के चिनियाँ राजदूत यान्छीको सक्रियताले नेकपामा नयाँ मोड आउँदैछ ?
प्रचण्ड निवासमा चिनियाँ राजदूत हाउ यान्छी

एकातिर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरुबीच विवाद बढ्दै गएको छ भने अर्कोतिर चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटलाई तीव्रता दिएकी छिन् । 

केहीदिन अघि मात्र नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी यान्छीले शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुरमा नेपालसँग भेटवार्ता गरेकी छिन् । 

खुमलटारमा झन्डै एक घन्टा चलेको अध्यक्ष प्रचण्ड र राजदूत यान्छीको भेटमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणमा चीनले गरेको सहयोगको विषयमा कुराकानी भएको बताइएको छ । प्रचण्ड सचिवालयका अनुसार उनले यान्छीमार्फत् यो सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए ।

त्यसपछि राजदूत यान्छी त्यहाँबाट माधवकुरमा नेपाललाई भेट्न उनको निवास पुगेकी थिइन् । 

प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र नेपाललाई लगातार यसपटक भेटेकी यान्छीका कारण अहिले बढिरहेको नेकपाको राजनीतिक विवादमा नयाँ मोड आउने अनुमान गर्नु स्वाभाविक हो । 

 



याे पनि पढ्नुहाेस्:

चिनियाँ राजदूतको ‘आक्रामक मार्केटिङ’



 

पछिल्लो समय आफूलाई अल्पमतमा पारेर राजीनामासम्मको माग उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अवसरवादी शक्तिहरुको आडमा यस्तो भएको आरोप लगाउन थालिसकेका छन् । त्यसैले पनि नेकपाको राजनीतिमा यान्छीको यो सक्रियतालाई महत्त्वका साथ हेरिएको छ ।

भन्न त प्रचण्ड सचिवालय र नेपाल सचिवालयले यसलाई सामान्य भेटघाटका रुपमा अथ्र्याएका छन् । तर, केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीको चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन सम्पर्क भएको थियो । प्रधानमन्त्री केपी ओलीसँग भेट भएकै दिन राष्ट्रपति भण्डारीको सीसँग टेलिफोन सम्पर्क हुनु, चिनियाँ राजदूत यान्छीको नेपालमा सक्रियता बढ्नुले नेकपाको राजनीतिमा चीनको अब प्रत्यक्ष संलग्नता देखिन थालेको आशंकाहरु पनि जन्मिएका छन् । 

‘हाम्रो आन्तरिक राजनीतिमा चीनको कुनै दख्खल हुने कुरा त होइन,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारसँगको सम्पर्कमा भनेका छन्, ‘तर, नेपालजस्तो देशमा यसरी एक राजदूतको सक्रियता आशंका नजन्मिने पनि होइन ।’

यान्छीको यो सक्रियताले नेकपाको पछिल्लो राजनीतिक विवादमा कस्तो परिवर्तन ल्याउला ? यसका लागि २० वैशाखमा बोलाइएको नेकपा सचिवालय बैठकको निर्णय आएपछि थप प्रष्ट हुने जानकारहरु विश्वास गर्छन् । 
 

  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १४:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया