भारतको एलपियूमा त्रासमा सयभन्दा बढी नेपाली विद्यार्थी, कलेज दिन्छ गलत सूचना, वास्ता गर्दैन नेपाली दूतावास !

काठमाडौं– कोरोनाभाइरस (कोभिड १९) का कारण भारत र नेपालमा लकडाउन गरिएपछि भारतको पन्जाबमा रहेको लभ्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू)मा एक सयभन्दा बढी नेपाली विद्यार्थी फसेका छन् । एलपियूले अरु देशका विद्यार्थीलाई घर फर्काउन समन्वय गरेको छ तर नेपाली विद्यार्थीलाई बेवास्ता गर्दै अत्यन्त अव्यवस्थित ढंगमा कलेजमै राखिरहेको छ । 

कलेजमा र वरपर रहेका विद्यार्थीहरु अब फरकधारको सम्पर्कमा आएका छन् ।

एलपियुमा पढिरहेका एक विद्यार्थीका अनुसार त्यहाँ भएका बंगालदेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तानका विद्यार्थीहरु फिर्ता लगिइसकिएको छ । तर, नेपाली विद्यार्थीहरुलाई नेपाल ल्याउने विषयमा कलेज प्रशासन उदासीन छ भने नेपाली दूतावास र नेपाल सरकारले पनि कुनै वास्ता गरेका छैनन् ।

एलपियूको छात्रावासमा नै भएका ५० भन्दा बढी विद्यार्थीलाई लकडाउनको सुरुको दिनदेखि नै कोठाबाट बाहिर निस्किन दिइएको छैन । ‘सानो कोठामा हामी चार जनासम्म बस्न बाध्य भएका छौँ, बाहिर निस्किनै पाइँदैन,’ त्यहाँका एक विद्यार्थीले फरकधारसँगको सम्पर्कमा भने, ‘कोरोनाभाइसबाट त बचिएला मानसिक तनावमा निकै बढी भयो, यसले हामीलाई थप समस्यामा पारेको छ ।’

 

होस्टलमा भेटिएका थिए एक कोरोनाभाइरस संक्रमित



एलपियूको यही होस्टलमा एक जना भारतीय विद्यार्थीमा कोरोनाभाइरस संक्रमण देखिएको थियो । एलपियूले त्यसपछि सबैको र्यापिड टेस्ट गर्ने भन्दै फर्म पनि भरायो । तर, झन्डै ४० जनाको मात्र र्यापिड टेस्ट गरेपछि छोडियो ।

‘अहिले हामीलाई पनि कोरोनाभाइरस भएको छ कि भन्ने डर त्यसैले बढेको छ,’ फोन सम्पर्कमा पन्जाबको एलपियूबाट आएका विद्यार्थीले भने, ‘कलेजले गरेको बेवास्ताका कारण हामी निकै तनावमा छौँ, हामीलाई उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह गर्छौँ ।’



यही होस्टलमा खाना सप्लाई गर्ने क्यान्टिनमा पनि एकजनामा कोरोनाभाइरस संक्रमित भेटिएका थिए । उनको कोरोनाका कारण निधन भइसकेको हल्ला कलेजमा नेपाली विद्यार्थीहरुमाझ परेको छ । तर, कलेजले यसबारे कुनै सूचना दिएको छैन ।

‘उनीहरुले सूचना दिने होइन, सूचना लुकाउने काम गरिरहेका छन्,’ ती विद्यार्थीले भने, ‘यसले गर्दा हामी थप समस्यामा परेका छौँ । कलेजले पारदर्शी भएर सूचना दिएको हुन्थ्यो भने हामी लकडाउन सुरु हुनुभन्दा पहिले नै नेपाल आइसकेका हुन्थ्यौँ ।’ तर, एलपियूले लकडाउन नै भए पनि कलेज खुला हुने र परीक्षा सन्चालन गरिने भनेको थियो । त्यसैले उनीहरु सुरुवाती दिनमा नेपाल फर्किन सकेनन् । 

याे पनि पढ्नुहाेस्:

५ सय बढी नेपाली विद्यार्थी पढ्ने भारतको एलपियू कारवाहीमा, कोरोना फैलाउन खोजेको र असंवेदनशील भएको आरोप

 

पछि कलेजले भारतीय विद्यार्थीहरुलाई घर जान दियो तर नेपाली विद्यार्थीहरुलाई दिएन । 

कोरोनाभाइरस महामारीको यो समयमा कलेजले गरेको यही बेवास्ताका कारण पन्जाब सरकारले उसलाई स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण मात्र होइन, कलेजको लाइसेन्स खारेज गर्नु पर्ने माग गर्दै पन्जाबका शिक्षामन्त्री तथा केही विधायकले मुख्यमन्त्री र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत चिठी लेखेका छन् ।

 

इमेलको जवाफ आउँदैन, बोल्दा डिग्री नदिने चेतावनी दिन्छ

एलपियू प्रशासनले अहिले त्यहाँ रोकिएका नेपाली विद्यार्थीहरुलाई कलेजको विषयमा कुनै पनि सूचना बाहिर नल्याउन र चुपचाप बस्न निर्देशन दिँदै आएको छ । यसरी चुपचाप नबसेको खण्डमा नेपाली विद्यार्थीहरुलाई कलेजले डिग्रीसमेत रोकिदिने त्यहाँको प्रशासनका व्यक्तिहरुले भनिरहेका छन् । 

‘हामीलाई कलेजमा भर्ना हुँदा सुरुमा नै पनि एउटा सम्झौतामा हस्ताक्षर गराएको छ जहाँ कलेजबाट नराम्रो केही भन्न पाइँदैन, अन्यथा हाम्रो यति धेरै समयको पढाइ र खर्च सबै बर्बाद हुन्छ,’ कलेजका ती विद्यार्थीले भने, ‘त्यसैले मेरो नाम नलेखिदिनु होला ।’

उनले कलेज प्रशासन, कलेज प्रमुख तथा नेपाल विभागमा काम गर्ने कलेज प्रशासनका व्यक्तिहरुलाई आफूहरुले बारम्बार इमेल गरेको तर इमेलको जवाफ पनि नपाएको, उनीहरुले फोन नउठाएको गुनासो गरेका छन् । ‘हामीलाई कलेजले यहाँबाट नेपाल पठाउने व्यवस्था मिलाइदिए हुन्थ्यो,’ उनले भने, ‘हामी एक सय २० जना नै नेपालमा गएर २० दिन क्वारेन्टाइनमा बस्न तयार छौँ, नेपाल जाने खर्च पनि आफैं व्यवस्था गर्न तयार छौँ ।’

उनीहरुले यस्तो आग्रह गरेर कलेजलाई बारम्बार इमेल गरिरहेका छन् । तर, कलेज प्रशासनले कुनै इमेलको जवाफ फर्काएको छैन । नेपाली विद्यार्थीहरुले याचना गर्दै अन्य देशका विद्यार्थीहरुको जस्तै आफूलाई पनि फर्काउन अनुरोध गरेका इमेलहरु फरकधारसँग सुरक्षित छ ।

तर, कलेजले सयभन्दा बढी नेपाली विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गरिरहेको नेपाली विद्यार्थीको आरोप छ ।

अर्कोतिर नेपाली विद्यार्थीहरुले दिल्लीस्थित नेपाली दूतावासमा पनि आफूहरुलाई सहयोग गर्न अनुरोध गरिरहेका छन् । ‘तर, त्यहाँ जसले फोन उठाउँछ, उनी निकै गैरजिम्मेवार भएर बोलिरहेका हुन्छन्,’ ती नेपाली विद्यार्थीले भने, ‘हामी कलेजको चेपुवामा पर्दापर्दै दूतावासका कारण पनि अरु समस्या भोगिरहेका छौँ ।’

यी विद्यार्थीले कलेजका सन्चालक भारतीय राजनीतिमा समेत राम्रो प्रभाव राख्न सक्ने भन्दै कलेजमा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै उद्घाटन कार्यक्रमहरुमा ल्याउने गरेको बताएका छन् । ‘उनीहरुले हाम्रो वास्ता गर्ने हो भने प्रधानमन्त्री मोदीसँगै कुराकानी गरेर पनि हाम्रो व्यवस्थापन गर्न सक्थे,’ उनले भने, ‘तर, यसमा पनि उनीहरुले कुनै चासो दिएका छैनन् ।’

एलपियूले नेपाली विद्यार्थीलाई बेवास्ता गरेको यो पहिलो पटक भने होइन । यसअघि बारम्बार पनि एलपियूले भारत र अन्य देशका भन्दा नेपाली विद्यार्थीलाई बेवास्ता गर्दै आएको ती विद्यार्थीहरुले दाबी गरेका छन् । 

कोरोनभाइरसको यो महामारीबीच पन्जाब सरकारले थप १४ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ । २९ अप्रिलमा आएको यो निर्णयसँगै नेपाली विद्यार्थी थप तनावमा परेका छन् । 

  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार २०:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया