डा. शेरबहादुर पुन स्पष्टिकरण प्रकरणः के हो वास्तविकता ?

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टिकरण सोधेको छ । 

शुक्रबार साँझ टेकुस्थित अस्पतालमा पत्र पठाउँदै स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको हो । यसबारे डा. पुनले औपचारिक रुपमा अहिलेसम्म केही पनि बताएका छैनन् । 

अस्पताल प्रशासनले पनि अहिलेसम्म यसबारे औपचारिक रुपमा केही बताएको छैन । अस्पतालमा गएको पत्र चाहिँ डा. पुनकै नाममा भएको जानकारी बाहिर आएको छ । 

विश्व महामारी बनेको कोरोनाभाइरसविरुद्ध लडिरहेका डा. पुनलाई अहिले स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोध्नु पर्ने आवश्यकता किन देख्यो त ? यो समाचार बाहिरिएपछि शनिबार दिनभर सामाजिक सन्जालमा यसबारे गरमागरम बहस भइरहेको छ । 

केहीले नेपाल सरकारले पनि चिनियाँ रवैया अपनाएको बताएका छन् । 

खासमा यो चिनियाँ रवैया के हो ? यसबारे चर्चा गरौँ । यसका लागि कोरोनाभाइरस संक्रमणसँग जोडिएको इतिहासलाई बुझ्न पर्ने हुन्छ । 



पहिलो पटक कोरोनाभाइरस संक्रमण मानिसमा डिसेम्बरमा चीनको वुहान सहरमा भेटिएको थियो । त्यहाँका चिकित्सकहरुले यसबारे पत्ता लगाएपछि यसबारे चर्चा गर्न थाले । अनि यो चर्चाको फ्रन्ट लाइनमा थिए, डा ली वेनलियाङ । उनले आफ्ना सहकर्मी तथा सम्बन्धित अधिकारीहरुलाई यसबारे जानकारी मात्र दिएनन्, समयमा नै सचेत हुनु पर्ने आवश्यकता पनि औंल्याएका थिए ।

उनले वुहानमा पहिलो पटक यो भाइरस भेटिँदा दिएको जानकारी थियो– वुहानमा एउटा मिस्ट्री भाइरस भेटिएको छ । 



तर, प्रहरीले उनलाई भेटेर चेतावनी दियो । चिनियाँ प्रहरीले उनलाई दिएको चेतावनीमा भनिएको थियो– उनले नयाँ भाइरस आयो भनेर अफवाह फैलाइरहेका छन्, यो सत्य छैन ।

३ जनवरीमा पहिलो पटक डा. लीले कोरोनाभाइरसबारे रिपोर्ट लेखेका थिए । त्यति बेला वुहानमा ४४ जनामा कोरोनाभाइरस संक्रमण देखिइसकेको थियो । यीमध्ये ११ जनाको अवस्था गम्भीर थियो । तर, त्यति बेलासम्म यो भाइरसका कारण कसैको पनि मृत्यु भएको थिएन । 

विडम्बना ! पहिलोपटक यो भाइरसबारे जानकारी दिने डा. लीले पनि यही भाइरस संक्रमण भएपछि ज्यान गुमाए ।

चिनियाँ रवैयाको चाहिँ विश्वभर ठूलो आलोचना भयो ।

अहिले डा. पुनलाई सोधिएको प्रष्टीकरणले पनि नेपालमा तरंग उत्पन्न गराएको छ । अनि यसको आलोचना सामाजिक सन्जालमा व्यापक भएको छ ।

यो प्रष्टीकरण डा. पुनले कोरोनाभाइरसबारे महत्वपूर्ण जानकारीहरु चुहाएको भन्दै सोधिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले फरकधारसँग बताएका छन् । ‘उनले जथाभावी बोलेको भन्दै उनलाई केही प्रश्न सोध्न खोजिएको हो,’ ती अधिकारीले बताए, ‘डा. पुनलाई सोधे पनि उनको जवाफ आएपछि यसबारे थप कुराकानी अगाडि बढ्छ ।’

उता, केहीले यो स्पष्टिकरणको कारण डा. अनुप बास्तोला भएको हुनसक्ने अनुमान पनि गरेका छन् । टेकु अस्पतालका एक अधिकारीले फरकधारसँग भनेका छन्, ‘सायद, डा. पुन मिडियामा बारम्बार आएको प्रवक्ता बास्तोलालाई चित्त बुझेको थिएन होला, उनले नै आफ्नो भूमिकाबारे प्रश्न स्वास्थ्य मन्त्रालयमा गरेपछि यो स्पष्टिकरण सोधिएको हुनसक्छ ।’ डा. बास्तोला टेकु अस्पतालका प्रवक्ता हुन् ।

मिडियामा डा. पुनसँग सोधिएर जानकारीहरु लिन थालेपछि टेकु अस्पताल प्रशासनले पनि उनीसँग चित्त दुखाएको भन्नेहरु पनि छन् ।

जे होस्, यो महामारीको समयमा डा. पुनमाथि सोधिएको यो स्पष्टिकरणले अहिले स्वास्थ्य मन्त्रालयमाथि फेरि प्रश्न जन्माएको छ । किनकि डा. पुनले आम मानिसमा सचेतना फैलाउनेबाहेक भड्काउ अभिव्यक्ति यसअघि दिएको देखिँदैन ।

  • प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार १८:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया