा पनि हामीलाई ठिक हो भन्ने लागेको थियो, अहिले रद्द गर्दा पनि रद्द गरेकै ठिक हो भन्नेमा हामी पुगेका छौँ ।’ उनले मिडियाहरुमा हरेक रात सयौँले कयौँ किलोमिटरको यात्रा तय गरेको समाचार आइरहँदा आफूहरु बाध्य भएर उनीहरुलाई सहजीकरण गर्ने कि भन्ने मनासयमा पुगेको बताए । 

‘तर, फेरि यसरी लैजाँदा दुई दिनमा हामीले कतिजनालाई कहाँकहाँ लैजान सकिन्छ र त्यसरी जानेमध्ये एकजनामा मात्र पनि कोरोनाभाइरस संक्रमण रहेछ भने त्यसले हाम्रा दूरदराजका गाउँहरु पनि प्रभावित हुन्छ भन्ने तर्क आयो,’ उनले भने, ‘अनि निर्णय फेरियो ।’

उनले यसो भने पनि समन्वय समितिका अन्य सदस्यहरु यो निर्णय नै नभएको भन्ने पक्षमा छन् । ‘खासमा यो निर्णय नै भएको थिएन,’ अर्का एक सदस्यले भने, ‘छलफल हुँदै गर्दा मिडियामा यो कुरा पुग्यो, अनि भ्रम फैलिएको हो ।’

  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार २०:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया