आलोचना गर्दा यथार्थ धरातलमा उभिएर छलफल गर्नुपर्छ : उपनेता नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दा यथार्थमा उभिएर छलफल गरी निष्कर्षमा पुग्दा राम्रो हुने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नीति तथा कार्यक्रम कोरोना केन्द्रित र वर्तमान समस्यालाई सम्बोधन गर्नमा नै केन्द्रित रहेको स्पष्ट पारेका हुन् ।  वर्तमान सङ्कट सम्बन्धमा नीति निर्माणअघि पनि विभिन्न चरणमा छलफल भएको र सोहीअनुसार नै नीति कार्यक्रम आएको उनकाे भनाइ थियाे ।

'नीति तथा कार्यक्रमले अहिलेको कोरोेनाको समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको छ । कोरोनाका सङ्क्रमितकोे अवस्था अहिले सामान्य छ र अझै जटिल बन्न सक्नेतर्फ सरकार सजग रहेको छ । कोरोनाको प्रभावमा परेका समुदाय र व्यक्तिलाई राहतको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ,' उनले भने ।

कोरोनाको प्रभावलाई सम्बोधन गर्ने गरी सरकारले काम गरिरहेको बताउँदै नेम्वाङले विगतका सन्दर्भलाई पनि समेटेर कतिपय कुराहरु नीतिमा समेटिएका कारण विस्तृत देखिएको हुनसक्ने दाबी गरे । यही सदनमा भएका दलहरु एकताबद्ध भएर विगतमा संविधान जारी गरी आजको अवस्थासम्म आइपुगेको प्रसङ्ग उल्लेख गर्दै नेम्वाङले त्यसयता उठेका केही माग र आवाजलाई पनि छलफल गर्दै निष्कर्षमा पुग्न सकिने धारणा राखेका हुन् ।

अब शान्ति र प्रजातन्त्रका लागि आन्दोलन गर्नुपर्ने भएको बताउँदै उहाँले नीति तथा कार्यक्रममा शान्ति प्रक्रिया पनि चाँडै टुङ्गोमा पु¥याउने उल्लेख गरेको अवगत गराए ।

'कोरोनाविरुद्धको लडाइँमा हामी सबै एक छौँ र यसलाई निरन्तता दिएरमात्र यसविरुद्धको लडाइँ जित्न सकिन्छ । नीति कार्यक्रमले लोकतन्त्रका सम्बन्धमा संविधान भएका आधारभूत विशेषतालाई समेत उल्लेख गरेको छ,' उनले भने ।



निरोगी नेपाल निर्माण गर्ने, समृद्धिका लागि वन, स्वच्छ नेपाल, रोजगारी, आर्यआर्जनका साथै अब कोही भोकै पर्दैन भोकले कोही मर्दैन, कृषिलाई थप आधुनिकीकरण, स्वदेशी वस्तुको उपभोग गरौँलगायतका कार्यक्रम महत्वपूर्ण भएको पनि उनले बताए ।

नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नेपालका अतिक्रमित भूमि समेटिएर नेपालको नक्सा जारी हुने बताउँदै उनले सबै एकताबद्ध भएर अघि बढ्न र जनतालाई निराशा होइन आशा बाँड्न समेत आह्वान गरे ।



  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार ०:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया