पर्वतमा एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसन

पर्वत– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने १० कक्षाका विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन सुरु गरिएको छ ।
 
पर्वतको कुश्मा नगरपालिकाले गत चैत ६ देखि सुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइई स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई पढाइमा सहयोग गर्न अनिवार्य तीन विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । 

लकडाउनको समयलाई सदुपयोग गराउने काममा सहयोग गर्न नगरपालिकाले स्थानीय पञ्चासे एफएम, रेडियो शालिग्राम र रेडियो कुसुमबाट प्रत्येक दिन अनिवार्य अंग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । इन्टरनेटको पहुँच नगरभित्र सबै ठाउँमा नपुगेकाले रेडियोमार्फत कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

विषयगतविज्ञ शिक्षकहरु परिचालन गरेर रेडियोमार्फत एसइई दिने विद्यार्थीको पढाइमा सहयोग गर्न रेडियो ट्युसन कक्षा सञ्चालन गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । लामो समय परीक्षा स्थगन हुँदा र घरमा बस्दा दिक्क मानिरहेका र फुर्सदमा भएका विद्यार्थीलाई व्यस्त राख्न र उनीहरुको सिर्जनात्मक विकास तथा पुनर्ताजगीका लागि हौसला प्रदान गर्न नगरपालिकाको खर्चमा रेडियोमार्फत ट्युसन पढाइ कार्यक्रम सुरु गरिएको जोशीले बताए ।
 
नगरपालिकाको सहयोगमा रेडियोमार्फत पढाउने कार्यक्रम बुधबार सम्झौता भई शुक्रबारबाट सुरु भएको हो । एक महिनासम्म सञ्चालन हुने ट्युसन कक्षामा प्रत्येक विषयमा दुई–दुई शिक्षकले सहजीकरण गर्नेछन् । प्रत्येक विषयका लागि हरेक दिन एक घण्टाको समय मिलाइएको र उक्त समयमा विद्यार्थीले रेडियो सेटनजिकै पूर्ण तयारीका साथ कापी, कलम र किताब लिएर सिकाइमा लाभ लिन सक्ने कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए । उनले यसका लागि सबै अभिभावक, सरोकारवाला र विद्यार्थीलाई सक्रिय सहभागिताका लागि आग्रह गरे ।
 
पञ्चासे एफएमबाट बिहान ९ बजेदेखि अंग्रेजी विषयको कक्षा सञ्चालन हुनेछ । रेडियो शालिग्रामबाट बिहान ८ बजे गणित विषयको ट्युसन कक्षा हुनेछ । त्यसैगरी रेडियो कुसुमबाट बिहान ७ बजे विज्ञान विषयको कक्षा सञ्चालन गरिने नगर शिक्षा अधिकृत क्षेत्रीले जानकारी दिए । प्रविधिको सदुपयोगमार्फत विद्यार्थीको सिकाइमा सहयोग पुर्याउन सञ्चालन गरिएको रेडियो ट्युसन कार्यक्रमअन्तर्गत सातामा दुई दिन विषयगतरूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिने र उक्त प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीले विषयगत शिक्षकलाई आफूले नबुझेका र नजानेका प्रश्नहरु सोध्न सक्नेछन् भने शिक्षकले रेडियोबाटै जवाफ दिनुपर्ने व्यवस्था पनि गरिएको नगरपालिकाले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १०:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया