आज मातातीर्थ औँसी

काठमाडौं– आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै छ । जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र कृतज्ञता व्यक्त गर्दै प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन यो पर्व मनाइन्छ ।

आजका दिन छोराछोरीले आमालाई मीठामीठा परिकार बनाई खुवाउने र उपहार दिएर आशिर्वाद लिने चलन छ । विवाह गरी गएका चेली आज आमाको मुख हेर्न माइती आउँछन् । 

आमा हुनेहरुले आजका दिन मीठा–मीठा परिकार र वस्त्र आमालगायत गुरुआमा, सासू र काकीहरूलाई दिई आशीर्वाद लिन्छन् ।

आमा नहुनेले आज आमालाई तर्पण र पिण्ड दिई पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमाको आत्माको मुक्तिको कामना गर्छन् ।

काठमाडौंको थानकोटस्थित मातातीर्थमा दिवंगत आमाको सम्झनामा श्रद्धा तथा दान गर्न आज बिहानैबाट दशनार्थीको ठूलो भिड लाग्ने गरेकाे थियाे । तर यसपटक काेभिड १९ का कारण त्यहाँ मानिसहरु पुग्ने छैनन् ।

आजका दिन मातातीर्थस्थित कुण्डमा स्नान गरी दान गरेमा दिवंगत हुने आमाको छोरा–छोरीले तिर्नुपर्ने ऋणबाट मुक्ति पाउने धार्मिक विश्वास छ ।
 
किंवदन्तीअनुसार, द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी मातातीर्थ कुण्डमा खसेको थियो । कुण्डमा खसेको रोटी हेर्दा पानीमा दिवंगत आमाको मुख देखेर ग्वाला रुन थालेका थिए । 



संयोगले त्यो दिन वैशाख कृष्ण औँसी थियो । खासमा भगवान् श्रीकृष्णले ग्वालालाई कुण्डमा आमाको दर्शन गराएका थिए । त्यसबेलादेखि नै वैशाख कृष्ण औँसीका दिन मातातीर्थ कुण्डमा गएर दिवंगत आमाको दर्शन गर्ने चलन चलेको जनविश्वास छ ।



  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार ३:४५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया