संसद छिर्न लोभिएका वामदेवः के थिए यसअघिका प्रयास, कहाँबाट लड्दैछन् यसपटक ?
फाइल तस्वीर । फरकधार ।

शनिबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने निर्णय गरेको छ । 

यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नै वामदेव गौतमलाई उपयुक्त समयमा प्रधानमन्त्री बनाउने वचन दिइसकेका थिए । अब प्रतिनिधिसभामा उनलाई ल्याउने नेकपा निर्णय त्यसकै पूर्वतयारीका रुपमा पनि लिन सकिन्छ । 

यही निर्णयका कारण पार्टीमा पछिल्लो समय देखिएको विवाद पनि मत्थर हुने विश्वास गरिएको छ ।

तर, सँगसँगै प्रश्न पनि उठेको छ– अब गौतम कुन क्षेत्रबाट चुनावमा उठ्दै छन् ?

यसअघि भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट निर्वाचनमा पराजय भोगेका गौतमको संसद छिर्न गरेको प्रयास यो पहिलो पटक होइन । यसपटक उनी कुन क्षेत्रबाट चुनावमा उठ्दै छन् भन्ने विषयको चर्चाअघि यसअघि उनका प्रयासहरुलाई सरसर्ती हेरौँ ।

उनी यसपटक संसदमा छिर्ने प्रयास निश्चित मान्न सकिनेछ किनकि उनलाई यसपटक पार्टीको सचिवालयको नै साथ छ । 



तर, यसअघि वामदेवले आफैंलाई बारम्बार ब्याक गियरमा धकेलेका थिए । सांसद छिर्ने प्रयास असफल हुँदा उनले एक पटक त राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व लिनसमेत अगाडि बढ्ने योजना बनाएका थिए । तर, त्यो योजना पनि तुहिएको थियो ।

उनलाई ब्याक हुन बाध्य बनाएका ६ प्रसंग थिए–
 



१. डोल्पाबाट उम्मेदवार

२०७४ साल मंसिरमा भएको निर्वाचनमा बर्दियाबाट वामदेव उम्मेदवार थिए । तर, उनले निर्वाचनमा जित हासिल गर्न सकेनन् । झन्डै दुई तिहाई सांसद लिएर नेकपा सबैभन्दा ठूलो पार्टी बन्यो । तर, नेकपाका चिनिएका अनुहार वामदेव गौतम, नारायणकाजी श्रेष्ठहरु पराजित भए । तत्कालीन एमाले र तत्कालीन माओवादीलाई एकीकरण गर्न विशेष भूमिका खेलेको मानिएका वामदेव गौतमले चाहिँ पार्टीले ‘प्रचण्ड’ जित हासिल गर्दा पनि हारमा चित्त बुझाउनु प¥यो ।

निर्वाचन सकिएको केही महिनामा नै उनी संसद छिर्ने बाटो खोज्नतिर लागे । उनले २०७५ साल साउनमा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन तयार पारे । धनबहादुर बुढालाई वामदेव गौतमले नै सिफारिस गरेका थिए र उनी पर्यटन राज्यमन्त्री बनेका थिए । बुढाले डोल्पा पुगेर यसबारे छलफल पनि गरे । तर, उनले जनताले नमानेको सन्देश ल्याएर वामदेवलाई सुनाए । 

पहिलो पटक संसद भवन छिर्न गरेको वामदेव गौतमको प्रयास यहाँ नै तुहियो । 

 

२. वामदेवको दोस्रो च्वाइस प्युठान

डोल्पाबाट सांसद धनबहादुर बुढाले रेड सिग्नल देखाएपछि वामदेव गौतमले अर्को प्रयास सुरु गरे । उनले पहिलो नम्बरमा प्युठानबाट उम्मेदवार बन्ने र निर्वाचनमा विजयी भएर संसद छिर्ने सपना बनाउन थाले । तर, यसमा पनि उनले गरेको जोडबलले काम गरेन । प्युठानकी दुर्गा पौडेलले राजीनामा दिन मानिनन् । त्यसपछि दैलेखबाट निर्वाचनमा जान सकिन्छ कि भन्नेमा पनि वामदेव लागे । तर, त्यहाँ पनि उनले सोचेजस्तो रवीन्द्रराज शर्माले राजीनामा दिने भएनन् । यो प्रयासबाट पनि गौतमले आफूलाई पछाडि फर्काउनु पर्यो ।

 

३. काठमाडौं ७ प्रभावकारी नजरमा 

डोल्पा, दैलेख र प्युठानमा अन्तिम प्रयास गरेका वामदेवले अझै पनि संसदमा छिर्न सक्छु भन्नेमा विश्वास बाँकी राखेका थिए । त्यसैले एकपटक फेरि काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने र काठमाडौं ७ मा उपनिर्वाचन गरेर संसदमा छिर्ने सपना बनाए वामदेव गौतमले । रामवीर मानन्धरले यसमा सहमती समेत जनाए, उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पनि दिए । तर, आम मानिसले यो कुरालाई मन पराएनन्, काठमाडौं ७ का अधिकांश जनताले यसको विरोध गर्न थाले । पब्लिकमा यसको सन्देश नराम्रो गएको भन्दै वामदेव गौतमले यो कदमलाई पनि फिर्ता लिन पर्ने भयो । 

त्यति बेला रामवीर मानन्धरले वामदेव गौतमलाई देखाएको सदासयताको प्रतिफल अहिले उनले पाएका छन् । रामवीर मानन्धर अहिले सहरी विकास राज्यमन्त्री भएका छन् । 

 

४. कास्की २ को आकांक्षा

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ बाट सांसद पद खाली भयो । उपनिर्वाचन गर्ने सेरोफेरोमा नेकपाका अधिकांश नेताहरुले नै चर्चा गर्न थाले, त्यहाँबाट वामदेव गौतम उम्मेदवार हुँदैछन् । त्यसो त वामदेव गौतमले अधिकारीको निधन भएपछि अधिकारीकै परिवारबाट कोही राजनीतिमा आउने संकेत गरेका थिए । उनको यो संकेत अधिकारीपत्नी विद्या भट्टराईलाई गरेका थिए । 

तर, जब निर्वाचनको चर्चा सुरु भयो, त्यसपछि कास्कीमा नेकपाका नेताहरुले नै चर्चा गर्न थाले, सो क्षेत्रमा वामदेव गौतमले उम्मेदवारी दिँदैछन् । पार्टीभित्र मात्र होइन, बाहिर पनि यसको फेरि विरोध हुन थाल्यो । एक ठाउँबाट हारिसकेको व्यक्ति फेरि निर्वाचनमा जानु जनतामाथि धोका हुनु भन्ने सन्देश बाहिर दिन थालियो । 

अनि विद्या भट्टराईले पनि आफू राजनीतिमा आउने संकेत गर्न थालिन् । र, यही कारणले वामदेवले कास्कीमा निर्वाचन नलड्ने भए । त्यति बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट भएका वामदेव गौतमले ओलीविरुद्ध केही अभिव्यक्ति दिन थालेका थिए । ओलीलाई गौतम आफू निकट हुन् र पार्टीमा आफूलाई सहयोग गरुन् भन्ने चाहना थियो । त्यसैले ओली स्वयंले सचिवालय बैठकमा वामदेव गौतमलाई कास्की २ मा उम्मेदवार बन्न सल्लाह दिएका थिए । 

तर, यो प्रयासमा पनि वामदेव गौतम सफल हुन सकेनन् । उनले यो प्रयासमा पनि पछाडि फर्किनु प¥यो ।

 

५. विकास प्राधिकरण नेतृत्व गर्ने चाहना

बारम्बार प्रतिनिधि सभामा जान मन हुँदा पनि नपाएपछि वामदेव गौतमले आफूलाई शीर्ष स्थानमा राख्न र चलायामान बनाउन नयाँ अवधारणा ल्याए । उनले यही सम्बन्धि एउटा पुस्तक पनि लेखे । यो अवधारणा थियो– राष्ट्रिय विकास प्राधिकरणको । तर, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले यसलाई सोझै अस्वीकार गरिदिए । ओलीले अस्वीकार गरेपछि गौतम उनीसँग बिच्किए । गौतमले सोचेअनुरुप भएको भए यो प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनाको नेतृत्व गर्ने थियो । 

 

६. संविधान संशोधन अनि राष्ट्रिय सभामा इन्ट्री

बारम्बार प्रयास गर्दा पनि प्रतिनिधिसभामा जान नपाउने भएपछि वामदेव गौतमलाई नेकपाका अध्यक्ष प्रचण्डले प्रस्ताव राखे– अब राष्ट्रिय सभामा जाऔँ । यो प्रस्ताव गौतमले सहजै स्वीकार गरेनन् । उनले यसमा एउटा सर्त राखे– संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था गर्नुपर्छ । तर नेकपाका नेताहरुले नै अहिले संविधान संशोधन गरेर वामदेवको इच्छा पूरा गर्नुलाई बेमौसमी बाजाको संज्ञा दिए । यही कारण केही दिन अनौपचारिक रुपमा गठन भएको माधव नेपाल नेतृत्वको संविधान संशोधन अध्ययन कार्यदल पनि भंग हुन पुग्यो ।

 

अब यसपटक गौतम सांसद बन्नका लागि विभिन्न विकल्पहरु तयार भएका छन् । केही दिनअघि नेकपाका सांसदहरु खगराज अधिकारी, महेश बस्नेतलगायतले आफ्नो क्षेत्र गौतमका लागि छोडिदिने बताएका थिए ।

तर, गौतमसँग अरु पनि विकल्प छन् । झन्, कास्की र भक्तपुरभन्दा गतिलो विकल्प उनले तयार पारिसकेका छन् । 

स्रोतका अनुसार महासचिव विष्णु पौडेलसँगको सल्लाहमा यसपटक वामदेवले पाल्पा १ मा निर्वाचन उठ्ने तयारी सुरु गरेका छन् । त्यसका लागि पाल्पा निर्वाचन क्षेत्र १ का सांसद दलबहादुर रानालाई राजीनामा दिन लगाउने तयारी भएको छ । 

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा राना ३२ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका थिए । यो नेपाली कांग्रेसका उनका निकट प्रतिद्वन्द्वी विजयराज घिमिरेभन्दा ८ हजार ५ सय मतले बढी थियो । त्यहाँ अन्य ११ उम्मेदवार थिए ।

पाल्पाको यो क्षेत्रमा प्रदेश सभामा पनि दुवै नेकपाका नेताले जितेकाले यसमा आफ्नो जित निश्चित हुने ठानेर गौतमको रोजाइमा यो क्षेत्र परेको स्रोतको दाबी छ ।
 

 

  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार ३:२७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया