‘दूध किन्न निस्किँदा प्रहरीले खुट्टा भाँचिदिए’

देशमा अहिले कोरोनाभाइरसविरुद्ध लड्नका लागि लकडाउन लगाइएको छ । तर, पनि विहान र साँझ मानिसहरु अत्यावश्यक खाद्यान्न किन्नका लागि बाहिर निस्किइरहेका छन् । 

लकडाउनको सुरुवाती दिनमा त त्यसरी बाहिर निस्किनेहरुलाई प्रहरीले कारवाही गरेका तस्वीर आइरहेका थिए । अब फेरि बाहिर प्रहरीको ज्यादतीका समाचार आउन थालेका छन् । सरकारले लकडाउन कडा बनाएको भन्दै अत्यावश्यक काममा हिँडेकाहरुलाई पनि प्रहरीले अमानवीय व्यवहार गरिरहेको छ ।

यस्तै एउटा समाचार आएको छ, वीरगन्जबाट । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को घटना हो यो । 

त्यहाँ ६७ वर्षका नागेन्द्र पटेल सोमबार विहान दूध किन्न घरबाट निस्किएका थिए । केही परको पसलमा जाँदै थिए । तर, बीचैमा प्रहरीले उनलाई भेटे । घरमा रहेका साना नातिनातिनालाई दूध किन्न गएका पटेलले प्रहरीको चुटाइ नराम्रोसँग भेटे ।

कतिसम्म भने प्रहरीको कुटाइबाट उनको खुट्टा नै भाँचिएको छ । 

प्रहरीले उनलाई बाटोमा नै कहाँ जान लागेको भन्दै रुखो स्वरमा पनि सोधेको प्रत्यक्षदर्शीले बताउँछन् । प्रहरीको यो प्रश्न आएलगत्तै उनी आएकै बाटो फर्किन खोज्दै थिए । तर, प्रहरीको लाठी बर्सियो उनीमाथि ।



दाहिने खुट्टामा नराम्रोसँग प्रहरीको लाठी बर्सिएपछि उनलाई चिनेजानेका अन्यले उठाएर घरसम्म पुर्याएका थिए । तर, खुट्टामा लागेको चोट ठिक नभएपछि उनलाई अस्पताल पुर्याइएको छ । अस्पतालमा एक्स रे गरेपछि थाहा भयो– उनको खुट्टाको हड्डी नै भाँचिएको छ । 

अब चिकित्सकहरुले उनको खुट्टामा प्लास्टर लगाएर तीन महिनासम्म बाँधिराख्न भनेका छन् । 



यसबारे प्रहरीले चाहिँ आफूहरुले वृद्धालाई नहानेको बताउन थालेको छ ।

  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार २१:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया