कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोकमरी निश्चितजस्तै भएको बताएका छन् ।
शनिबार कर्णाली प्रदेश समाज दक्षिण कोरियाले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै मुख्यमन्त्री शाहीले कर्णाली विगतदेखि नै खाद्यान्नको अभाव हुने क्षेत्र भएको र लकडाउनका कारणले खाद्यान्न उत्पादनमा थप कमी आउने बताए । ‘कर्णालीमा भोकमरी हुने निश्चितजस्तै छ,’ उनले भने, ‘लकडाउनका कारण कृषिजन्य उत्पादनमा कमी आउनेछ ।’
अहिले पाकेको बाली भित्र्याउने तथा नयाँ लगाउने वेला भएको उनले बताए । तर, लकडाउनको पालना गर्दै परिवार र समूहमा काम गर्ने सवालमा स्थानीय प्रशासनले असहयोग गरेको मुख्यमन्त्री शाहीको भनाइ छ । ‘लकडाउनको पालना गर्दै विकास निर्माण र कृषिका काम गर्न भनेका थियौँ,’ उनले भने, ‘तर, स्थानीय प्रशासनका कारणले अहिले ती काम हुन सकेका छैनन् ।’
कर्णाली प्रदेश सरकारले सीमानाकामा कडाइ गरेर आन्तरिक विकास निर्माण र कृषि कार्य गर्ने भनेको, तर अहिले त्यो सम्भव नभएको मुख्यमन्त्री शाहीले बताए । ‘अहिले पनि कृषि कार्य गर्ने जनशक्ति भारतमै थुनिएर बसेका छन्,’ उनले भने, ‘लकडाउनका कारण कृषि उत्पादनमा ह्रास आउने निश्चित छ ।’
प्रदेश सरकारले अब रोजगारी र उत्पादनमा विशेष जोड दिएर बजेट ल्याउने मुख्यमन्त्री शाहीले बताए ।
‘अहिले त विकासको नाममा डोजरले बाटो खन्ने काम मात्रै भएको छ,’ उनले भने, ‘तर, अब युवालाई गाउँमै रोजगारी दिने गरेर बजेट ल्याउने तयारी गरेका छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।