आज बस्ने नेकपा सचिवालय बैठकः के फैसला ल्याउला पछिल्लो विवादको ?

पछिल्ला केही दिनदेखि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद सहजै साम्य होला जस्तो देखिँदैन । पार्टीका शीर्ष नेताहरुको दौडधूपले पनि यसलाई प्रष्ट्याउँछ । 

आज (शनिबार) नेकपाको सचिवालय बैठक बस्दै छ । 

यसअघि बुधबार बसेको बैठकको दोस्रो एपिसोड हो, आज बस्ने बैठक । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय सदस्यहरुसँग एउटा प्रस्ताव राखेका छन्– प्रधानमन्त्री नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बनाउने र नेकपाका अर्का अध्यक्षका रुपमा माधवकुमार नेपालको नाम थप्ने । 

यी दुवै प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएपछि नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतम निकै व्यस्त भएका छन् । नेपाल र प्रचण्ड यो प्रस्तावलाई कसरी फेल बनाउने भन्नेमा छन् भने गौतमले पछिल्लो समय आफू प्रधानमन्त्री हुन सम्भव छ या छैन भन्नेबारे कानुनी परामर्श थालेको उनीनिकट नेताहरुले बताउन थालेका छन् ।

त्यसो त अब गौतमलाई प्रधानमन्त्री बनाउने हो भने आफूले राजीनामा दिएर उनका लागि ठाउँ खालि गरिदिन तयार भएको अभिव्यक्ति पनि नेकपा सांसदहरुले दिन थालेका छन् । यसअघि काठमाडौं ७ का सांसद रामवीर मानन्धरले पनि उनका लागि ठाउँ खाली गरिदिन्छु भनेका थिए । त्यो प्रक्रिया निकै अगाडिसम्म बढेको थियो । अब मानन्धर राज्यमन्त्री भएका छन् । तर, उनी अझै पनि वामदेवलाई ठाउँ खाली गरिदिन तयार छन् । 

नेकपाका अर्का सांसद खगराज अधिकारीले पनि पार्टी एकता बनाएर अगाडि लैजानका लागि आवश्यक परेको खण्डमा आफूले कास्कीमा गौतमका लागि सिट खाली गरिदिने बताएका छन् ।



तर, आजको बैठकले बल्ल गौतम यो अवस्थामा पुग्छन् या पुग्दैनन् भन्ने फैसला गर्ने अपेक्षा गरिएको छ ।

शुक्रबार चिनियाँ राजदूत हाउ यान्छीले प्रचण्ड र नेपालसँग भेटघाट गरेपछि अहिलेसम्म उनीहरुको बार्गेनिङमा पनि केही फरक आउन सक्ने अनुमान बढ्न थालेको छ । 



तर, शुक्रबार नै प्रचण्ड र नेपालले एकअर्कासँग भेटेर छलफल गरेका छन् । उनीहरुले प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्र अन्य विषयमा कुराकानी गर्न सकिने बताएका छन् । 

त्यसैले आजको सचिवालय बैठकमा आफ्ना तर्कलाई सफल बनाउन यी तीन नेता ओली, प्रचण्ड र नेपालले आआफ्नो तयारी गरेका छन् । अनि गौतमले पनि आफ्नो तयारी गरेका छन् । 

त्यसैले आज हुने भनिएको नेकपा सचिवालय बैठक विशेष महत्वका साथ हेरिएको छ । यसले पार्टीमा जारी विवाद मिलाउनेमा चाहिँ आशंका गर्न सकिने प्रशस्त ठाउँ छन् ।
 

 

  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार १:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया