लन्डन– बेलायतमा कोरोना कहर अझ बढ्ने देखिएको छ । शनिबार साँझ जारी तथ्यांकअनुसार बेलायतमा २० हजारभन्दा धेरै जनाको कोरोनाभाइरसका कारण निधन भएको छ । योसँगै बेलायत कोरोनाका कारण २० हजारभन्दा धेरै नागरिक गुमाउने पाँचौ देश बनेको छ ।
बेलायतमा नेपालीको पनि कोरोनाभाइरसका कारण निधन भएको छ । अहिलेसम्म बेलायतमा ३१ जना नेपाली र नेपाली मूलका व्यक्तिको कोरोनाभाइरसका कारण निधन भएको बताइएको छ ।
लन्डनस्थित नेपाली दूतावासले दिएको तथ्यांकअनुसार शनिबार साँझसम्म त्यहाँ ३१ जना नेपालीभाषीको निधन भएको हो ।
यसअघि अमेरिकामा ८ जना नेपालीको निधन कोरोनाभाइरसका कारण भइसकेको छ । फ्रान्स र जर्मनीमा पनि नेपालीको कोभिड १९ का कारण निधन भएको छ । तर, विदेशमा कोरोनाभाइरसका कारण सबैभन्दा धेरै नेपालीको निधन बेलायतमा भएको छ ।
कोरोनाभाइरसका कारण बेलायतमा मृत्यु हुने अधिकांश नेपाली भूतपूर्व गोर्खा सैनिकका रहेका छन् । ३१ जनामध्ये २३ जना गोर्खा भूतपूर्व सैनिक रहेको दूतावासले जनाएको छ ।
बेलायतमा नेपाली समुदायमा कोरोनाभाइरस संक्रमण निकै बढेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।