कपिलवस्तुमा थप १० जनामा कोरोनाभाइरस संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १ सय २० पुगेको छ । कपिलवस्तुमा नै चाहिँ अब १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
तर, अहिलेसम्म कपिलवस्तुमा समुदायस्तरमा कोरोनाभाइरस संक्रमण फैलिइसकेको छैन । त्यहाँ विदेशबाट आएकामा कोरोनाभाइरस संक्रमण बढी देखिएको छ ।
काठमाडौंको राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तुको यशोधरा गाउँपालिका ५, बुद्धभूमि नगरपालिका ७ र १० वडाका १० जनामा संक्रमण पुष्टि भएको हो ।
बुद्धभूमिबाट कम्तिमा पनि १ सय २५ जनाको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । यीमध्ये अधिकांश भारतबाट फर्किएकाहरु थिए । नगरपालिकाले भारतबाट फर्किएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखेको थियो । यसरी क्वारेन्टाइनमा बस्नेहरु काठमाडौंबाट फर्किएका पनि छन् । त्यहाँको क्वारेन्टाइनमा १ सय २५ जना नै रहेको स्थानीय निकायले जनाएको छ ।
यता, सोमबार विहान भेटिएका संक्रमितहरु चाहिँ १८ देखि ३४ वर्षका छन् । उनीहरु सबै पुरुष हुन् ।
नेपालमा अहिलेसम्म ८८ जना पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।