किट नहुँदा चितवनकाे काेराेना प्रयाेगशाला बन्द

कोरोना भाईरस (कोभिड–१९) को जाँचलाई तीव्र बनाउन चितवनमा स्थापना गरिएको कोभिड–१९ परीक्षण प्रयोगशाला किट अभावका कारण विगत एक हप्तादेखि बन्द अवस्थामा रहेको छ। स्वास्थ्य मन्त्रालयसँग कोरोना भाइरस परीक्षण गर्ने किट माग गर्दै आए पनि हालसम्म उपलब्ध हुन नसक्दा प्रयोगशालाको काम नै रोकिएको प्रयोगशालाका प्रमुख डा नितु अधिकारीले जानकारी दिइन्।

चितवनमा गत चैत २४ गतेदेखि सो प्रयोगशाला सञ्चालनमा आएको हो। तर किट अभाव भएपछि चितवनबाट सङ्कलन भएका नमूना परीक्षणको लागि बाहिरी जिल्ला पठाउन बाध्य भएका छन्। नेपालमै किटको अभाव भएकाले मन्त्रालयले समयमा किट पठाउन नसकेको बताइएको छ, प्रमुख डा अधिकारीले भने, हामीले अहिले पनि एक महिनाको लागि भनेर एक हजार २०० थान किटको माग गरेका छौँ। यसअघि पहिलोपटक पठाएको ३८३ वटा किट सकिएपछि थप ४०० किटको माग गर्दा मन्त्रालयले जम्मा १०० थान किट पठाएको उनले जानकारी दिए।

डा अधिकारीका अनुसार १०० वटा किटले चितवनमा जम्मा दुई दिन मात्रै परीक्षण गर्न पुग्छ। प्रयोगशाला स्थापना भएको एक महिना पुग्नै लाग्दा हालसम्म दुईपटक गरेर जम्मा ४८४ वटा मात्रै पिसीआर किट चितवन आएको छ। चितवनमा दैनिक सरदर ४० देखि ५० वटा किट खपत हुन्छ, उनले भने, त्यसैले हामीले बढी नै किट माग गर्ने गरेका छौँ, तर मन्त्रालयबाट नेपालमै किट अभाव भएको बताइएको छ।

सोमबार पनि चितवनमा १२ वटा स्बाव नमूना परीक्षणका लागि सङ्कलन भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्कलन भएको नमूनालाई हेटौँडा पठाइएको थियो। हेटौँडा प्रयोगशालाबाट सबै नमूनाको नतिजा नेगेटिभ आएको छ। रासस





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार ०:४१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया