कसले र किन गर्‍याे प्रधानमन्त्री कार्यालयको फेसबुक पेज निस्क्रिय ?

काठमाडौं– नेपाल सरकार पछिल्लो समय कति अव्यवस्थित र अपरिपक्व छ भन्ने कुरा बिहिबारका दुई घटनाले प्रष्ट्याउँछ । तर, दुवै घटना एकअर्कासँग जोडिएका विषय हुन् । 

बिहिबार दिउँसो सिंहदरबारमा बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले निर्णय गर्यो– दुई दिन उपत्यका छोड्न चाहने मानिसलाई जान चाहेको ठाउँमा आफूहरुले पुर्याइदिने । 

तर, यो निर्णय दुई घन्टा पनि टिक्न सकेन । सरकारले तत्कालै अर्को निर्णय गर्यो– कोही पनि उपत्यका बाहिर जान नपाउने ।

त्यसपछि सामाजिक सन्जालमा मनिसहरुले यसबारे प्रश्न गर्न थाले, मिडियाहरुले जिम्मेवार मन्त्रीहरुलाई सोध्न थाले । अनि समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विज्ञप्ति नै निकाले– यो निर्णय भएकै छैन । 

तर, उनले यसो भन्नुभन्दा पहिले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आधिकारिक फेसबुक पेजमा यो सूचना प्रकाशित गरिइसकिएको थियो । सयौँले त्यसलाई लाइक गरेका थिए, सेयर गरेका थिए । 

केही मानिसहरु यही आधारमा अब घर जानका लागि तयार हुँदै थिए । किनकि आधिकारिक फेसबुक पेजमा सूचना प्रकाशित थियो– 



‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ  ।’

अनि त्यसको केही समयमा नै फेरि त्यही पोस्टमा अपडेट लेखियो– ‘स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।’



यतिसम्म त ठिकै थियो । आम मानिसलाई सहज सूचना दिन सकियोस् भनेर खोलिएको यो पेजले केही समयपछि यो पोस्ट फेरि डिलिट गरिदियो । 

यो पनि ठिकै थियो । त्यसपछि फेरि यो पेज नै गायब बनाइयो । अर्थात् पेजलाई निस्क्रिय बनाइएको छ । अब यो पेज फेसबुकमा खोजेर पनि पाइँदैन ।

जनतालाई सही सूचना दिनु पर्ने पेजमा नै यस्तो केटाकेटीपन किन ? 

हामीले यही प्रश्न बिहिबार साँझ नै प्रधानमन्त्री सचिवालयका एक सदस्यलाई राखेका थियौँ । उनले भने, ‘यो व्यवस्थित नभएकाले हो । खासमा यो प्रधानमन्त्री कार्यालयमा पनि कसले चलाउने भन्ने निक्र्योल नै भएको छैन । अब यसबारे अनुसन्धान हुन्छ होला, छलफल हुन्छ होला ।’

उनले पेजमा अपडेट गर्ने मान्छेले पनि अनलाइन समाचारहरु नै हेरेर अपडेट गरेको हुनसक्ने बताएका छन् । ‘जसले गरे पनि हामीजस्तै मान्छेले गरेका हुन्,’ उनले भने, ‘सबै सन्चारमाध्यममा देखेपछि होला भनेर अपडेट गरे होलान्, पछि होइन भन्ने भएपछि डिलिट भयो । पेज नै निस्क्रिय चाहिँ किन पारियो भन्ने थाहा भएन ।’ यसबारे केही दिनमा बुझेर पेज फेरि सक्रिय हुनसक्ने उनले बताएका छन् । तर, पेज किन निस्क्रिय पारियो र कसले पार्यो भन्नेबारे आफू अनभिज्ञ रहेको उनले बताए ।

स्मरण रहोस्, केही समयअघि जब भारतमा जम्मुकश्मिरको विशेष राज्यको दर्जा हटाउँदै संविधानको अनुच्छेद ३७० खारेज गरेको थियो, भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले गरेको एउटा चर्को विरोधको भाषण प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट रिट्विट भएको थियो ।

लगत्तै त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन गर्ने भन्न थालेका थिए । तर, त्यसको छानबिन के भयो र कसले त्यो काम गरेको रहेछ भनने अहिलेसम्म बाहिर सार्वजनिक गरिएको छैन । 

अनि आजको उस्तै केटाकेटी काम गरेकाले सामाजिक सन्जालमा सरकारमाथि धेरैले आलोचनात्मक टिप्पणी गरेका छन् ।

  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार ४:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया