धुलिखेल अस्पतालमा सुत्केरीको मृत्युः मन्त्रालयले अब अध्ययन गर्ने

शनिबार विहानबाट नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्म ११ थपिइसकिएको छ । 

तर, यसमा भन्दा पनि धुलिखेल अस्पतालमा भएको एक निधनले सामाजिक सन्जाल तात्न थाल्यो । लगत्तै मिडियामा पनि धुलिखेल अस्पतालमा बिहीबार राति भएको एक सुत्केरीको निधनको समाचारले प्राथमिकता पाउन थाल्यो । 

पहिले यत्तिकै चलेका ‘हल्लाहरु’ले ती २९ वर्षे महिलामा कोरोनाभाइरस संक्रमण भएको आशंकाबारे बताइसकेका थिए । 

फरकधारले यस विषयमा सोध्न अस्पताल प्रशासनका एक अधिकारीलाई टेलिफोन सम्पर्क गर्यो । त्यति बेला उनले आरडिटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको तर थप कन्फर्मेसन पिसिआर रिपोर्टमा गरिने बताए । 

केही बेरपछि पिसिआर रिपोर्ट पनि पोजेटिभ आयो । ‘दुवै रिपोर्ट पोजेटिभ आएकाले उनको स्वाब टेकुस्थित प्रयोगशालामा पठाइएको छ भन्ने आधिकारिक जानकारी पाएको छु,’ अस्पताललाई उद्धृत गर्दै काभ्रेका प्रदेश सभा सदस्य चन्द्र लामाले फरकधारलाई भने, ‘अब त्यहाँको रिपोर्ट आएपछि नै फाइनल हुनसक्छ ।’

यी महिला खासमा २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनको नर्मल डेलिभरी भएको थियो । अनि २५ गते उनी घर फर्किएकी थिइन् । 



शनिबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘उनलाई खोकी लाग्नुका साथै स्वासप्रस्वासमा पनि समस्या देखिएको छ भन्ने सूचना पाइएको छ ।’

अब मन्त्रालयले यसबारे थप केही भनेको छैन । उनको रिपोर्ट पिसिआर प्रविधिमा आएको चाहिँ स्वास्थ्य मन्त्रालयले स्वीकार गरेको छ । तर, उनको मृत्यु कोभिड १९ कै कारण भएको हो या अरु केही भन्नेबारे चाहिँ अध्ययन गर्नु पर्ने मन्त्रालयको भनाइ छ । 



मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार यसका लािग मन्त्रालयको एक टोली धुलिखेल अस्पताल पुगिसकेको छ । त्यहाँबाट अब अनुसन्धान सुरु गर्ने बताइएको छ ।

अनुसन्धानमा संलग्न रहेका अधिकारीसँगको पछिल्लो सम्पर्कमा आएका अर्का एक अधिकारीले चाहिँ यी महिलाको मृत्यु कोरोनाभाइरसकै कारण भएको हुनसक्ने प्रवल सम्भावना रहेको बताएका छन् । उनलाई देखिएका लक्षण र सुत्केरी भएकाले इम्युनिटी पनि कमजोर भएको हुनसक्ने अनुमान अहिले गरिएको छ । 

तर, महिलामा कसरी कोभिड १९ सर्यो भन्ने विषयमा चाहिँ अहिलेसम्म थाहा हुन सकेको छैन ।

  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १७:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया