काठमाडौं– बुधबार मध्यरातमा नेपाली राजनीतिमा दुई नयाँ पार्टीको जन्म भएको छ । अचानक र नाटकीय रुपमा दुई नयाँ पार्टीले अब बिहिबार निर्वाचन आयोगमा आफूहरुलाई दर्ता गराउन दौडधूप गर्नेछन् । जो निर्वाचन आयोगमा पहिले पुग्छ, त्यही पार्टीले बाजी मार्नेछ ।
यस्तो भएको समाजवादी पार्टीका नेताहरुको पछिल्ला निर्णयले हो ।
किनकि बुधबार मध्यरातमा राजपासँग एकीकरण गर्ने सम्झौतामा समाजवादी पार्टीका दुई अध्यक्षले हस्ताक्षर गरिरहँदा समाजवादी पार्टीकै सात सांसदहरुले पार्टीबाट अलग्गिने र नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन् ।
समाजवादी पार्टीबाट अलग भएर नयाँ पार्टी बनाउने समूहको नेतृत्व सांसद तथा समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले गरेकी छिन् । उनलाई सांसदहरु पूर्वमन्त्री इस्तियाक राई, प्रदीप यादव, कलुदेवी शर्मा, सुरेन्द्र यादव, रेणुका गुरुङ र उमाशंकर अरगरियाले साथ दिने भएका छन् ।
उनीहरुले नयाँ पार्टीको गठनका लागि रेणु यादवको शान्तिनगरमा रहेको निवासमा भेला भएर यो सम्झौता गरेको समाजवादी पार्टीका एक सांसदले बुधबार अबेर राति टेलिफोन सम्पर्कमा फरकधारलाई बताएका छन् ।
यसअघि यस पार्टीका सदस्य तथा सांसद र पूर्वराज्यमन्त्री सुरेन्द्र यादव जनकपुरबाट काठमाडौं आएका थिए । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा गिरफ्तार गरेर ल्याइएको समाजवादीका नेताहरुले आरोपसमेत लगाएका थिए ।
तर, तिनै यादव नयाँ पार्टी गठन गर्ने निर्णय लिएर बालुवाटारमा अबेर राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेको बालुवाटार स्रोतले फरकधारालाई बताएको छ । समाजवादी पार्टीबाट विद्रोह गरेर बनेको यो नयाँ पार्टी पनि अब सरकारमा समावेश हुने बताइएको छ ।
योसँगै अब समाजवादी पार्टीका प्रतिनिधि सभामा रहेका १७ सांसदमध्ये ८ सांसद नयाँ पार्टीमा हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि मात्र ल्याएको राजनीतिक दल विभाजनलाई खुकुलो बनाउन सहयोग गर्ने अध्यादेश यही केन्द्रित भएको बताइएको छ ।
अब रेणु यादव नेतृत्वको यो पार्टीले भोलि नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेमा उसले पनि राष्ट्रिय पार्टीको मान्यता पाउनेछ । किनकि नयाँ अध्यादेशले अब ४० प्रतिशत सांसद भएमा नयाँ पार्टी बनाउन अनुमति दिइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यो आदेश जारि गरिसकेकी छिन् ।
तर, रेणु यादव नेतृत्वको यो नयाँ पार्टी निर्वाचन आयोगमा राजपा र समाजवादी मिलेर बनेको नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपालभन्दा पहिले नै निर्वाचन आयोगमा पुग्नु पर्ने हुन्छ । अथवा उनीहरुले अरु पनि सांसदलाई आफ्नो पार्टीमा ल्याउनु पर्ने हुन्छ ।
यसअघि राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता घोषणा भएको थियो । बुधबार भएको संयुक्त बैठकले यस्तो घोषणा गरेका हो ।
नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने निर्णय भएको छ ।
पार्टी एकीकरणको घोषणापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रलार्य अझ विकसित गर्दै पहिचानका आधारमा संघीयता, सहभागितामुलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि, बहुसाँस्कृकित राष्ट्रवादको विकास गर्न जरुरी भएको भन्दै दुई पार्टीबीच घोषणा गरिएको जनाइएको छ ।
यी दुई पार्टीबीच एकीकरण समानताको आधारमा गरिने पनि सम्झौता भएको छ ।
अहिले समाजवादी पार्टीले प्रयोग गर्दै आएको झन्डा नै नयाँ पार्टीको झन्डा हुने भएको छ । अनि राजपाले प्रयोग गरेको चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको छाता हुने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।