Sat, 06 Jun, 2020


पाकिस्तानमा ‘अनर किलिङ’: दुई युवतीमाथि बाबु र दाजुको गोली
फरकधार / जेठ ४, २०७७

उत्तर पश्चिम पाकिस्तानमा दुई युवतीलाई आफ्नै परिवारका सदस्यले हत्या गरेका छन् । ‘अनर किलिङ’ पनि भनिने यो हत्याको कारण उनीहरुको एउटा भिडियो सामाजिक सन्जालमा फैलिनु मानिएको छ ।



यी दुई युवतीलाई यही साताको सुरुमा उनीहरुकै घरमा परिवारका सदस्यलै नै गोली हानी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरुको भिडियो सामाजिक सन्जाल र इन्टरनेटमा आएपछि परिवारका सदस्यले उनीहरुको हत्या गरेका हुन् ।

आइतबार प्रहरीले यो घटनामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवतीका बाबु र अर्का दाजु भएको एएफपी समाचार एजेन्सीले जनाएको छ । पाकिस्तानी पत्रिका डनमा पनि यो समाचार छापिएको छ ।

यो घटना बिहीबारको भएको भनिएको छ । 

मृतक दुई युवतीको उमेर १६ र १८ वर्षको थियो । उनीहरु भिडियोमा अर्का एक युवासँग देखिएका थिए । उनीहरुसँग अर्की एक युवती पनि भिडियोमा देखिएकी छिन् । तर, यो भिडियो एक वर्ष अघि नै खिचिएको थियो । भिडियो एक वर्षअघि नै खिचेको भए पनि गत सातामात्र यो पाकिस्तानमा भाइरल भएको मानिएको छ ।

बिबिसीमा प्रकाशित समाचार अनुसार अब प्रहरीले भिडियोकी तेस्री युवती र ती युवाको खोजी गरेको छ । ‘उनीहरुलाई बचाउनु अब महत्वपूर्ण भएको छ,’ प्रहरीले भनेको छ ।

पाकिस्तानमा पछिल्लो समय पनि महिला हिंसा निकै गम्भीर समस्या भएको ह्युमन राइट्स वाचले बताउँदै आएको छ । पाकिस्तानमा झन्डै १००० अनर किलिङ वर्षेनी हुने बताइएको छ ।

परिवार र आफन्तको सम्मानमा आँच ल्याएको भन्दै परिवारकै सदस्यको हत्या गर्नुलाई अनर किलिङ भनिन्छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्