‘अपहरित’ सांसद यादव भन्छन्– सपना पूरा भयो

काठमाडौं– बुधबार अपराह्न एकाएक समाचार आयो– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा समाजवादी पार्टीका उपाध्यक्ष, सांसद तथा पूर्वराज्य मन्त्री डा. सुरेन्द्र यादवको अपहरण भएको छ । 

समाजवादी पार्टीका नेताहरुले लगाएको यो आरोप बिहिबार दिउँसो सत्य भएको प्रमाणित भएको छ । यादवले आफू अपहरणमा नपरेको तर काठमाडौं आउन सरकारी संयन्त्रबाट नै सहयोग भएको बताउन थालेका छन् ।

बिहिबार विहान काठमाडौंमा रहेको होटल मेरियटबाट बाहिर निस्किएपछि उनले आफ्नो सपना पूरा भएको बताएका छन् । 

‘अब मधेशवादी दलहरु एक भएका छन्,’ उनले भनेका छन्, ‘म यस्तो होस् भन्ने पहिले देखि नै चाहन्थेँ, मेरोे सपना पूरा भएको छ ।’

पार्टी एकीकरण गर्ने सम्झौता भएको सूचना निर्वाचन आयोगमा दर्ता भइसकेपछि डा. यादवले यस्तो प्रतिक्रिया दिएका हुन् । तर, उनको यो प्रतिक्रिया आउँदासम्म भएको राजनीतिक ‘खेल’ कम रमाइलो रहेन । राजनीतिमा सम्भवतः कमै देखिने ट्विस्ट एन्ड टन्र्स बुधबार साँझबाट बिहिबार विहानसम्म नेपाली राजनीतिमा देखियो । 

त्यो हो– वर्ष दिनदेखि एकीकरणको चर्चा गरे पनि सम्भव हुन नसकेको राजपा र समाजवादी पार्टीको एकीकरण । यी दुई पार्टीले अब एकीकरण गर्ने सम्झौता गरिसकेका छन् । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल जुराइसकेका छन् । उनीहरुको चुनाव चिह्न र झन्डा पनि फाइनल भइसकेको छ । नेताहरुको मर्यादाक्रम पनि सफल भइसकेको छ । 



प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेश र चाहनामा सोमबार ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश समाजवादी र राजपा पार्टीमा फुट ल्याउन असफल भएपछि अब फिर्ता हुनसक्ने सम्भावना बढेको छ । त्यसो त स्वयं प्रधानमन्त्री ओलीले यो अध्यादेश फिर्ता लिने बताएका छन् ।

तर, यहाँसम्म आइपुग्न सांसद यादवको ‘अपहरण’को कथा निकै महत्वपूर्ण मानिएको छ । 



यादव स्वयंले आफूलाई नेपाल प्रहरीका पूर्वआइजी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले जनकपुरबाट काठमाडौं ल्याएको स्वीकार गरिसकेका छन् ।

‘उहाँहरु तीन जनासँग नै मेरो पुरानो चिनजान हो,’ यादवले भनेका छन्, ‘प्रधानमन्त्रीजीसँग भेट्नै पर्यो भन्ने दबाब दिनुभयो र म काठमाडौं आएँ ।’

डा. यादवले काठमाडौं आइसकेपछि बस्नेत र श्रेष्ठको चाहना र केपी शर्मा ओलीको कुरा आफूले बुझेकाले मर्निङ वाकमा निस्किएको र अध्यक्षलाई भेटेको बताएका छन् । 

‘अहिले जे कुरा भइरहेका छन्, यस्तो कुरा हुन्छ भन्ने थाहा पाएको भए म काठमाडौं आउने पनि थिइनँ,’ डा. यादवले भनेका छन्, ‘मैले कहिल्यै पनि पार्टी फुटाउने सोचेको थिइनँ, पार्टी फुुटाउने कुरा सोच्दा पनि सोच्दिनँ ।’

उनले समाजवादी पार्टी फुटाएर नयाँ पार्टी गठन गर्ने कुरामा सांसद रेणु यादवको नेतृत्वमा आफ्नो पनि नाम जोडिएको आश्चर्य पनि व्यक्त गरेका छन् । ‘उहाँसँग मेरो कुरा भयो,’ उनले भनेका छन्, ‘उहाँले पनि असन्तुष्टि मात्र राख्नु भएको हो, पार्टी नै नयाँ बनाउँछु भन्नु भएको होइन ।’

यतिमात्र होइन, आफूहरुले अहिले नयाँ पार्टी बनाउनेबारे सोच्दै नसोचेको पनि उनले बताएका छन् । 

तर, यसअघि पार्टीमा उनी सबैभन्दा बढी असन्तुष्ट भएको र उनकै सल्लाहमा समाजवादी पार्टी फुटाउने योजनामा काम भइरहेको अनुमानहरु राजनीतिक बजारमा व्यापक भएका थिए ।

  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार १३:५८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया