ल्याटिन अमेरिकामा चीनको ‘मास्क डिप्लोमेसी’

कोरोनाभाइरस महामारीका कारण अहिले विश्व नै रोकिएको छ । विश्वभर उडानहरु ठप्प छन्, मानिसहरु घरभित्र बस्न बाध्य छन् । यो रोकिएको रफ्तारमा पनि ल्याटिन अमेरिका चीनको आशमा बसेको छ । 

ल्याटिन अमेरिकाका देशहरुले कोभिड १९ विरुद्ध लड्न चीनसँग मेडिकल सामग्री, विशेषज्ञ तथा सल्लाह सबैको आश गरेका छन् र उनीहरुले सहयोग पनि पाइरहेका छन् ।

अनि कयौँ विश्लेषकहरुले ल्याटिन अमेरिकालाई मिलिरहेको यो सहयोगलाई चीनको मास्क डिप्लोमेसी अर्थात् मास्क कुटनीतिको संज्ञा दिएका छन् ।

गत डिसेम्बरमा सबैभन्दा पहिले चीनमा नै कोरोनाभाइरस मानिसमा देखिएको थियो । तर, छोटो समयमा नै चीनले यो भाइरसमाथि जित हासिल गर्यो । 

त्यति बेला पश्चिमी देशहरुले सोचेका थिए, कोरोनाभाइरस अझै आफ्ना देशहरुमा आउन सक्दैन । तर, अहिले अब यी देशहरु नै चीनसँग सहयोग मागिरहेका देखिन्छन् ।

यसलाई विश्लेषकहरुले चीनको ‘कथा बदलिदिने रणनीति’को रुपमा व्याख्या गरेका छन् । चीन विश्वमा आफ्नो छवि सुधार्नका लागि पनि यसमा होमिएको उनीहरुको तर्क छ । 



अमेरिकाका छिमेकी देशमा चीनले सहयोग दिन पनि थालेको छ । र, भेनेजुएलालाई उसले पहिलो प्राथमिकताका राखेको छ । १५ मार्चको आसपासमा नै चीनले भेनेजुएलालाई ४ हजार कोभिड १९ टेस्टिङ किट्स पठाएको थियो ।

तर, अब चीनको सहयोग पाउने देश भेनेजुएलामात्र होइन । यो सूचीमा बोलिभिया, इक्वेडर, अर्जेन्टिना तथा चिलीलगायतका देश पनि सामेल भइसकेका छन् । कतिसम्म भने यी देशले आफ्ना विशेषज्ञलाई कोरोनाभाइरसबारे अध्ययन गर्न चीन पनि पठाएका छन् ।



त्यसो त चिनियाँ उपविदेशमन्त्री लु झाओहुईले मार्चको अन्तिममा भनेका थिए, ‘कोरोनाभाइरसविरुद्ध हामीले अन्तिम जित हासिल नगर्दासम्म अरु देशहरुलाई सहयोग गरिरहने छौँ, कोरोनाभाइरसलाई जितेर नै छोड्ने हाम्रो प्रतिबद्धता छ ।’

अनि चीनले पनि विभिन्न देशलाई सहयोग गर्ने क्रम बढाइरहेको छ ।

तर, यसलाई सबै विश्लेषकले सहयोगका रुपमा हेरेका छैनन् । थिंकट्याङ्क सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका एशिया मामिला हेर्ने बनी ग्लेजरले भनेका छन्, ‘चीनले खासमा अहिले पनि अर्थ संकलन गरिरहेको छ, उसले विश्वलाई कुनै सहयोग गरेको छैन ।’

अनि ल्याटिन अमेरिकामा चीनको प्रभाव विस्तार भएको यो पहिलो पटक नभएको पनि विश्लेषकहरुले बताएका छन् । किनकि सन् २००८ को आर्थिक संकटमा पनि चीनले ल्याटिन अमेरिकी देशहरुलाई पैसा दिएर र व्यावसायिक सहयोग गरेको थियो । त्यसैले पनि अब ल्याटिन अमेरिकी देशमा चीनको प्रभुत्व बढ्दै गइरहेको छ ।

‘ल्याटिन अमेरिकी देशले चीनतर्फ सहयोगको आशा गर्दा,’ बेइजिङमा रेनमिन विश्वविद्यालयको ल्याटिन अमेरिकी अध्ययन केन्द्रका निर्देशक सुई शोउजुनले भनेका छन्, ‘चीनले उनीहरुलाई सहयोग गरिहाल्छ, यसमा शंका मान्नु पर्ने केही छैन ।’ उनले चीन खराब समयमा काम आउने देश भएको पनि टिप्पणी गरेका छन् । 

त्यसो त चीनको यो सहयोगमा अरु अर्थराजनीतिक स्वार्थहरु मिलेको टिप्पणी गर्ने विश्लेषकहरु पनि नभएका होइनन् । विशेषगरि अमेरिकासँग सम्बन्ध बिग्रिएका देशमा चीनले आफ्नो सहयोग हात अझ बढी फैलाइरहेको टिप्पणी गर्नेहरु पनि छन् ।

  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार २:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया