निर्दयी स्थानीय सरकार: जसाेतसाे भारतबाट नेपाल छिरेका नेपालीलाई उतै फर्काइयाे

भारतको पन्जाब प्रान्तको जालन्धरबाट गए राति नेपाल छिरेका २६ युवकलाई स्थानीय प्रशासनले भारततिरै फर्काएको छ। जालन्धरबाट तीन दिन लगाएर मोटरसाइकलमा आएका युवाहरुलाई राैतहटकाे स्थानीय प्रशासनले फेरि भारततिर लखेटेको हो ।

भारततिर लखेटिएका सबै युवक रौतहटको ईशनाथ नगरपालिकाका हुन्।

शनिवार अबेर राति ईशनाथ माध्यमिक विद्यालयको एउटा कोठामा युवाहरु आइपुगेका थिए। जालन्धरमा हातमा मेहदी लगाउने काम गर्दै आएका २६ युवाहरु गए राति आएर गाउँकै विद्यालयमा बसिरहेको थाहा पाएर आइतबार बिहान युवाका अभिभावक तथा स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। अवैध रुपमा लुकीछिपी युवकहरु नेपाल छिरेर विद्यालयमा बसेको सुनेपछि सशस्त्र प्रहरीले युवाहरुलाई लखेटेर नेपाल–भारत सीमाको मनमोहन स्मृतिद्वारसम्म पुर्‍याएको थियो।

गए राति सीमा क्षेत्रमा आइपुगेका युवाहरुले भारतस्थित आफन्तकहाँ खाना खाएर मोटरसाइकल त्यहीँ छाडेका थिए। पैदलै राति नेपाल भारत सीमा पार गरेका युवाहरुमा श्यामदेव राउत, महेन्द्र पटेल, वीरेन्द्र पटेल, पारसकुमार पटेल, सरोज पटेल, शिवजी पटेल, अवध साह, नितेशकुमार पटेल, विद्यानन्द साह कानु, राम विकास प्रसाद, मुकेश पटेल  नवल साह, पपुकुमार पटेल, विकी पटेल, रञ्जय पटेल, रोशन पटेल, अजय पटेललगायत छन् ।

भारतबाट आएका युवाहरुलाई नेपाल र भारत दुवैतिरको प्रशासनको समन्वयमा भारततिरै फर्काइएको छ। निकै दुःख गरेर आफ्नो घरको क्वारेन्टाइनमा बस्न आइपुगेको बताउने युवाहरुले कुनै पनि हालतमा भारततिर नजाने र जे जस्तो अवस्थामा भए पनि आफ्नै गाउँको क्वारेन्टाइनमा बस्ने आग्रह गरेका थिए ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १९:४०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया