संसदीय दलमा बहुमत पुर्‍याउन ओलीको कसरत, आज १० बजे सांसदहरुसँग विशेष छलफल

काठमाडौं– पार्टीबाट राजीनामा लागि चर्को दबाब आउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलमा बहुमत पुर्‍याउन विशेष कसरत गर्न थालेका छन् । उनले आफ्नो पक्षमा यसअघि भएका सांसदहरुलाई मात्र होइन, पूर्वमाओवादी सांसदहरुसँग पनि भेटघाट बढाउन थालेका छन् ।

यही क्रमको सिलसिलास्वरुप नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले आफूनिकट सांसदहरुलाई आज १० बजे विशेष बैठकका लागि बालुवाटारमा बोलाएका छन् ।

उनले मंगलबार दिनभर पनि बालुवाटारमा आफूनिकट सांसदहरुसँग कुराकानी गरेका थिए । उनीहरुलाई भावुक सन्देश दिँदै अहिले देश र पार्टीका लागि सहयोग गर्न अनुरोध गरेको छलफलमा सहभागी एक सांसदले फरकधारलाई बताएका छन् । 

मंगलबार बालुवाटार बैठकमा सहभागी भएका पूर्वएमालेका सांसदहरुले पनि ओलीलाई साथ दिने आश्वासन दिँदै आफ्नो मागमा अडिग रहन अनुरोध गरेका छन् । 

जस्तोसुकै परिस्थितिको पनि सामाना गर्न निर्देशन दिएका ओलीलाई बालुवाटारमा सांसदहरुले पनि उनी गलत नभएको ढाडस दिएका थिए ।

अर्कोतिर, प्रधानमन्त्री ओलीले आफू र आफ्ना दूतहरुमार्फत् पूर्वमाओवादी र माधव नेपाल समूहका सांसदहरुलाई पनि भेटघाट गर्न सुरु गरेका छन् । 



संसदमा नेकपाका एक सय ७४ सांसद छन् । यीमध्ये ओलीले आफूसँग ७८ सांसद भएको विश्वास लिएका छन् । अब बहुमतका लागि आवश्यक १० सांसद पनि आफूले सहजै पाउने ओली र उनको पक्षको विश्वास छ । संसदमा पूर्वमाओवादी समूहका ५३ मध्ये केही सांसद आफ्नो पक्षमा आउनेमा ओली समूह ढुक्क छ । त्यसैले पनि प्रधानमन्त्री ओली ‘जुनसुकै’ कदम चाल्न अग्रसर हुन थालेका छन् । 

झन्, पूर्वमाओवादी समूहका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले ओलीलाई समर्थन गर्ने संकेत दिएपछि ओली समूहलाई यसमा आफूहरु सहज रुपमा अगाडि बढ्न सक्नेमा विश्वस्त छन् । 



अर्कोतिर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आफूहरुसँग पहिले नै ९६ जनाभन्दा बढी सांसद भएकाले ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदासमेत आफूहरुको जित हुनेमा विश्वस्त छन् । 

आज साँझ बस्ने भनिएको सचिवालय बैठकपछि नेकपामा अब के हुन्छ भन्नेमा प्रष्ट तस्वीर आउने देखिएको छ ।
 

 

  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार ४:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया