कोरोनाभाइरसलाई लिएर बारम्बार चीनमाथि किन उठिरहेछन् प्रश्न ?
चिनियाँ राष्ट्रपति सी जिनपिङ !

एजेन्सी– गत वर्ष डिसेम्बरको अन्त्यमा पहिलो पटक चीनको वुहान सहरमा मानिसमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भयो । जतिबेला वुहानमा यो भाइरस मानिसमा देखिएको थियो, त्यति बेला युरोप र अमेरिकाले यसलाई हलुका रुपमा लिएका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाई चिनियाँ भाइरस भन्दै खिल्ली पनि उडाए । यही भाइरस संक्रमण भएपछि लन्डनस्थित अस्पतालमा पुगेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि यो केही नभएको प्रतिक्रिया सुरुमा दिएका थिए । 

तर, अब युरोप र अमेरिका नै कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । 

अनि ती देशका राष्ट्राध्यक्षहरु चीनमाथि प्रश्न उठाइरहेका छन् । केहीअघिसम्म चीनले भाइरस रोकथाममा सहयोग नगरेको, पारदर्शी नभएको आरोप मात्र उनीहरुले लगाएनन्, यही विषयमा मुद्दा उठाउँदै अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिइरहेको ‘फन्ड’ पनि अब रोकिदिएको छ । यसको सर्वत्र आलोचना भएको छ । 

तर, अन्तर्राष्ट्रिय मिडियाहरुमा यसबारे भन्दा पनि बढी चीनमाथि अमेरिकाले लगाएका समाचारहरुले प्राथमिकता पाएका छन् । 

कोरोनाभाइरसबारे अपडेट दिन अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित प्रेस कन्फ्रेन्समा राष्ट्रपति ट्रम्पले चीनसँगसँगै मिडियामाथि पनि निशाना प्रहार गरिरहेका छन् । 



शनिबार आयोजित कन्फ्रेन्समा ट्रम्पले न्युयोर्क टाइम्समा रिपोर्टर म्यागी ह्याबमनमाथि निशाना बनाए ।

‘मैले पनि मार्क मेडोसबारे लेखिएको एउटा रिपोर्ट पढेको थिएँ,’ ट्रम्पले भने, ‘यो तिनै म्यागीले लेखेको कथा थियो जसलाई रुसको कथा छापेका कारण पुलित्जर पुरस्कारसमेत दिइएको थियो ।’



उनले म्यागीले मार्क रोइरहेको गलत समाचार छापेको आरोप लगाउँदै आलोचना गरेका थिए ।

प्रेसमाथि मात्र होइन, ट्रम्पले चीनले अहिले पनि पारदर्शी नभएर आफ्ना तथ्यांक लुकाइरहेको बताएका छन् । उनले त अमेरिकाभन्दा चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या बढी भएको पनि बताएका छन्  ।

‘अमेरिका पहिलो नम्बरमा होइन, चीन हो,’ उनले भनेका छन्, ‘हामी त उनीहरुको आसपास पनि छैनौँ, यो कुरा मलाई थाहा छ, उनीहरुलाई पनि थाहा छ ।’

यतिमात्र होइन, उनले चीनले समयमा नै कोरोनाभाइरस संक्रमण नरोकेको पनि आरोप लगाएका छन् । उनले त यसको मूल्य चीनले चुकाउनु पर्ने पनि बताएका छन् । चीनले जानेर वा बुझेर नै यो काम नगरेको आरोप उनले  लगाएका हुन् ।

उता, अष्ट्रेलियाका विदेशमन्त्रीले पनि यसबारे स्वतन्त्र जाँच हुनु पर्ने बताउका छन् । 

फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोँले पनि चीनको पारदर्शीतामाथि प्रश्न उठाएका छन् । आखिर किन ? 

‘किनकि विश्व चीनलाई यसमा दोष दिएर आफूहरु सुरक्षित हुन चाहन्छन्,’ बिबिसीमा बेलायती विश्लेषकहरुले यसको कारण दिएका छन् ।

  • प्रकाशित मिति : बैशाख ७, २०७७ आइतबार १४:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया