आफूले विश्वासघात नगरेको विश्वास दिलाउन चाहन्छन् वामदेव

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्दै छ । यसअघि ‘गर्मागर्मी’ भएको नेकपा विवाद अब विस्तारै सेलाउने अनुमान गरिएको छ । तर, त्यसका लागि भोलि बोलाइएको स्थायी कमिटी बैठकसम्म कुर्नु पर्ने हुन्छ । 

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत सदस्य बनाएपछि त्यहाँ उनको राजीनामाको विषयमा कुरा हुन पाएन । तर, स्थायी कमिटी बैठकमा चाहिँ उनको राजीनामाको विषय उठ्न सक्ने अनुमान गरिएको छ । किनकि स्थायी कमिटीमा अहिले केपी शर्मा ओली अल्पमतमा छन् । 

र, ओलीइतर नेताहरु अहिले पनि पार्टीमा एक व्यक्ति एक पद हुनुपर्ने माग राखिरहेका छन् । 

नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल यसमा अडिग रहेको बुझिन्छ । उनलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिइरहेका छन् । स्थायी समिती बैठकमा लगिने प्रस्तावमा पनि यो विषय उनले समावेश गर्न चाहेको बुझिएको छ । तर, अध्यक्ष ओलीले यो चाहेका छैनन् । 

यहीबीच अध्यक्ष प्रचण्डले पार्टीमा छलफल बढाएका छन् । उनले आफूलाई समर्थन गर्ने नेताहरु नेपाल, झलनाथ खनाल र नारयणकाजी श्रेष्ठसँग यस विषयमा कुराकानी पनि गरिसकेका छन् । ‘पछिल्लो पटक सचिवालय बैठकअघि भएको प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको सम्झौतामा पनि यही कुरा भएको थियो,’ प्रचण्डनिकट एक नेताले फरकधारसँग भनेका छन्, ‘तर, अब फेरि प्रधानमन्त्री ओली यसबाट डेभियसन हुन खोजेको बुझिएको छ । त्यसैले यस विषयमा गम्भीर कुराकानी गर्न उहाँहरु भेट गर्नु भएको हो ।’

अर्कोतिर यो भेटघाट भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतम झस्किएका छन् । त्यसैले बुधबार विहान नै गौतम आफूले विश्वासघात नगरेको सन्देश दिन खुमलटारमा प्रचण्ड निवास पुगेका छन् । ‘उहाँले आफूले पार्टी एक गर्नका लागि यस्तो गरेको तर आफू पहिले उठाइएको विषयमा नै अडिग रहेको सन्देश दिन खोज्नु भएको छ,’ खुमलटार स्रोतले फरकधारलाई जानकारी दिएको छ ।





  • प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार १३:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया