उखुकाे भुक्तानी नपाएपछि चिनी लाेडेड ट्रक किसानकाे कब्जामा

सर्लाहीको दक्षिण पश्चिम क्षेत्रमा पर्ने धनकौल गाउँपालिकास्थित अन्नपूर्ण सुगर मिलबाट चिनी बोकेर बाहिरिएका ट्रक पाँच दिनदेखि प्रहरी कार्यालयमा थन्किएका छन् ।

गत आइतबार मध्यराति उद्योगबाट चिनी लोड गरेर बाहिरिन लागेका ४ वटा तथा लोड हुन बाँकी २ वटा ट्रकलाई स्थानीय उखु किसानले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । चिनी लोड भएका दुईवटा ट्रकलाई प्रहरी चौकी भवानीपुर तथा २ वटा लोड भएका एवं खाली २ ट्रकलाई ईलाका प्रहरी कार्यालय हरकठवाको जिम्मा लगाइएको स्थानीय किसान संजिव सिंहले जानकारी दिए ।

‘रातारात चिनी लोड गरेर लैजान लागेको थाहा पाएपछि स्थानीय किसानले घेरेर ट्रक नियन्त्रणमा लिएका हुन्’, सिंहले भने, ‘लकडाउनको मौका छोपेर उद्योगपतिले चिनी लैजान खोजे पनि स्थानीय किसानले थाहा पाएपछि ट्रक नियन्त्रणमा लिन सफल भएका छन् ।’ किसानहरुले सबै ट्रकको टायरबाट हावा समेत निकालिदिएका छन् ।

किसानको करोडौं भुक्तानी बाँकी राखेपछि उक्त उद्योगबाट चिनी निकासीमा स्थानीय किसानले अवरोध गर्दै आएका छन् । उक्त उद्योगले चार वर्षअघि देखिकै किसानको उखुको भुक्तानी बाँकी राखेको सिंहले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले स्थानीय बासिन्दाले ६ वटा ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । ‘स्थानीय किसानले चिनी बोकेर बाहिरिन लागेका ट्रक नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्’, प्रजिअ जिसीले भने, ‘समस्या समाधानका लागि प्रयास भईरहेको छ ।’ उद्योगले चिनी विक्री गर्न पाउने र किसानको पनि वर्षौंदेखिको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने प्रजिअ जिसी बताउँछन् ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार ७:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया