वीरेन्द्रनगरमा पनि खुल्न थाले उद्याेग

सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थालेका छन् ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रका अनुसार यहाँका २७ मध्ये सात उद्योग सञ्चालनमा आएका छन्। वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बञ्जाडेले पानी, दूध, कुखुरापालन, काठसम्बन्धी उद्योगहरुले आंशिक उत्पादन शुरु गरेको बताए।

कच्चा पदार्थ आपूर्ति, मजदुर र यातायातको सुविधा नभएकाले सबै उद्योग सञ्चालन आउन सकेका छैनन्, उनले भने, खुलेका उद्योगले पनि तत्काल कच्चा पदार्थ पाउन समस्या देखियो । कच्चा पदार्थ ढुवानी र मजदुर आवतजावतमा समस्या भएकाले सहजरूपमा सञ्चालन हुने अवस्था नरहेको प्रमुख बञ्जाडेको भनाइ छ ।

राधाकृष्ण उड इन्डस्ट्रिजका सञ्चालक उद्यम बस्नेतले आफूले उद्योग खोले पनि अझै वातावरण सहज नभएको गुनासो गरे। कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले उद्योग खोल्नुको मात्रै अर्थ नरहेको उनले बताए। छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण फैलिएपछि कर्णाली प्रदेश सरकारले एक साताका लागि प्रदेश सिल गरेको छ।

जसले गर्दा यहाँका उद्योगले कच्चा पदार्थ ल्याउन पाएका छैनन्। सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले अत्यावश्यकीय वस्तुबाहेकका अन्य मालसामानको उत्पादन गर्दा पनि बजारमा बेच्न सम्भव नरहेको बताए। हाल सरकारले खाद्यान्न, तरकारी र फलफूल पसल मात्रै खोल्न दिएको छ। अध्यक्ष रावतले उद्योग सञ्चालन सहजताका लागि जिल्ला प्रशासनका साथै प्रदेश सरकारसँग आफूहरुले छलफल गरिरहेको जानकारी दिए। रासस





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १५:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया