समाजवादीका नेताहरुले लगाए पार्टी फुटाउन आफ्ना नेता सरकारले अपहरण गरेको आरोप

काठमाडौं– सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि देशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । पार्टीहरु फुटाउन अझ खुुकुलो हुनेगरि आएको यो अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेश र चाहनामा ल्याइएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले चाहिँ यो अध्यादेश नेपाल कम्युनिस्ट पार्टी लक्षित नभएको बताउन थालेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यो कुरा दोहोर्याएका छन् । 

यसबीच समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी फुटाउन प्रधानमन्त्री ओली अग्रसर भएको आरोप पनि लाग्न थालेको छ । 

समाजवादी पार्टी र राजपाका नेताहरुले मात्र होइन, अन्य विपक्षी दलले पनि सरकारको यो कदमलाई अधिनायकवादतर्फ उन्मुख कदम भएको बताउन थालेका छन् । 

यहीबीच समाजवादी पार्टीका नेताहरुले आफ्ना नेता अपहरण गरेर सरकारले नै पार्टी फुटाउन प्रयास गर्न थालेको बताएका छन् । समाजवादी पार्टीका विश्वदिप पाण्डेले फेसबुकमा लेखेका छन्– आज वैशाख १० गते साँझ ५स्०० बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा। सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौं ल्याउँदैछ । सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?



 

तर, यादवलाई पक्राउ गरिएको विषयमा अहिलेसम्म प्रहरीले केही भनेको छैन । 



यसअघि यादव र समाजवादी पार्टीका पूर्वमन्त्री इस्तियाक राई चाहिँ पार्टीबाट असन्तुष्ट भएको र उनीहरुले पार्टीमा अध्यक्ष उपेन्द्र यादवसँग आफूहरु अलग्गिन खोजेको चर्चा चल्न थालेको थियो । तर, यसलाई पनि राईले खण्डन गरिसकेका छन् ।

 

 

.

  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार २०:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया