राैतहट सीमामा भारतले सीमा मिचेर बनाउँदैछ बाँध

दजगजा मिचेर भारतीय पक्षले धमाधम बाँध निर्माण गरे पनि रौतहट प्रशासन मौन देखिएको छ। रौतहटको ईशनाथ नगरपालिकाको सिमानासित जोडिएको नेपाल भारत सीमाको दशगजालाई मिचेर भारतीय पक्षले धमाधम बाँध निर्माण गरिरहेको भए पनि रौतहट प्रशासन भने मौन छ।

भारतले एकतर्फी रुपमा अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई मिचेर निर्माण गरेको बाँधको स्तर वृद्धि र विस्तार गर्न थालेपछि स्थानीय आक्रोशित भएका छन्। एक हप्तादेखि भारतीय पक्षले दशगजा क्षेत्रमै बाँध निर्माण गरिरहेको जानकारी जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटलाई स्थानीय गराइरहेको भए पनि स्थानीय प्रशासनले बाँध निर्माणलाई रोक्न कुनै पहल नगरेको आरोप लगाएका छन्।

नेपाल भारत सीमाको दशगजामा रहेको जंगे पिलर नम्बर ३४७ को पूर्व, मझौला पिलर ३४६–५ हुँदै बन्जरहासम्म एक दशक अघि भारतले एकतर्फी रुपमा बाँध निर्माण गरेको थियो। स्थानीयले विरोध गर्दागर्दै पनि निर्माण सोही बाँधलाई भारतीय पक्षले पाँच फिटभन्दा बढी अग्लो बनाइरहेको छ। पहिले नै सीमा मिचेर भारतीय पक्षले निर्माण गरेको बाँधलाई पाँच फिटभन्दा बढी अग्लो बनाउने र थप चौडा पार्ने काम गरिरहेको छ। 

अन्तराष्ट्रिय कानुनअनुसार सिमानामा पक्की वा स्थायी कुनै किसिमका संरचना बनाउन पाइँदैन। नेपाल भारतको सिमाना छुट्याउने दशगजा क्षेत्रको भूमिमा कुनै पनि संरचना निर्माण गर्न नपाइने कानूनी प्रावधान विपरित भारतले मर्मतको नाममा रौतहटको ईशनाथ नगरपालिकामा बाँधको चौडाइ तथा उचाइ थप्ने काम एकतर्फी रुपमा गरिरहेको छ।

करिब साढे दुई किलोमिटर लामो बाँधको मरम्मत भारतीय पक्षले गरिरहेको स्थानीय अमरजीत साहको दाबी छ। सिमेन्टको बोरामा ढुंगा र माटो भरेर भारतीय पक्षले एकतर्फी रुपमा बाँधको अस्वाभाविक उचाइ तथा चौडाइ बढाइरहेको साहको भनाइ छ।

सीमा मिचेर भारतले उक्त बाँध पहिले नै नेपाली भूमिमा निर्माण गरेको स्थानीयको दाबीे छ। ईशनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिगु साह बनियाले भारतीय पक्षले निर्माण गरिरहेको बाँधको बारेमा पटकपटक स्थानीय प्रशासनलाई जानकारी गराएको तर रौतहट प्रशासनले बाँध निर्माणलाई रोक्न कुनै ठोस पहल नगरेको आरोप लगाएका छन्। 





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार २२:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया