राैतहटका सात संक्रमित भारतबाट आएका, महिला घरमै बसेकी

रौतहटमा सोमबार फेरि एक महिला र सात पुरुष गरी आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । रौतहटमा सोमबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड(१९) का सात जना सङ्क्रमित हालै भारतबाट आएको खुलेको छ तर महिलालाई भने घरमै बसिरहेको अवस्थामा बाहिरबाट आएका श्रीमानबाट सङ्क्रमित भएको बुझिएको छ ।

रौतहटको माधवनारायण नगरपालिका खेसरहिया माइत बसेकी ती महिलाका श्रीमान् दश दिनअघि भारतको गुजरातबाट आई भेट गरेका थिए । सोही समयमा स्थानीयले श्रीमान्, श्रीमतीसहित १२ जनाको परिवारलाई क्वारेन्टाइनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रबल कायस्थले दिएका छन् । उहाँकाअनुसार परिवारका सबै सदस्य र श्रीमानकाे  स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको तर श्रीमतीको भने पोजिटिभ आएको छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमबार बिहान बताएअनुसार माधवनारायण नगरपालिकाका ती महिला र रौतहटकै इशनाथ नगरपालिकाका सात जना पुरुष कोरोना सङ्क्रमित भएका छन् ।

ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले कोराना सङ्क्रमित सात जना वैशाख ३१ गते भारतको विभिन्न सहरबाट आएको जानकारी दिए । उनका अनुसार सङ्क्रमित सबै जनालाई नाकाबाट सिधै क्वारेन्टाइन लगिएको र परिवारजनसङ्ग भेट हुन नपाएकोले परिवार सुरक्षित रहेका छन् । सङ्क्रमित ती पुरुष मजदुरीको लागि भारतको दिल्ली, मुम्बई र पञ्जाव गएका थिए ।  ईशनाथ नगरपालिकामा मात्रै हालसम्म कोराना सङ्क्रमित ११ जना पुगेको छ । जिल्लामा भने सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् ।

जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधवनारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताका अनुसार भारतको कानपुरबाट फर्केलगत्तै सातै जनालाई सिधै क्वारेन्टाइनमा पठाइएको थियो । त्यस्तै माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्रप्रसाद यादवका अनुसार सङ्क्रमित महिला वडा नं ३ सखुवा क्वारेन्टाईनमा १२ दिनदेखि बसिरहेकी छिन् ।



महिलाको श्रीमान १३ दिनअघि भारतबाट चोरबाटो भएर घरसम्म आएको थियो तर क्वारेन्टाइनमा बस्ने डरले उनी फेरी भारततिर नै भागेका थिए । महिलाको श्रीमान १२ घण्टासम्म घर परिवारको सम्पर्कमा रहेका कारण उनको घर परिवारमा रहेको श्रीमतीसहित १२ जनालाई क्वारेन्टाइनमा पठाई स्वाबको नमुना सङ्कलन गरी परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा पठाइएकोमा ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जना मात्रै उक्त महिलाको रिपोर्ट पोजेटिभ आएको मेयर यादवले बताउनुभयो । त्यस्तै ईशनाथ नगरपालिकाका सङ्क्रमितहरूको गत शुक्रबार स्वाबको नमुना सङ्कलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाएको थियो ।

यसअघि हिजो मात्रै रौतहटको इशनाथ र राजपुर नगरपालिकामा गरी १० जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनिहरु पनि ५ दिनअघि मात्रै भारतबाट फर्केको खुलेको थियो ।



  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १३:४५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया