प्रहरीले मानेन डा. यादवको ‘अपहरण’ उजुरी लिन

काठमाडौं– आफूलाई अपहरण गरिएको र ज्यान बन्धक बनाएर काठमाडौं ल्याइएको उजुरी दिन प्रहरी कार्यालयमा जनता समाजवादी पार्टीका नेताहरुसँग पुगेका डा. यादवको उजुरी लिन प्रहरीले अस्वीकार गरिदिएको छ । 

उनी आइतबार दिउँसो प्रहरी कार्यालय पुगेका थिए । 

उनले सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजिपी सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको प्रहरी कार्यालय पुगेका थिए । 

तर, प्रहरीले उनको उजुरी लिन मानेन । योसँगै प्रहरी कार्यालयमा जसपाका नेताहरु र प्रहरीबीच चर्काचर्की भएको छ ।

प्रहरीले यो महोत्तरीको घटना भएकाले उतै उजुरी दिन अनुरोध गरेको थियो । 
 

डा. यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको नयाँ दल जनता समाजवादी दलका नेताहरुसँगै प्रहरीकहाँ पुगेर आफूलाई अपहरण गरिएको भन्दै उजुरी दिएका छन् । यो उजुरी दर्ता गर्दा जसपाका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेताहरु पनि यादवसँगै थिए ।



यादवले महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर आफू अपहरणमा परेको र शरीर बन्धक बनाएको भन्दै उजुरी दिएका छन् । 

यसअघि नै समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वद्विप पाण्डेले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सवेन्द्र खनाललाई डा. यादवको अपहरण गरेको आरोप लगाएका थिए । 



अब यी तीनविरुद्ध किटानी जाहेरी दिन लागिएको हो । जाहेरी दर्ता भएको खण्डमा प्रहरीले तीन जनालाई पक्राउ गर्ने छ ।

सांसदद्वय बस्नेत र श्रेष्ठ र पूर्वप्रहरी प्रमुख खनालले यसअघि विभिन्न सन्चारमाध्यममा आफूहरुले डा. यादवलाई काठमाडौं ल्याउन सहजीकरण गरेको बताएका थिए ।

बुधबार राति डा. यादवलाई काठमाडौं ल्याएर होटल म्यारिएटमा छोडिएको थियो । 

बिहिबार विहान उनी आफू घेरा तोडेर बाहिर निस्किएको बताउँदै समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगेका थिए । 

अर्काेतिर सांसद महेश बस्नेतले पनि याे प्रकरणमा आफ्नाे मानहानी भएकाे भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध उजुरी दिने बताएका छन् ।

 


  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार १६:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया