काठमाडौं– पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सन्जाल फेसबुक र ट्विटरमा सरकारलाई जथाभावी गाली गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई उनकै निवासबाट बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
अहिले उनलाई सोह्रखुट्टेको प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।
आखिर पूर्वसचिव उपाध्यायलाई के कारणले पक्राउ गरियो त ?
‘उहाँविरुद्ध साइबर क्राइम मुद्दा चलाउने तयारी रहेको छ,’ यो घटनालाई नजिकबाट हेरिरहेका एक प्रहरी अधिकारीले भने, ‘उहाँले पछिल्लो समय ट्विटर तथा फेसबुकमा जथाभावी लेख्नु भएको भन्ने उजुरी परेका कारण पक्राउ गरिएको हो ।’
कसले दियो त भीम उपाध्यायविरुद्ध उजुरी ? यसबारे प्रहरीले अहिलेसम्म बाहिर कुनै सूचना ल्याएको छैन । स्रोतका अनुसार चाहिँ स्वास्थ्य सचिव यादव कोइरालाले उपाध्यायविरुद्ध उजुरी दिएका हुन् । तर, यसको स्वतन्त्र पुष्टि हुनसकेको छैन ।
आखिर उपाध्यायलाई किन साइबर क्राइमविरुद्ध मुद्दा चलाउने तयारी गरियो त ?
यसका लागि उनको ट्विटर प्रोफाइल हेर्दा प्रष्ट हुनसक्छ ।
आउनुहोस्, एकछिन चर्चा गरौँ, उनले ट्विटरमा के लेख्ने गरेका थिए । उपाध्याय खासमा ट्विटरमा त्यति बेला चर्चामा आएका हुन् जतिबेला उनले मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका सडकमा खनेर पाइप बिच्छ्याउने काम गरेको थियो । त्यति बेला भीमले पानी ल्याउँदा र पाइप ओच्छ्याउँदा धुलो उड्ने हुँदा सबैले सहनु पर्ने बताएका थिए । झन्डै दुई वर्षअघि नै उनले मेलम्ची जसरी पनि काठमाडौंमा एक महिनाभित्र आउने दाबी पनि गरेका थिए ।
तर, जब उनी रिटायर्ड भए, तब उनले विस्तारै सरकारको आलोचना गर्न थाले । सुरुसुरुमा त सामाजिक सन्जालमा नै भीमले यस्तो आलोचना गर्नुको पछाडि उनले सरकारबाट कुनै राजनीतिक नियुक्ती नपाएको टिप्पणी गर्न थालियो । तर, विस्तारै उनका आलोचनालाई सामाजिक सन्जाल प्रयोगकर्ताले पचाउन थाले, उनका कुरामा त्यति सिरियस कोही पनि देखिएनन् ।
तर, भीम उपाध्यायले सामाजिक सन्जालमा चर्को र कडा आलोचना गर्न चाहिँ छोडेनन् ।
पछिल्लो समय ४ अप्रिलमा उनले ट्विट लेखे– भोलि आईतबारसम्ममा बिष्णु रिमाल, उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोईराला र डिजी महेन्द्र श्रेष्ठ पदबाट हटे भने अचम्म नमान्नु होला।नभए होलसेल मै पदमुक्त हुन बाध्य हुन सक्छ ।
भोलि आईतबारसम्ममा बिष्णु रिमाल, उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोईराला र डिजी महेन्द्र श्रेष्ठ पदबाट हटे भने अचम्म नमान्नु होला।नभए होलसेल मै पदमुक्त हुन बाध्य हुन सक्छ।
— bhim upadhyaya (@upadhyayabhim) April 4, 2020
यो ट्विटलाई १६७ जनाभन्दा बढीले रिट्विट गरेका छन् । तर, योभन्दा पनि महत्वपूर्ण कुरा चाहिँ के भने उनलाई स्वास्थ्यसचिव यादव कोइरालाले रिट्विट गर्दै मेलम्चीमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । त्यसपछि पूर्वसचिव उपाध्याय र सचिव कोइरालाको दोहोरी केही समयसम्म चल्यो । उनीहरुको नोँकझोँक हेर्नलायक थियो ।
पछि उपाध्यायले कतिसम्म गरे भने यादव कोइरालाले दिएको रिप्लाईमा भएका असुद्धीलाई प्रसंग बनाएर अर्को ट्विट लेखे । यही कारणले कोइराला उपाध्यायसँग चिडिएको हुनसक्ने अनुमान गरिएको छ ।
कतिसम्म भने उपाध्यायले यादवलाई जनताको नोकर भएर पनि मालिकप्रति नरम भएको भन्दै व्यंग्य गरे । उनले त्यो ट्विटमा लेखेका छन्– ‘जनताको नोकरको’ मालिकप्रति यस्तो ‘महाबाणी’ छ । स्वास्थ्य मन्त्रालयमा यस्ता नोकरले चार चॉद किन नलाओस् । यस्ता कुरा लुते कुकुरले पनि पत्याओस् न !
'जनताको नोकरको' मालिकप्रति यस्तो 'महाबाणी' छ। स्वास्थ्य मन्त्रालयमा यस्ता नोकरले चार चॉद किन नलाओस्। यस्ता कुरा लुते कुकुरले पनि पत्याओस् न! https://t.co/XmNEh3xlva
— bhim upadhyaya (@upadhyayabhim) April 4, 2020
यो पछिल्लो समय कोइराला र उपाध्यायबीचको दोहोरी थियो ।
तर, उपाध्यायले यसअघि पनि सरकारको चर्को आलोचना गरेका थिए । उनी विशेषतः प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना गर्न अग्रसर थिए ।
प्रधानमन्त्री ओलीले कोरोनाभाइरसबारे दिएको अभिव्यक्तिप्रति व्यंग्य गर्दै उपाध्यायले लेखेका थिए– कोरोना बोसिय फ्याटिय तत्व हो, तातो खाने बस्ने, नेपालमा महामारी रूप लिनै सक्दैन– प्रम एवं मानार्थ ‘बरिष्ठ भाइरोलजिष्ट तथा ईपिडिओमोलजिष्ट’ डा ओली !
कोरोना बोसिय फ्याटिय तत्व हो, तातो खाने बस्ने, नेपालमा महामारी रूप लिनै सक्दैन~ प्रम एवं मानार्थ 'बरिष्ठ भाइरोलजिष्ट तथा ईपिडिओमोलजिष्ट' डा ओली 😜🤪😂
— bhim upadhyaya (@upadhyayabhim) April 19, 2020
यादवसँगको यही दोहोरी र प्रधानमन्त्रीमाथिको यही टिप्पणीका कारण उपाध्यायलाई गिरफ्तार गरिएको हुनसक्ने अनुमान छ ।
उपाध्यायका अरु ट्विटहरु यस्ता थिएः
अहिले शक्तिशाली सरकारकै बेलामा यस्तो किन?~ भीम उपाध्याय https://t.co/JrqWX5VVCN
— bhim upadhyaya (@upadhyayabhim) April 22, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।