भगिराज राईले समाजिक सञ्जाल फेसबुकमा मृतक आमाको काजकिरिया गर्न घर जान नपाएको भावुक स्टाटस लेखे । शुक्रबार मृत्यु भएकी आमाको काजकिरिया गर्नका लागि इलामको माई नगरपालीबाट आफ्नो घर पाँचथरको फालेलुङ गाँउपालिका–२ आउन खोज्दा भाउजु, आफन्तहरुसहित आफूलाई राँके बजारबाट फर्काइएको भन्दै पीडा व्यक्त गरेका थिए ।
स्थानीय जनप्रतिनिधि तथा अगुवाहरुले आफूहरुलाई फर्काएको उनको भनाई थियो । शुक्रबार राति आमाको काजकिरिया गर्नका लागि झापाबाट इलामको सीमासँग जोडिएको राँकेबाजर आईपुगेर उनीहरु फर्किएको खुल्न आएको छ । राँकेमा स्वास्थ्य जाँच गरेपछि गाँउ जान खोजे पनि दबावका कारण काजकिरिया गर्न घर जान नपाई बाटैबाट फर्किनु परेको राईले सुनाए । गृह मन्त्रालयले जारी गरेको पाससहित आउदा पनि फर्काइएको उनको गुनासो रहेको छ ।
राँकेबाट फर्किएर झापा पुगेका राईले टेलिफोनमा भने ‘वार्डले गाँउ जान अनुमती नदिइएपछि हामीहरु फर्कियौँ । म, भाउजु, सासुआमा तथा नानीहरुसहित नौँ जना थियौँ । गाँउ जाने अनुमती नहुँदा हामी फर्कियौँ ।’
‘पास बनाएर गाडी लिएर आएका थियौँ । हाम्रो मर्म कसैले बुझेन । राति भईसकेको थियो, वियोगको पीडा थियो । प्रहरीले ठूलो सहयोग गरेका थिए । वार्ड जाने अनुमती नपाउने भनेपछि फर्कियौ’ उनले भने ‘आमाको काजकिरिया गरेर फर्किन्छौँ वा क्वारेन्टाइनमा बसुला भन्दा पनि भएन । हाम्रो कारणले समाजमा त्रास हुने भयो रे । आमाको करिया गर्न आउदा हामीसँगनै समाज त्रसिने कुरा आएपछि फर्किन बाध्य भयौँ ।’
वियोगको पीडा, गाडीमा विरामी हुँदा थप समन्वय गर्न नसकेको उनले सुनाए । उनकी आमा ६५ वर्षिय रामबुङ राईको निधन भएको थियो । राई संस्कार अनुसार उनको मृत्यु संस्कारका लागि छोरा, बुहारी, नातीनि तथा आफन्तहरु झापाबाट आएका थिए । मृतक राईका तीन छोरा मध्ये दुई जना वैदेशिक रोजगारीमा छन् । कान्छा छोरा भगिराजले पनि गाँउमा करिया गर्न आउन नपाएका हुन । एक जना छोरी पनि काठमाडौँ भएकाले आउन पाईनन् । मृतकका देवरले काजकिरिया सुरु गरीरहेका छन् ।
यता, वडाध्यक्ष तिलबहादुर खत्रिले भने आफूहरुले नफर्काएको दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।