नेकपा विवादः समीकरण हेरफेरमा कता जालान् माधव नेपाल र रामबहादुर थापा बादल ?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष नेताहरुबीच भएको मतभेद पछिल्लो समय छताछुल्ल भएको छ । विशेषगरि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा आएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण नेकपाका नेताहरुबीच पछिल्लो समय संवादको अवस्थासमेत नरहेको प्रष्ट पार्छ । 

किनकि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा यो अध्यादेश ल्याउँदा आफ्नै मन्त्रिमण्डलका अन्य सदस्यहरुको कुरामा कुनै ध्यान दिएनन् । बैठकमा यसबारे असन्तुष्टि राख्न खोज्दा उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समेत कुरा सुनेनन् । ज्ञवाली ओलीनिकट मानिन्छन् र ज्ञवालीका कुरामा ओलीले गम्भीरताका साथ लिने गरेको पाइन्छ । त्यही बैठकमा अर्का मन्त्री घनश्याम भुषाल र वर्षमान पुनको कुरालाई पनि ओलीले सहजै ‘इन्कार’ गरिदिए ।

फलस्वरुपः यो अध्यादेश मन्त्रिपरिषद्बाट पारित भएलगत्तै पूर्वमाओवादी मन्त्रीहरु नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे ।

उनीहरु खुमलटार पुग्नुले स्पष्ट संकेत गर्छ– अझै पनि नेकपामा भएको दुई दलको एकीकरण भावनात्मक रुपमा पूर्ण हुन सकेको छैन । खुमलटारबाट अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई फोन सम्पर्क गरे, त्यही साँझ सचिवालय बैठक बोलाइयो ।

यसबीचमा यो अध्यादेशको विरोधमा केही नेकपाकै नेताले पनि बोल्न थालेका थिए ।

सचिवालय बैठकमा भने यो विषयमा नेताहरुले खुलेर कुरा गर्न नै पाएनन् । किनकि सचिवालय बैठक सुरु हुँदानहुँदै राष्ट्रपति कार्यालयबाट सूचना आयो– अध्यादेश जारी भयो ।



नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पछि जारी गरेको विज्ञप्ति र सन्चारमाध्यमलाई दिएको अभिव्यक्तिमा पनि यो प्रष्ट हुन्छ । उनले भनेका थिए, ‘जारी भइसकेको अध्यादेशमाथि छलफल गर्न पर्ने आवश्यकता देखिएन ।’

तर, यही प्रकरणका कारण नेकपामा अब बदलिने समीकरण झन् रोचक हुने निश्चित भएको छ ।



किनकि यसले नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको दूरी थप बढाउँदै छ । त्यसो त यो अध्यादेश ल्याउनु पहिले नै यसबारे प्रचण्ड र ओली, ओली र माधवकुमार नेपालबीच छलफल भएको भनिएको छ । तर, न प्रचण्ड यसबाट खुसी हुन सकेका छन्, न माधवकुमार नेपाल नै । 

ओलीको यो मुभलाई शंकाको दृष्टिकोणले हेरेका प्रचण्ड त्यसैले पनि बुधबार बालुवाटारमा भएको सांसदहरुसँगको बिफ्रिङमा एक शब्द पनि बोलेनन् । त्यहाँ पुगेका नेकपाका एक सांसदले फरकधारलाई सुनाए, ‘आज अध्यक्ष प्रचण्ड केही बोल्नु भएन, ओली कमरेडले भनेकै कुरा हो मेरो पनि भन्नुभयो मात्र ।’

यतिबेला प्रचण्डको यो मौनता जति महत्वपूर्ण छ, त्यहाँभन्दा बढी नेकपामा बढ्दो यो विवादमा महत्वपूर्ण छन्, सचिवालयका दुई सदस्य– माधवकुमार नेपाल र रामबहादुर थापा बादल । 

किनकि यी दुवै नेतालाई प्रचण्ड र ओली दुवैले आआफ्नो समर्थनका नेता मानेका छन् ।

पहिले चर्चा गरौँ, माधवकुमार नेपालबारे ।

केही समययता नेपाल प्रचण्डसँग निकट भएको नेकपाभित्रका नेताहरुले राम्रोसँग महसुस गरिसकेका छन् । बारम्बार केपी ओलीले विभिन्न विषयमा निर्णय गर्दा बस्ने आकस्मिक बैठकमा प्रचण्ड र नेपालले पहिले नै छलफल गर्ने गरेका पनि छन् । त्यसमाथि उनी लामो समयदेखि ओलीसँग पार्टीमा फरक मत राख्दै आइरहेका नेता पनि हुन् । 

यसपटक अध्यादेश आइसक्दा माधवकुमार नेपालले प्रष्टसँग आफ्नो मत राखेका छैनन् । बुधबार नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसमा जारी गरेको एक विज्ञप्तिमा पनि नेपालले यसबारे केही खुलाएका छैनन् । यसले गर्दा माधव नेपाल यस विषयमा के मत राख्छन् भन्ने अहिले खुलेको छैन । तर, उनले पार्टीको एकतालाई भंग गर्ने खालका कुनै अभिव्यक्ति आउन नहुने बताउँदै आएका छन् । 

पछिल्लो समय आफूसँग छलफलका क्रम बढेपछि नेकपा अध्यक्ष प्रचण्डको बुझाइ छ, माधव कुमार नेपालले आफूलाई साथ दिनेछन् । अर्कोतिर, पूर्वएमालेबाट भएकाले माधवकुमार नेपाल आफूहरुसँग नै नजिक भएको नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको बुझाइ छ । ‘उहाँबारे दुवै पक्ष आफ्नो हो भन्ने निष्कर्ष निकालेर बसेका छन्,’ नेकपका एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, यसमा उहाँ खुलेर अहिलेसम्म कतै लागेको जस्तो आभास हुन पाएको छैन ।’

ठ्याक्कै यही अवस्थामा छन्, गृहमन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादल । केहीअघि मन्त्रिपरिषद् हेरफेर हुँदा प्रचण्डले बादललाई हटाउन चाहेको समाचार बाहिर आएका थिए । तर, यो प्रस्तावलाई ओलीले अस्वीकार गरिदिएको नेकपाभित्र चर्चा चल्न थालेको छ । 

यही कारण ओली बादल आफ्नो पक्षमा भएको मान्छन् । तर, नेकपामा प्रचण्ड समूहको बुझाइ छ, बादल पूर्वमाओवादी हुन् र उनले पूर्वमाओवादीका अजेन्डामा धोका दिँदैनन् । ‘अहिले ओलीसँग नजिक भए पनि उहाँले अन्ततः पूर्वमाओवादीलाई नै साथ दिनुहुन्छ भन्ने प्रचण्ड कमरेडको बुझाइ हो,’ ती केन्द्रीय सदस्यले भने, ‘तर, बादललाई आफूले अवसर दिएको र संरक्षण पनि गरको हुनाले बादलले आफ्नो साथ नछोड्ने ओली कमरेडको बुझाइ छ ।’

त्यसैले, नेकपामा विवाद बढ्दै जाँदा यी दुई नेताको भूमिकाले पार्टीमा रहेका दुई समूहबीचको व्यवस्थापनमा ठूलो भूमिका खेल्ने निश्चित छ । तर, उनीहरु यो समीकरणमा कता देखिनेछन्, यसबारे दुवै मौन भएकाले अहिले नै अनुमान गर्न सकिँदैन ।
 

 

 

  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार ६:३७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया