चिनियाँ स्वार्थमा नेपालले लिपुलेक विवाद झिक्याे: भारतीय सेना प्रमुख, उपयुक्त समयमा जवाफ दिन्छाैँ: नेपाली सेना

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेले नेपालले उठाइरहेको लिपुलेकको विषय चिनियाँ स्वार्थमा रहेको संकेत गरेका छन् ।

चीनको नाम नलिइ उनले नेपालले अरु कसैको स्वार्थमा यो विषय उठान गरेको  आरोप लगाएका छन् । शुक्रबार भारतीय थिङ्क ट्याङ्क दि मनोहर पर्रिकार इन्सिच्युट अफ डिफेन्स स्टडिज एण्ड एनालाईसिस (एमपीआईडीएसए)को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालले लिपुलेकका बारेमा उठान गरेको विषयमा आफूले कुनै  विरोधाभास नदेखेको बताएका छन् ।

‘खासमा नेपाली राजदूतले कालीनदीको पूर्वतर्फ आफ्नो भूभाग भनेका छन् र त्यसमा कुनै विवाद छैन । हामीले जुन सडक निर्माण गरेका छौँ, त्यो नदीको पश्चिम भागमा रहेको छ। त्यसैले आन्दोलन के का लागि भइरहेको छ मैले बुझ्न सकेको छैन,’ उनले भनेका छन् ।

 उनले केही अघि बढ्दा त्रिदेशीय सीमा विन्दुका विषयमा सानो विवाद भएपनि विगतमा त्यस्तो कुनै समस्या नभएको बताएका छन्।  

त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाल मामिलाका जानकार डा. निहार नायकले सेना प्रमुखको भनाई तथ्यगत रुपमा सही भएको बताएका थिए। ‘सुरुमा नेपालले कालापानी र सुस्तामा विवाद भएको बताउँदै आएको थियो, अहिले उनीहरुले लिपुलेक र लिम्पियाधुरालाई पनि थपेर चार स्थानमा विवाद रहेको बताइरहेका छन्,’ नायकले भनेका छन्। उनले नेपालले विवादित भूभागको संख्या प्रत्येक वर्ष थप्दै गएको बताउँदै ऐतिहासिक प्रमाणका आधारमा मैत्रीपूर्ण ढंगले कुटनीतिक माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए। उनी एमपीआईडीएसएको रिसर्च फेलो समेत हुन्।  



भारतले नेपाली भूभाग लिपुलेकमा निर्माण गरेको सडक गत हप्ता उद्घाटन गरेपछि नेपालले त्यसमा आपत्ति जनाएको थियो। सरकारले लिपुलेकमा निर्माण गरेको सडकका विषयमा असन्तुष्टि जनाउँदै भारतीय राजदूतलाई कुटनीतिक नोट समेत बुझाएको थियो। नेपालले नेपालको भूभागमा भारतले सडक निर्माण गरेको विषयमा तत्काल छलफलका लागि भारतीय पक्षसँग आग्रह गरिरहेका बेला सेना प्रमुखको यस्तो भनाईले यो विषय थप जटिल बन्ने देखिएको छ। भारतले गत नोभेम्बरमा प्रकाशित गरेको राजनीतिक नक्सामा नेपाली भूभाग समेत समेटेको विषयमा नेपालले तत्काल कुटनीतिक नोट बुझाउँदै दुई पक्षीय छलफलका लागि प्रस्ताव गरेको थियो। तर भारतले भने नेपालको प्रस्तावको जवाफ नदिई एक तर्फी रुपमा नेपालको भूभागमा सडक विस्तार गरेको छ। यसले दुई मुलुकबीचको ऐतिहासिक सम्बन्धमा थप जटिलता उत्पन्न गराएको छ।  

भारतले नेपालको भूभाग मिचेर नक्सा प्रकाशित गरेको विषयमा तथा हालै निर्माण गरेको सडकका विषयमा नेपालमा चर्को विरोध र आलोचना भइरहेको छ। सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तथा अन्य विभिन्न राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी, विद्यार्थी तथा आम जनताले समेत भारतीय हेपाहा प्रवृत्तिको विरोध गर्दै आइरहेका छन्। कतिपयले नेपालले उक्त विषयलाई अन्तराष्ट्रिय करण गर्नुपर्नेमा जोड दिएका छन् भने कतिपयले नेपाल भारतबीच रहेको खुल्ला सीमानामा काँडेतार वा पर्खाल लगाउनुपर्ने सुझाव समेत दिएका छन्।  



उपयुक्त मञ्चमा धारणा राख्छौँ : नेपाली सेना

यसैबीच भारतीय सेना प्रमुखले लिपुलेकका विषयमा कुनै विवाद नभएको र नेपालले चीनको स्वार्थ अनुसार यो विषयको उठान गरेको बताइरहेका बेला नेपाली सेनाले भने यो विषयमा उपयुक्त मञ्चमा आफ्नो धारणा राख्ने जनाएको छ ।

‘यस विषयमा उपयुक्त मञ्चमा सेनाको आधिकारिक धारणा प्रधानसेनापतिबाट विधिसम्वत ढंगबाट व्यक्त हुनेछ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने।  

  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार २२:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया