२०७६ मा नेपाली खेलकुदमा जे भयो

आज नेपाली नयाँ वर्ष २०७७ काे पहिलाे दिन । 

आजकाे दिन हामीमा जुन उत्साह र उमंग हुनु पर्ने हाे, त्याे त पक्कै छ तर विश्वव्यापी महामारी काेराेनाभाइरस (काेभिड १९) का कारण यसलाई प्रस्तुत गर्ने कुरा फेरिएकाे छ ।

यहीबीच हामीले २०७६ साललाई बिदा गरेका छाैँ । २०७६ साल नेपाली खेलकुदका लागि स्मरणीय रह्याे ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण सालको अन्तिम महिना भने नेपाली खेलकुदले पनि नराम्ररी असर बेहोर्नुपर्यो । २०७६ सालको अन्तिम महिना चैत्रमा खासै खेलकुदका गतिविधि हुन सकेनन् ।  

२०७६ सालमा नेपाली खेलकुद क्षेत्रमा भएका विभिन्न गतिविधि तथा नेपालले हासिल गरेका उपलब्धिलाई समेटेर हामीले एक रिपोर्ट तयार गरेका छौँ । यस्तो छ रिपोर्टः

दक्षिण एसियाली खेलकुद (साग)



नेपाली  खेल क्षेत्रमा सागको चर्चा निकै चल्यो । पूर्वाधार निर्माणदेखि साग सम्पन्न नहुँदासम्म यसको निकै चर्चा–परिचर्चा भयो । सुरु हुनुभन्दा केही दिनअघिसम्म पनि यो खेलकुद प्रतियोगिता समयमा नै हुन्छ या हुँदैन भन्नेमा सबैमा अन्योल थियो । तर, विभिन्न समस्यालाई पार लगाउँदै मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा तथा विराटनगरमा साग भव्यताका साथ सम्पन्न भयो ।

साग आयोजनाका हिसाबले मात्र नभएर र प्रदर्शनका हिसाबले पनि नेपालका लागि निकै उपलब्धिपूर्ण रह्यो । नेपालले ५१ स्वर्णसहित कुल २०६ पदक जितेर ऐतिहासिक सफलता हात पार्यो । सागमा समावेश गरिएका खेलमध्ये सुटिङबाहेक सबै खेलमा नेपालले कुनै न कुनै पदक पाएको थियो । 



फुटबल

नेपाली फुटबलका लागि पनि यो वर्ष निकै महत्वपूर्ण रह्यो । नेपालले साग र विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्यो ।  

साग स्वर्ण

सागमा नेपालले घरेलु समर्थकको राम्रो साथ पाएको थियो । नेपालले साग स्वर्ण रक्षा गरे तापनि नेपालको प्रदर्शन भने फितलो रहेको थियो । 
सागमा भारत तथा पाकिस्तानजस्ता बलिया टोलीको सहभागिता नहुँदा पनि नेपालले विपक्षीसँग उत्कृष्ट प्रदर्शन गर्न सकेको थिएन । समूह चरणमा भुटानलाई ४–०ले हराउनुबाहेक अन्य खेलमा नेपालले निकै संघर्ष गर्नुपरेको थियो । 

विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरण  
यो वर्ष नेपालले विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरणअन्तर्गत ५ खेलमा प्रतिस्पर्धा गर्यो । जसमा तीन हार तथा १ जितको नतिजा निकाल्यो । 
नेपालले अष्ट्रेलिया, कुवेत तथा जोर्डनसँग पराजय हुँदा चाइनिज ताइपेईलाई पराजित गरेको छ । नेपाल छनोट प्रतियोगिताको समूह बी मा रहेको छ । समूहमा शतप्रतिशत नतिजासहित अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ । 

डिस्को काण्ड

यो काण्डले पनि नेपाली फुटबललाई तरंगित बनाएको थियो । विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतविरुद्धको खेल खेल्न नेपाली टोली भुटान प्रस्थान गर्ने तय भएको थियो । दशरथ रंगशालाको पुनर्निर्माण सम्पन्न नभएकाले नेपालले घरेलु मैदानमा खेल्नुपर्ने उक्त खेल तटस्थ भूको रुपमा भुटानमा  खेलाइएको थियो ।

तर, भुटान प्रस्थान गर्ने अधिल्लो रात अर्थात् असोज २मा नेपालका चार महत्वपूर्ण खेलाडी नाइट क्लबमा भेटिएको खबरले नेपाली फुटबललाई तरंगित बनाइदियो । नाइट क्लबमा भेटिएका नेपाली टिमका विमल घर्तीमगर, अञ्जन विष्ट, सन्तोष तामाङ तथा दिनेश राजवंशीलाई एन्फाले कारबाही नै गर्यो ।
एन्फाले अञ्जन विष्ट र सन्तोष तामाङलाई ४५–४५ तथा विमल घर्तीमगर र दिनेश राजवंशीलाई ९०–९० दिनको प्रतिबन्ध तथा सबैलाई जनही ५० हजार जरिवाना गराएको थियो ।   

यही कारबाहीका कारण उनीहरुले कुवेतसँगको खेलका साथसाथै घरेलु भूमिमा भएको सागसमेत गुमाएका थिए ।

ए डिभिजन लिग

यो वर्ष नेपालको शीर्ष लिग ए डिभिजनको पनि निकै चर्चा भयो लिग विभिन्न घटनाले चर्चामा आइरह्यो :

दर्शकको फितलो उपस्थिति

यो वर्ष ए डिभिजन लिग चर्चामा आउनुको एउटा कारण हो, दर्शकको फितलो उपस्थिति । मंसिर २८ देखि फागुन ३ सम्म चलेको लिगका अधिकांश खेलमा दर्शकको फितलो उपस्थिति थियो । एन्फाले दर्शकलाई विभिन्न उपहारको घोषणा गरे तापनि अन्त्यतिरका खेलमा बाहेक अन्य खेलमा दर्शक न्यून देखिन्थे । 

नयाँ लिग च्याम्पियन 
लिगले नयाँ च्याम्पियनको रुपमा मछिन्द्र क्लबलाई पाएको थियो । अधिकांश राष्ट्रिय टिमका खेलाडी लिएर मैदानमा उत्रिएको मछिन्द्रले अन्तिममा त्रिभुवन आर्मी क्लबलाई १– ० ले पराजित गर्दै लिग उपाधि उचालेको थियो । त्यस्तै, सरस्वती युवा क्लब पहिलोपटक रेलिगेसनमा परेको थियो । 

सन्तोषको १०० गोल
राष्ट्रिय टिमका पूर्व सदस्य तथा च्यासल युवा क्लबका कप्तान सन्तोष साहुखलले यो लिगमा एउटा कीर्तिमान कायम गरे । उनी पुस २३ मा नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो तथा एक मात्र खेलाडी बनेका थिए । 

खेलाडीबीच झडप  
पुस २१ मा लिगका दाबेदार मानिएमा दुई क्लब मनाङ मस्र्याङ्दी तथा मछिन्द्रबीच प्रतिस्पर्धा भएको थियो । खेल अवधिभर स्थिति सामान्य नै थियो । दुवै टोलीले २–२को बराबरी खेलेका थिए ।

खेलपछि भने फरक टिमका खेलाडीबीचको झडपले उग्र रुप लिन पुग्यो । मछिन्द्रका दीपक राई तथा मनाङका जगदीश श्रेष्ठबीच सामान्य विवादबाट सुरु भएको झडपलाई साम्य बनाउन रेफ्री र दुवै टिमका अफिसियल तथा सुरक्षकर्मीले निकै मिहिनेत गर्नुपरेको थियो । एन्फाले झगडामा सामेल भएको भन्दै ६ खेलाडी तथा १ अफिसियललाई कारबाही गरेको थियो ।

एन्फाले मनाङका खेलाडी जगदीश श्रेष्ठ तथा अशोक बराललाई ५ खेलको प्रतिबन्ध तथा जनही १० हजारको जरिवाना गराएको थियो । त्यस्तै, मछिन्द्रका दीपक राई, विजय धिमाल र देवेन्द्र तामाङ तथा मनाङका रञ्जन विष्टलाई २–२ खेलको प्रतिबन्ध लगाएको थियो । 

त्यस्तै, मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध तथा १० हजार तथा दुबै क्लबलाई ५०–५० हजार जरिवाना तोकिएको थियो । 

महिला फुटबल 
यो वर्ष नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नान्दो कप तथा सागमा सहभागिता जनायो । दुवै प्रतियोगितामा नेपालले रजतमा नै चित्त बुझायो । सागमा नेपाली महिला टिमलाई स्वर्ण दिलाउन नसकेको भन्दै महिला टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए ।   

उमेर समूह 
नेपालले उमेर समूहमा विभिन्न प्रतियोगितामा सहभागिता जनायो । तर, कुनैमा पनि उल्लेखनीय प्रदर्शन भने गर्न सकेन । नेपाल कात्तिक महिनामा एफसी यु–१९ च्यापियन्स कपको समूह चरणबाटै बाहिरियो । समूह चरणमा किर्गिस्तानसँग बराबरी खेलेको नेपालले अन्य खेल गुमाएको थियो । त्यस्तै, भदौमा नेपालले साफ यु–१५ च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा गरेको थियो । तर, फाइनलमा नेपालले भारतसँग ७–० को लज्जास्पद हार बेहोर्यो ।

नेपालले घरेलु भूमिमा भएको यु–१८ च्याम्पियनसिपमा पनि नेपालको प्रदर्शन फिलतो रह्यो । प्रतियोगिताको  साबिक विजेता भएकाले नेपालले उपाधि रक्षा गर्ने सबैको अनुमान थियो । नेपालले समूह चरण पनि पार गर्न सकेन । समूह चरणमा नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो भने कमजोर मानिएको भुटानसँग पराजय बेहोरेको थियो ।

प्रतियोगितामा समूह चरण पनि पार गर्न नसकेपछि नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए । असोजमा एफसी यु–१६मा सहभागिता जनाएको नेपालले  प्रतियोगितामा समूह चरण पार गर्न सकेन । नेपालले श्रीलंकालाई पराजित गर्दा कुवेतसँग बराबरी तथा जोर्डन र ताजकिस्तानसँग पराजयको नतिजा निकालेको थियो ।

कोरोना प्रभाव 

कोरोनाको प्रभाव नेपाली फुटबलमा पनि परेको छ । कोरोनाका कारण एन्फाले फुटबलका सम्पूर्ण गतिविधि स्थगित गर्यो । यसको प्रत्यक्ष प्रभाव जारी बी डिभिजन लिगसहित महिला लिग र विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरणमा पनि पर्यो । 

बी डिभिजन लिग, चैत्र ३ देखि हुने भनिएको महिला लिगको पहिलो चरण तथा विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरणअन्तर्गत नेपालको घरेलु मैदानमा  चैत्र १३मा चाइनिज ताइपेई तथा १८मा अष्ट्रेलियासँग तय भएको खेल पनि स्थगित भयो । 

एन्फाको सहयोग 

एन्फाले कोरोनाविरुद्ध लड्न निकै सहयोग गरेको छ । उसले आफ्नो एम्बुलेन्स ललितपुर महानगरपालिकालाई  हस्तान्तरण गरेको छ भने आवश्यक परेको खण्डमा आफ्ना सम्पूर्ण भौतिक संरचना क्वारेन्टाइन तथा आइसोलेसनका लागि प्रयोग गर्न दिने निर्णय गरेको छ ।

नेतृत्वबीच विवाद
एन्फा नेतृत्वबीचको बिबाद कुनै नौलो विषय होइन । वेला–वेलामा एन्फा नेतृत्वबीच खटपट भएको समाचार सञ्चारमाध्यममा आइरहन्छ । यसको पुष्टि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको ‘नोट अफ डिसेन्टले’ पनि गर्छ । माघ २६मा बसेको बैठकमा असहमति राख्न खोज्दा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले लिखित रुपमा दिनू भनेपछि उनले १३ बुँदे असहमतिपत्र बुझाएका थिए । 

क्रिकेट  
यो वर्ष नेपाली क्रिकेटमा निकै उतार–चढाव आयो । नेपालले विभिन्न सिरिजलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो ।  

क्यान निर्वाचन 

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी)ले नेपाललाई विसं २०७३मा प्रतिबन्ध लगाएयता नेपाली क्रिकेट टिम नेतृत्वविहीन बन्न पुगेको थियो । नेपालको सम्पूर्ण काम आइसिसीले नै हेर्दै आएको थियो । 

यो वर्ष भने नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाएको छ । आइसिसीको प्रत्यक्ष रोहबरमा असोज १० र ११मा भएको साधारणसभाबाट चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको नयाँ कार्य समिति चयन भएको थियो । 

निलम्बन फुकुवा

क्यानमा नयाँ नेतृत्व आएसँगै आइसिसीले असोज २७मा क्यानमाथिको निलम्बन ससर्त फुकुवा गर्यो । आइसिसीले सर्तहरु नखुलाएता पनि यसले क्यानलाई काम गर्ने बाटो भने खुला भयो । 

पारस खड्काको राजीनामा 

क्यान निलम्बनबाट फुकुवा भएको भोलिपल्ट अर्थात् असोज २८मा राष्ट्रिय टिमका कप्तान पारस खड्काले सामाजिक सञ्जालमार्फत आफूले कप्तानबाट राजीनामा दिएको जानकारी गराए । पारसको यो निर्णयबाट नेपाली क्रिकेट जगत् निकै तरंगित बन्यो । पारसले सन् २००९ देखि नेपालको कप्तानी सम्हाल्दै आएका थिए । 

ज्ञानेन्द्र मल्ल नयाँ कप्तान

पारसले राजीनामा दिएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उनलाई कप्तानीमा फर्कन आग्रह गरेका थिए । पारसले नमानेपछि क्यानले पारससँग आधिकारिक राजीनामा माग्यो । पारसले क्यानसमक्ष आधिकारिक रुपमा राजीनामा बुझाउँदै नयाँ कप्तान छनोट गर्ने बाटो खुला गरिदिए । क्यानले कात्तिक १३मा ज्ञानेन्द्र मल्ललाई नयाँ कप्तानको रुपमा नियुक्त गर्यो । 

 सिरिज 
नेपाली टिमले यो वर्ष मुख्य गरेर ३ वटा सिरिजमा सहभागिता जनायो ।
 

मलेसियाविरुद्धको  टी–२० सिरिज
असार २८ र २९मा भएको दुई खेलको सिरिजमा नेपालले क्लिनस्विप राख्न सफल भएको थियो । नेपालले पहिलो खेलमा ७ विकेट तथा दोस्रो खेलमा ६ रनको जित निकालेको थियो । 

त्रिकोणात्मक सिरिज
 सिंगापुरमा भएको यो सिरिजमा सिंगापुरसहित नेपाल र जिम्वावेको सहभागिता थियो । असोज १० देखि १५ सम्म चलेको यो सिरिजमा नेपालले १ खेल जित्दा २ खेलमा पराजय बेहोरेको थियो भने १ खेल वर्षाका कारण रद्द भएको थियो । असोज ११मा सिंगापुरविरुद्ध शतक प्रहार गर्दा पारस खड्काले केही रेकर्ड आफ्नो नाममा गराएका थिए ।

यो खेलमा शतक प्रहार गर्दै पारस नेपालका लागि एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने । साथसाथै उनी टी–२० अन्तर्राष्ट्रियमा लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने पहिलो कप्तानसमेत बने ।

पेन्टांगुलर सिरिज
ओमानमा असोज १८ देखि २३ सम्म भएको यो सिरिजमा नेपाल, हङकङ, ओमान, आयरल्यान्ड तथा नेदल्यान्ड गरी ५ राष्ट्रको सहभागिता थियो । 
सिरिजमा नेपालले मध्यम प्रदर्शन गरेको थियो । नेपालले २ खेलमा जित निकाल्दा २ खेलमा पराजय बेहोर्यो । 

अन्तर्राष्ट्रिय खेल
यो वर्ष नेपाली टिमले टी–२० विश्वकप एसिया छनोट, एसिसी इमर्जिङ कप, साग, आइसिसी विश्व लिग–२, एसिया कप पूर्वी क्षेत्रीय छनोट गरेर ५ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । तर, नेपालले सागमा कास्यपदक जित्नुबाहेक अन्यमा खासै राम्रो प्रदर्शन गर्न सकेन । 

टी–२० विश्वकप एसिया छनोट
साउन ६ देखि १२ सम्म सिंगापुरमा भएको यो प्रतियोगितामा फितलो प्रदर्शन गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । तुलनात्मक रुपमा कमजोर रहेका टिमविरुद्ध पनि नेपालले राम्रो प्रदर्शन गर्न सकेन । प्रतियोगितामा नेपालले मलेसिया तथा कुवेतलाई पराजित गर्दा कतार तथा सिंगापुरसँग पराजय बेहोरेको थियो । 

एसिसी इमर्जिङ कप
कात्तिक २८ देखि मंसिर ७ सम्म बंगलादेशमा भएको यो प्रतियोगिता कप्तान ज्ञानेन्द्र मल्लको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । समूह बी मा रहेको नेपाल २ हार तथा १ जित निकाल्दै समूह चरणबाट नै बाहिरिएको थियो । 

साग
सागमा नेपालले कास्यपदक जितेको थियो । नेपालले श्रीलंका तथा बंगाादेश यु–२३ सँग पराजय बेहोर्दा भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । 

आइसिसी विश्व लिग–२

आइसिसी विश्व लिग–२ अन्तर्गतको पहिलो सिरिज नेपालले घरेलु मैदानमा नै खेल्ने अवसर पायो । यो नेपालको घरेलु मैलानमा पहिलो एकदिवसीय सिरिज पनि हो । नेपाल ओमान र अमेरिका सम्मिलित सिरिजमा नेपालले २ जित तथा २ हार बेहोरेको थियो । माघ २२ देखि २९ सम्म चलेको यस सिरिजमा नेपालले केही उपलब्धि हासिल गरेको थियो, जुन निम्नलिखित छनः 

टियू मैदानलाई एकदिवसीय मान्यता प्राप्त
माघ २२ मा भएको नेपाल र ओमानबीचको खेलसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रि स्तरको क्रिकेट मैदान टियूले एकदिवसीय मैदानको मान्यता पाएको थियो । टियू एक दिवसीय मान्यता पाउने विश्वको २०९औँ मैदान हो । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको रेकर्ड 
नेपालका युवा खेलाडी कुशल मल्लले आफ्नो डेब्यु खेललाई निकै शानदार बनाए । उनी डेब्यु खेलमा नै अर्धशतक प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी बने । 

माघ २५मा अमेरिकाविरुद्ध डेब्यु गर्दा उनको उमेर १५ वर्ष ३४० दिन थियो । उक्त खेलमा उनले ५० बलमा ५१ रन प्रहार गर्दै यो कीर्तिमान आप्mनो नाममा गराएका हुन् । यसअघि यो कीर्तिमान नेपालकै रोहित पौडेलको नाममा थियो । उनले सन् २०१८ १६ वर्ष १४६ दिनको उमेरमा युएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए । 

अमेरीकाविरुद्ध विश्व कीर्तिमान 

माघ २९मा भएको अमेरिकाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमान कायम गरेको थियो । नेपालले अमेरिकालाई १२ ओभरमा ३५ रनमा समेट्दै सन् २००४मा श्रीलंकाले बनाएको विश्व कीर्तिमान बराबरी गरेको थियो । श्रीलंकाले जिम्वावेलाई १८ ओभरमा ३५ रनमा समेटेको थियो । 

त्यस्तै, नेपालले यो खेलमा अमेरिकालाई १२ ओभरमा अलआउट गर्दै अर्को कीर्तिमान बनाएको थियो । नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षी टिमलाई सबैभन्दा काम ओभरमा अलआउट गर्ने राष्ट्र बनेको थियो ।

यसअघि यो कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१७ मा जिम्वावेलाई १३.५ ओभरमा ५६ रनमा अल आउट गरेको थियो । 

एसिसी पूर्वी क्षेत्रीय छनोट  
यो प्रतियोगितामा पनि नेपालले अपेक्षाअनुरुपको प्रदर्शन गर्न सकेन । फागुन १७ देखि २३ सम्म थाइल्याण्डमा चलेको प्रतियोगितामा नेपालले १ जित तथा २ हार बेहोर्दा १ खेल वर्षाका कारण रद्द भएको थियो । यो प्रतियोगितामा नेपालका सन्दीप लामिछानेले केही  रेकर्ड आफ्नो नाममा गराएका थिए । 

टी–२० मा १०० विकेट
नेपालका सन्दीप लामिछानेले फागुन १६मा मलेसियाविरुद्ध विकेट लिँदै टी–२०मा आप्mनो विकेट संख्या १०० पुर्याएका थिए । उनी राष्ट्रिय टिम तथा आइसिसीले मान्यता दिएका विभिन्न लिगमा १०० विकेट लिने एक मात्र नेपाली खेलाडी हुन् । 

२२ बल डट फाल्दै विश्व कीर्तिमान
सन्दीपले नै २१ पmागुनमा थाइल्याण्डविरुद्ध २२ डट बल फाल्दै यो कीर्तिमान आप्mनो नाममा गराएका हुन् । यसअघि यो कीर्तिमान पाकिस्तानका बलर महम्मद आमिरको नाममा थियो । उनले युएईविरुद्ध २१ डट बल फालेका थिए ।   

महिला क्रिकेट
यो साल महिला टिमले सागमा कास्यपदक हासिल गरेको थियो । नेपालकी अञ्जली चन्दले मंसिर १६मा माल्दिभ्सविरुद्ध २.१ ओभर बलिङ गर्दै विना कुनै रन ६ विकेट लिएर विश्व कीर्तिमान कायम गरिन् ।

यसअघि यो कीर्तिमान मलेसियाकी मास एलासको नाममा थियो । उनले ३ रन खर्चिएर ६ विकेट हात पारेकी थिइन् । 

महिला फ्रेन्चाइज लिग
यो वर्ष महिला क्रिकेटका लागि विशेष बन्यो । किनभने यो साल नेपालको पहिलो महिला फ्रेन्चाइज टी–२० लिगको रुपमा विमेन्स च्याम्पियन्स लिगको आयोजना भयो । क्विन्स म्यानेजमेन्ट प्रालिको आयोजनामा असोज २९देखि कात्तिक ७ सम्म कीर्तिपुरस्थित टियू मैदानमा चलेको उक्त लिगको उपाधि चितवन राइनोजले जितेको थियो ।

मुख्य प्रशिक्षक उमेश पटवालाको राजीनामा
उमेश पटवालाले ओमान र अमेरिकाविरुद्धको सिरिज नै आफ्ना लागि नेपालको मुख्य प्रशिक्षकको रुपमा अन्तिम प्रतियोगिता हुने सिरिजअगाडि नै जानकारी दिएका थिए । 

उनले माघ २२ गतेबाट सुरु हुने सिरिजअगाडि नै सिरिजपछि लागू हुने गरेर राजीनामा बुझाएका थिए । उनको राजीनामा फागुन १मा स्वीकृत भएको थियो । 
पटवालालाई आइसिसीले जेठमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।  

कोरोना प्रभाव 
नेपाली क्रिकेटमा मुख्य गरेर कोरोनाको प्रभाव एभरेष्ट प्रिमियर लिग (इपिएल) तथा आइसिसी विश्व लिग–२अन्तर्गत नामिबियाको सिरिजमा परेको छ ।
चैत्र १ देखि १५सम्म टियू मैदानमा हुने भनिएको इपिएल यो वर्ष कोरोनाका कारण नहुने भएको छ । यो वर्ष क्रिस गेल, कोरी एन्डरसन, ड्वेन स्मिथ, उपुल थरंगाजस्ता विश्वचर्चित हस्तीले इपिएलमा सहभागिता जनाउने निश्चित भइसकेको थियो ।   

नामिबिया सिरिज 
विश्व क्रिकेट संघले जुन ३० सम्म कुनै पनि प्रतियोगिता नगर्न निर्देशन दिएसँगै नेपालले खेल्ने तय भएको आइसिसी विश्व लिग–२ अन्तर्गत नामिबियाको सिरिज पनि तत्कालका लागि स्थगित भएको छ । अप्रिल २० देखि २७सम्म तय भएको सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागिता थियो ।

नेट गेम्स
नेपालले यो साल भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबल टेनिस, टेनिसजस्ता नेट गेम्सबाट पनि राम्रै सफलता हात पार्यो ।

भलिबल 
यो वर्ष नेपाली महिला भलिबलका लागि निकै सुखद् रह्यो । कात्तिक २३ देखि २८ सम्म बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जित्दै नेपाली महिला टिमले ऐतिहासिीक सफलता हात पारेको थियो । यो नेपाली महिला टिमले जितेको पहिलो  अन्तर्राष्ट्रिय स्वर्ण थियो । त्यस्तै, महिला टिमले सागमा पनि ऐतिहासिक रजत पदक हात पार्यो । 

नेपाली पुरुष टिमका लागि भने यो साल सुखद् रहेन । नेपालले घरेलु भुमिमै भएको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप तथा साग दुवैमा राम्रो प्रदर्शन गर्न सकेन । 

भदौ २–७ सम्म चलेको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप तथा साग दुवैमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । 

बास्केटबल
सागमा महिला बास्केटबल टोलीले ऐतिहासिक रजत पदक प्राप्त गर्दा पुरुष टिमले कास्य पदक मात्रै प्राप्त गरेको थियो । 

ब्याटमिन्टन 
सागमा नेपालले ब्याटमिन्टनबाट ५ कास्य प्राप्त गरेको थियो । नेपालका युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहालका लागि यो वर्ष निकै उत्कृष्ट रह्यो । उनी विश्व जुनियर ब्याटमिन्टनको वरीयता क्रममा शीर्ष ७ भित्र पर्न सफल भए । यो कुनै पनि नेपाली ब्याटमिन्टन खेलाडीको हालसम्मको उच्च वरीयाताक्रम हो । 
  
टेबलटेनिस तथा टेनिस
सागमा नेपालले टेबलटेनिसमा १ रजत तथा ५ कास्य हासिल गर्दा टेनिसबाट भने ५ कास्य प्राप्त ग¥यो । 

ह्यान्डबल 
यो खेलमा महिला टिमले रजत पदक प्राप्त गर्दा पुरुष टिम भने पदकविहीन बनेको थियो । 

मार्सल आर्ट
मार्सल आर्टभित्र तेक्वान्दो, कराते, जुडो, उस्सु, बक्सिङ, फेन्सिङ कुस्तीजस्ता खेल पर्छन् । सागमा नेपाललाई सर्वाधिक सफलता दिलाउने यिनै खेल हुन् । 

तेक्वान्दो
यो खेल सागमा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल हो । यसबाट नेपालले १२ स्वर्ण, ६ रजत तथा ११ कास्यसहित कुल २९ पदक प्राप्त गरेको थियो । 

कराते
यो खेलबाट सागमा १० स्वर्ण, ४ रजत तथा ५ कास्यसहित १९ पदक प्राप्त भएको थियो । 

उस्सु 
सागमा यो खेलबाट समान ५ स्वर्ण, रजत कास्यसहित १५ पदक प्राप्त भयो ।

बक्सिङ 
यो खेलले २० वर्षपछि नेपाललाई सागमा स्वर्णपदक दिलायो । बक्सिङबाट नेपाललाई ३ स्वर्ण तथा समान ६ रजत र कास्यसहित १५ पदक प्राप्त भयो ।

जुडो तथा कुस्ती
नेपालले सागमा जुडोबाट २ स्वर्ण, ६ रजत तथा ५ कास्यसहित १३ पदक हासिल गर्दा कुस्तीबाट १ स्वर्ण, ४ रजत तथा ८ कास्यसहित १३ पदक हासिल गर्यो ।

फन्सिङ
यो खेलबाट नेपालले सागमा ५ रजत तथा ६ कास्यसहित ११ पदक हात पारेको थियो । 

म्याराथन 
सागमा नेपाले म्याराथनमा उत्कृष्ट नतिजा निकाल्यो । यो खेलबाट नेपालले ३ स्वर्ण १ रजत तथा ४ कास्यसहित ८ पदक हासिल गर्यो । 

पौडी
यो खेलबाट नेपालकी गौरिका सिंहले नयाँ इतिहास रचिन् । उनले एउटै सागमा ४ स्वर्ण जितेर दीपक विष्टसँग कीर्तिमान बराबरी गरिन् । तर, तेक्वान्दोका दीपकले ४ सागबाट ४ स्वर्ण जितेका थिए । यो खेलबाट नेपालले समान ४ स्वर्ण, रजत तथा कास्यसहित १२ पदक हात पार्यो ।

कबड्डी
सागमा नेपाली महिला टिमले ऐतिहासिक रजत पदक प्राप्त गर्दा पुरुष टिमले भने कुनै पदक हात पार्न सकेन । 

खो–खो
यो खेलले नेपाललाई सागमा १ रजत तथा २ कास्यसहित ३ पदक दिलाएको थियो । यीबाहेक नेपालले यो वर्ष साइक्लिङ, गल्फ, भारोत्तोलन, ट्रायथलनजस्ता खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्यो ।

साइक्लिङ
सागमा साइक्लिङबाट नेपालले समान ४ स्वर्ण र रजत तथा २ कास्यसहित १० पदक हासिल गर्यो । 

गल्फ
गल्फबाट सागमा नेपाललाई समान २ स्वर्ण तथा कास्यसहित ४ पदक प्राप्त भयो ।

भारोत्तोलन
यो खेलबाट नेपाललाई सागमा २ स्वर्ण, ३ रजत तथा १० कास्यसहित १५ पदक प्राप्त भयो । 

ट्रायथलन
यो खेलले नेपाललाई सागमा २ स्वर्ण, ३ रजत तथा १ कास्यसहित ६ पदक दिलायो । 

  • प्रकाशित मिति : बैशाख १, २०७७ साेमबार ०:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया