५ सय बढी नेपाली विद्यार्थी पढ्ने भारतको एलपियू कारवाहीमा, कोरोना फैलाउन खोजेको र असंवेदनशील भएको आरोप

काठमाडौं– नेपाली विद्यार्थीको पनि रोजाइ बन्न थालेको भारतको लभ्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू)लाई पन्जाब सरकारको उच्च शिक्षा मन्त्रालयले कारवाहीको प्रक्रिया सुरु गरेको छ । सुरुमा विश्वविद्यालयको प्रशासनलाई कारण देखाउ भन्दै चिठी पठाइएको भारतीय मिडिया इन्डिया टुडेमा समाचार प्रकाशित छ । 

५ सयभन्दा धेरै नेपाली विद्यार्थी भएको यो विश्वविद्यालय कोरोनाभाइरस संक्रमणको यो समयमा असंवेदनशील भएको भन्दै त्यहाँको प्रशासनले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । यसबारे मन्त्रालयले त्यहाँ प्रहरी प्रशासनसँग पनि समन्वय गर्न थालिसकेको छ ।

एलपियूले यो समयमा पनि आफ्नो क्याम्पसमा ३ हजारभन्दा धेरै विद्यार्थी र लेक्चर तथा फ्याकल्टीहरुलाई राखिरहेको खुलेपछि यस्तो कारवाहीको प्रक्रिया अगाडि बढाइएको हो । 

‘एलपियूको यो कार्य अत्यन्त असंवेदनशील र गैरजिम्मेवारपूर्ण पाइएको छ,’ पन्जाबको शिक्षा मन्त्रालयले भनेको छ, ‘उसले १३ मार्चमा हामीले दिएको सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्देशन पनि उल्लघंन गरेको पाइएको छ ।’

अर्को भारतीय मिडिया लुधियाना न्युजले चाहिँ मन्त्रालयले अब एलपियूलाई कारवाही गर्ने दाबी गरेको छ ।

त्यहाँ अध्ययनरत २१ वर्षीय एक युवामा कोरोनाभाइरस संक्रमण देखिएपछि विश्वविद्यालयले प्रशासनलाई अटेरी गरेको खुलासा भउको हो । यी युवालाई १२ अप्रिलमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनको अहिले उपचार भइरहेको छ ।



अब एलपियूको प्रशासनलाई त्यहाँको सरकारले सात दिने अल्टिमेटम दिएर स्पष्ट जवाफ दिन आग्रह गरेको छ । उसको जवाफ चित्त नबुझे सरकारले एलपियूले पाएको विश्वविद्यालय सन्चालनको अनुमतिसमेत खारेज गरिने चेतावनी दिइएको छ । यस्तो भएको खण्डमा अहिले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य के हुने भन्नेबारे खुलाइएको छैन ।

अधिकारीहरुले एलपियूले पन्जाब तथा केन्द्र सरकारको अनुरोध नमानेर ३२ सय जनाको जीवनलाई नै संकटमा धकेलेको आरोप लगाएका छन् । यसबारे त्यहाँका मन्त्रीहरु विजय साम्प्ला र राणा गुरजित सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहलाई पनि जानकारी गराइसकेको इन्डिया टुडेमा उल्लेख गरिएको छ ।



यतिमात्र होइन, पछिल्ला दिनमा यो क्याम्पसको बाहिर अब विश्वविद्यालयको विरोध गर्दै प्रदर्शन पनि गर्न थालिएको छ ।

भारतका प्राइभेट विश्वविद्यालयमा सबैभन्दा ठूलामध्येको विश्वविद्यालय भनेर विज्ञापन गर्ने यो विश्वविद्यालयमा रहेका अब सबै विद्यार्थीको कोरोनाभाइरस परीक्षण गरिने भइएको छ ।

यसअघि यो विश्वविद्यालयका अधिकारीहरुले आफूहरुले अनलाइन कक्षा सुरु गरेको पनि बताएका थिए ।

पन्जाबमा यो सातामात्र १ सय ५८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ भने १२ जनाको कोभिड १९ का मृत्यु भएको छ । अब एलपियूलाई तत्काल त्यहाँ रहेको सबै विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न पनि निर्देशन दिइएको छ । 

  • प्रकाशित मिति : बैशाख ७, २०७७ आइतबार १८:१५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया