भारतीय क्‍वारेन्टाइनबाट एक सयजना नेपाल आए

भैरहवा — भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये १ सयजनालाई शुक्रबार सुनौली नाका हुँदै नेपाल ल्याइएको छ । 

भारतका विभिन्न स्थानबाट घर फर्केका उनीहरुलाई गत चैत १८ गते लकडाउन र सिमाना सिल भएपछि सुनौली दशगजाबाट नौतनवाको क्वारेन्टाइनमा बस्नेगरी फर्काइएको थियो । १४ दिन क्वारेन्टाइनमा बसेपछि नेपाल आउन दिइने भन्दै फर्काइए पनि ३ हप्तासम्म नेपाल ल्याउन सरकारीस्तरबाट पहल नगरिएपछि उनीहरु निकै आक्रोशित थिए । नौतनवास्थित क्वारेन्टाइनमा रहेका ३ सय ३५ जनामध्ये १ सयजनालाई शुक्रबार स्वदेश ल्याइएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले ३ हप्ता अघि नौतनवाको क्वारेन्टाइनमा राखिएका नेपालीहरुलाई तीन चरणमा स्वदेश ल्याइने बताए । उनका अनुसार, उनीहरुलाई स्वदेश ल्याउने बारेमा केन्द्र सरकारले स्थानीय स्तरबाट निर्णय गर्नु भनेर निर्देशन दिएपछि स्वदेश ल्याउन थालिएको हो ।

प्रजिअ पन्थले स्वदेश ल्याउने क्रममा उनीहरु सबैको नेपालतर्फ सिमानामै कोरोनासम्बन्धि स्वास्थ्य जाँच गरेर र सम्बन्धित जिल्लामा पुन १४ दिनको क्वारेन्टाइनमा बस्ने गरी पठाइने बताए । ‘सिमानामै उनीहरुको आरडिटीबाट स्वास्थ्य परीक्षण गरिन्छ,’ पन्थले भने, ‘परीक्षणका क्रममा नेगेटिभ देखिएमा सम्बन्धित जिल्लामा १४ दिन क्वारेन्टाइनमा बस्ने गरेर र पोजिटिभ देखिनेलाई बुटवलस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखिने व्यवस्था गरेका छौं ।’





  • प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार ६:३८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया