बाँकेको नरैनापुरमा फेला परेका कोरोना संक्रमित आठै जनालाई दाङ पठाइएको छ । एम्बुलेन्समार्फत उनीहरुलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको हो । बाँकेमा आइसोलेसन कक्ष खाली नभएपछि दाङको अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
नरैनापुर गाउँपालिका अध्यक्ष शाहले संक्रमित सबैलाई एम्बुलेन्समार्फत दाङको आइसोलेसन अस्पतालमा पठाइएको बताए । ‘नेपालगन्जबाट एम्बुलेन्स ल्याएर आठै जनालाई दाङ पठायौं, उनीहरु अब निको नहुँदासम्म आइसोलेसनमै बस्नेछन्,’ अध्यक्ष शाहले भने । संक्रमित ब्यक्ति केहीदिन यता क्वारेन्टाइनमा बस्दै आएका थिए ।
भारतबाट फर्केका मध्ये ४५ जनाको स्वाब पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । कोरोना भाइरस पोजिटिभ भएका ब्यक्ति नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ बर्षका छन् ।
भेरी अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पोजिटिभ देखिएको हो । संक्रमित ब्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा उप–संयोजक नगेन्द्रकुमार शाहका अनुसार संक्रमित भएका मध्ये ६ जना तीन दिनअघि(बैशाख ३० गते) र बाँकी दुई जना एक हप्ता अगाडी भारतबाट अबैध नाका हुदै नरैनापुरमा प्रवेश गरेका थिए ।
‘कोरोना संक्रमित ८ जना मध्ये ६ जना बैशाख ३० गते र दुई जना एक हप्ता पहिले आएका हुन्, उनीहरु सबै क्वारेन्टाइनमा बसिरहेका थिए,’ शाहले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।