त्रियुगा नगरपालिकाले गर्‍याे ४ महिनाको घरबहाल कर छुट, कोठा भाडा नलिन घरधनीलाई आग्रह

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाले चैतदेखि असारसम्मको घरबहाल कर नलिने निर्णय गरेको छ । नगरपालिकाले कोरोना भाईरस (कोविड–१९) महामारीका कारण चैत ११ देखि सुरु लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै व्यापारी व्यवसायीलाई राहतस्वरुप ४ महिनाको घरबहाल कर नलिने निर्णय गरेको हो ।

नगरपालिकाको राजस्व परामर्श समितिको निर्णयअनुसार लकडाउनले मर्माहत भएका व्यापारी व्यवसायीलाई राहतस्वरुप चैतदेखि असारसम्मको बहाल कर नलिने निर्णय गरेको नगरप्रमुख बलदेव चौधरीले बताए । उनका अनुसार रिक्सा, अटो र ठेलागाडाको पार्किङ शुल्क आर्थिकवर्ष ०७६/७७ र ०७७/७८ सम्मकै नलिने निर्णय पनि नगरपालिकाले गरेको छ । बैठकपछि मेयर चौधरीद्वारा जारी विज्ञप्तिमा नगरभित्रका साना तथा मझौला घरेलु उद्योग दर्ता र नवीकरणमा  ५० प्रतिशत कर छुट गर्ने निर्णयसमेत गरेको उल्लेख छ । 

‘विश्वब्यापी कोरोनासँग लडिरहेको अवस्थामा भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउनले देशको आर्थिक अवस्था धरासायी बन्दै गएको हुनाले राहतस्वरुप घरबहाल कर र पार्किङ शुल्क नलिने निर्णय गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ‘यसले निश्चय नै व्यापार व्यवसाय र स्वरोजगार गरिखाने नगरबासीलाई राहत महसुस गराउने हाम्रो अपेक्षा छ ।’

विज्ञप्तीमा ३ नं. वडा भुल्केका २८ जनामा संक्रमित देखिएपछि कोरोनाको केन्द्रबिन्दु बन्न पुगेपछि सिंगो नगरपालिका आतंकित हुन पुगेको भन्दै नगरक्षेत्रका उद्योगी, व्यापार, व्यवसायी र अटो, टेम्पो चालकलाई कर छुट दिने निर्णय गरेको उल्लेख छ । ‘नगरबासी व्यापार, व्यवसायी लकडाउनको चपेटामा परेका बेला आफु पनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने नारासहित  चैतदेखि असारसम्मको घरबहाल कर तथा अटो, टेम्पो र रिक्सा चालकलाई पार्किङशूलक नलिने निर्णय गरिएको छ ।’

मेयर चौधरीले नगरपालिकाका सम्पूर्ण घरधनीलाई लकडाउनभरीको घरभाडा नलिन पनि आग्रह गरेका छन् । ‘लकडाउनले सिर्जना गरेको विषम परिस्थितिमा आम व्यापारी व्यवसायीलाई घरभाडा मात्र नलिए पनि निकै ठूलो सहयोग हुने भएकाले यो आग्रह गर्दछु,’ उनले भनेका छन् । 





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १०:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया