काेराेनाबाट मृत्यु भएकी महिलाकाे गाउँमा स्वाब संकलन जारी

कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको गाउँ बाह्रबिसे नगरपालिका- ९, राम्चेमा कन्टयाक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनका कार्य तीव्र बनाइएको छ ।

जिल्ला जनस्वास्थ कार्यालयका वरिष्ठ जनस्वास्थ अधिकृत दुर्गादत्त चापागाइँले मृतक महिलाको राम्चे गाउँको चालिसेटोल, ठोटनेरी टोल, रातामाटा टोल, कालापानी, टारबिसौनाका ५४ जनाको स्वाब सङ्कलन गरिएको जानकारी दिएका छन् । सङ्कलित स्वाबको नमूना काठमाडौँ पठाइएको छ ।

आज पनि स्वाब सङ्कलनलाई तीव्रता दिइएको छ । आइतबार सङ्कलन गरिएको स्वाबको सोमबार बेलुकाबाट रिपोर्ट आउने जनाइएको छ । सोमबार सङ्कलन गरिएको स्वाबको एक दुई दिनमै रिपोर्ट आउने जानकारी दिएको छ । स्वाब सङ्कलन गरिएकामध्ये कसैमा कोरोना भाइरसको लक्षण नदेखिएको चापागाइँले बताए ।

स्वास्थ निर्देशनालय, प्रादेशिक जनस्वास्थ प्रयोगशाला, सामाजिक विकास मन्त्रालय, स्वास्थ सेवा विभाग र स्थानीय स्वास्थकर्मीसहितको चिकित्सक टोलीले गाउँलेको आरडीटी र पीसीआरका लागि नमूना स्वाब सङ्कलन गरेका हुन् । सङ्क्रमित महिलाको हेलमेल र सङ्गतमा रहेका आफन्तजन, परिवारजन, गाउँले, छिमेकी, अस्पतालमा पुराउन सहयोग गर्ने गरी एकसय जनाभन्दा बढीको स्वाब सङ्कलन गर्न थालिएको छ ।

अहिले बिहानदेखि मृतक महिलाको माइती गाउँका लागि लामोसाँघु बजारमा स्वाब सङ्कलन गर्न थालिएकाे छ । मृतक महिलाको आफन्तको खोजी गरी स्वाब सङ्कलन गर्दैगरेको अधिकृत चापागाइँले बताए । सङ्क्रमित महिलालाई अस्पताल पुर्याउन र ल्याउन सहयोग गर्ने सबैको बाेलेरो चालक, एम्बुलेन्स चालक, बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रका स्वास्थ्यकर्मी सबैको स्वाब सङ्कलन गरिएको छ ।

धुलिखेल अस्पतालमा उपचारका क्रममा सुत्केरी महिलाको निधन भएपछि बाह्रबिसे नगरपालिका - ९, राम्चे, बलेफी गाउँपालिका ७ र ८ नम्बर वडामा जिल्ला सुरक्षा समितिले सिल गरेको छ ।



महिलालाई उपचार गर्न लगिएको बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र पनि सिल गरिएको छ । सिल गरिएको स्थानमा कसैलाई पनि घरबाहिर निस्कन नदिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव काफ्लेले बताउनुभयो । बाग्मती प्रदेश रेस्पोन्स टोलीले पनि काम थालेको छ ।



  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १०:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया