‘कोरोनाभाइरसपछि विश्वलाई चीनले शासन गर्नेछ, तानाशाही बढ्नेछ’

अहिले विश्व कोरोनभाइरसको महामारीमा नराम्रोसँग फँसिसकेको छ । विश्व महामारी कोरोनाभाइरसबाट विश्वले मुक्ति पाउन अझ केही समय कुर्नुको विकल्प पक्कै छैन ।

तर, कोरोनाभाइरस युग सकिएपछि के हुन्छ ?

विश्वमै चर्चित विचारकहरुले चाहिँ कोरोनापछि विश्वको नेतृत्व अमेरिकाले नभएर चीनले गर्ने बताएका छन् । कतिपयले चीनको नेतृत्व कमजोर हुने पनि बताएका छन् । कतिपयले यो महामारीका कारण ग्लोबलाइजेसनको अन्त्य हुने पनि बताएका छन् ।

अर्कोतिर, अब विश्वमा नयाँ तरिकाको सहयोग सुरु हुने पनि बताइरहेका छन् । अनि विश्वमा आक्रामक राष्ट्रवाद बढ्ने पनि धारणा आइरहेका छन् ।

कोरोनाभाइरसका कारण शासन गर्ने तरिकामा पनि परिवर्तन आउँछ भन्नेहरु नभएका होइनन् । कतिपयले चाहिँ विश्वमा निरंकुशता बढ्ने र विभिन्न प्रतिबन्धहरु लागिरहने अनुमान गरेका छन् ।

इजरायलका पूर्वविदेशमन्त्री तथा विचारक श्लोमो बेन एमीले चाहिँ मानवसभ्यतामा महामारी बारम्बार देखिएको र इतिहासमा निकै त्रासदीहरु पनि यसअघि देखिएको बताएका छन् । अनि अहिलेको शासन व्यवस्था पूरै सिफ्ट हुने उनको राय छ ।



श्लोमोले अब चीनले विश्वको शासन गर्ने पनि बताएका छन् । उनले विश्वका देशहरुमा तानाशाही बढ्ने पनि बताएका छन् । ‘महामारीपछि आम मानिसहरुलाई झन् गाह्रो हुनेछ, सरकारहरुले केही गर्न सक्ने छैनन्,’ उनले भनेका छन्, ‘यो महामारीले अहिले नै यो संकेत गरिसकेको छ ।’

विश्व चर्चित लेखक तथा इतिहासकार नोभल युवल हरारीले पनि विश्वमा अहिले विकल्प नभएको तर तानाशाही बढ्ने खतरा भएको बताएका छन् । उनले भनेका छन्, ‘संकट अहिले यस्तो छ कि हामीले कुनै ठूलो फैसला लिनु पर्ने हुनसक्छ । यो निर्णय तत्काल लिनु पर्ने हुन्छ । तर, हामीसँग विकल्पहरु पनि नभएका होइनन् ।’



हरारीले हामीसँग अब दुई विकल्प भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीसँग दुई महत्वपूर्ण विकल्प हुनसक्छन्– यो संकटको सामना हामी विभिन्न देशबाट अलगरुपमा गर्ने वा वैश्विक साझेदारी तथा एकजुटता प्रदर्शन गर्ने ।’

उनले प्रत्येक देशकालागि पनि विकल्पहरु भएको बताएका छन् । ‘सर्वाधिकार सम्पन्न केन्द्रीकृत निगरानी व्यवस्था गर्ने वा सामाजिक एकजुटता गर्दै नागरिक सशक्तिकरणमा विश्वास गर्ने ।’

हरारीका अनुसार अब यो कोरोनाभइरसका कारण वैज्ञानिक तथा राजनीतिक दुवै तर्फमा विभिन्न प्रश्नहरु जन्मिएका छन् । उनका अनुसार वैज्ञानिकहरुले विभिन्न चुनौति हल गर्ने कोशिस त गरिरहेका छन् तर राजनीतिक समस्याका कारण उनीहरुको पनि यस विषयमा ध्यान अलिक कम गएको छ ।

‘महामारी रोक्नका लागि तथा हराउनका लागि मानवतासँग सबै कुरा छ जसको जरुरत छ,’ उनले भनेका छन्, ‘यो कुनै मध्यकालीन समय होइन, यो प्लेग महामारी पनि होइन, अहिले हामीलाई मानिसहरुको किन मृत्यु भइरहेको भन्ने पनि थाहा छ र अब के गर्नुपर्छ भन्ने पनि थाहा छ ।’

अहिले विश्वले थाहा पाइसकेको कुरा के हो भने साबुन पानीले हात धुँदा र सोसल डिस्टेन्सिङ अपनाउँदा यो भाइरसको संक्रमणबाट बच्न धेरै अर्थमा सकिन्छ । 

‘यो भाइरसबारे हामीले पूर्णरुपमा बुझिसकेका छौँ, हामीसँग प्रविधि छ,’ हरारीले भनेका छन्, ‘हामीसँग यो भाइरसलाई हराउनका लागि अािर्थक स्रोत छ । तर, यसलाई हामीले कसरी प्रयोग गर्छौँ भन्ने महत्वपूर्ण हो, अनि यो राजनीतिक विषय पनि हो ।’

हरारीले केही दिनअघि मात्र फाइनान्सिय टाइम्समा एउटा लेखमा आपत्कालीन अवस्थामा अहिले इमरजेन्सी प्रक्रियाहरु फास्ट फरवार्डमा काम हुने बताएका छन् । उनले यस्तो समयमा विभिन्न प्रक्रियाहरु रातारात काम गर्न सकिने त्यसमा लेखेका छन् । उनले यस्तो समयमा खतरानक परिस्थिति आउन सक्ने पनि बताएका छन् । किनकि यस्तो समयमा विभिन्न प्रविधिहरुको कुनै विकास वा सार्वजनिक बहसविना पनि काममा लगाउन सकिन्छ ।

हरारीका अनुसार सरकारले नै यस्तो समयमा पनि यस्ता विभिन्न प्रविधिलाई गलत हातमा प्रयोगका लागि दिन सक्छ । सरकारले पूरै निगरानी गरेर हामीलाई आफ्नो निगरानीमा राख्दै अपारदर्शी कुराहरुको फैसला पनि गर्न सक्छ ।

यसको एउटा उदाहरण हामीले इजरायलबाट पनि लिनसक्छौँ । त्यहाँ यो समयमा नै सबै नागरिकलाई निकै निगरानीमा राखिएको छ । हरारीका अनुसार दक्षिण कोरियामा पनि मानिसहरुको निगरानी त गरिएको छ तर अलिक बढी पारदर्शी ढंगले । 

विश्वमा अत्याधुनिक निगरानीको व्यवस्थ ागर्ने देशमा सामेल चीनले क्वारेन्टाइन उल्लंघन गर्ने नागरिकको पहिचानका लागि अनुहार पहिचान गर्ने प्रविधिको विकास गरेको थियो । 

हरारीले यस्ता प्रविधि केही समयका लागि ठिक हुने भए पनि लामो समयका लागि यस्तो प्रविधि प्रयोग गर्दा खतराहरु बढ्न सक्ने बताएका छन् ।

‘स्वास्थ्य होस् या फेरि आर्थिक विषयमा किन नहोस्,’ उनले भनेका छन्, ‘सरकारहरुले निर्णायक फैसला लिन कडा कदम उठाउन सक्छन् । म यसको पक्षमा छु तर सरकारले यस्तो गर्दा ठूलो जनसंख्यालाई प्रतिनिधित्व गरेको हुनुपर्छ ।’

उनले कम्तिमा पनि ५१ प्रतिशत जनाको प्रतिनिधित्व गर्दै सरकार बन्ने भएपनि यस्तो समयमा सरकारले प्रत्येक नागरिकको ख्याल गर्नु पर्ने बताएका छन् ।

अहिले विश्वमा अर्को देशको नागरिक तथा अर्को देशप्रति ‘नफरत’ बढेको हरारीको निष्कर्ष छ । तर, विश्वमा फैलिने महामारीले सामाजिक समूह वा कुनै पनि देशलाई भेदभाव नगर्ने उनले बताएका छन् । अनि यस्तो समयमा हरारीले भनेका छन् सरकारले पहिले नै तय गर्नुपर्छ कि उसले मुश्किलको सामाना गर्ने हो या एक्लै अगाडि नबढेर अरु देशसँग पनि सहयोग माग्ने हो ।

अहिलेको समयमा पनि विश्वका विभिन्न देशले एक्लै अगाडि बढ्ने निर्णय गरेका छन् ।

‘तर, विश्वभर आपसी सहयोग अझ बलियो बनाउनु, जानकारी तथा सूचनालाई एक्सचेन्ज गर्नु र महामारीबाट प्रभावित देशमा मानव तथा मेडिकल संसाधानको निष्पक्ष वितरण अझ बढी तर्कसंगत हुन्छ ।

तर, अब यो महामारीपछि सामाजिक व्यवहार नबदलिने उनले बताएका छन् । उनले भनेका छन्, ‘यसले हामीलाई बदल्दैन किनकि मानिस सामाजिक प्राणी हो र ऊ सधैं सामाजिक रहन्छ ।’

‘यो भाइरसले हामीलाई संक्रमण गर्न हाम्रो राम्रो प्रकृतिको शोषण गरिरहेको छ,’ उनले भनेका छन्, ‘तर, हामी अझ स्मार्ट हुनु परेको छ, दिमागले सोच्नु परेको छ, दिलले होइन । सामाजिक दूरी कायम त्यसैको प्रतिफल हो ।’

  • प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार ६:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया