कहिलेकांही मात्र सामाजिक सन्जालमा टुप्लुक्क आइपुग्ने तर आएपछि राम्रै चर्चा कमाउने अभिनेता हुन्, राजेश हमाल ।
पछिल्लो सयम उनले राजनीतिक विषयमा पनि टिप्पणी गर्न थालेका छन् । यही क्रममा अहिले राजेश हमालले सीमा विवादबारे आफ्नो मत राखेका छन् । उनको निष्कर्ष छ– भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन् ।
बुधबार फेसबुकमा भिडियोमार्फत् आफ्नो राय उनले लेखेका छन्, ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार छैनन् । हाम्रो अहिलेको अनुभवसँग भारत पक्कै जानकारमात्र छैन, परिचित पनि छ । भारतले पहिल्यै उपनिवेश हटाउन त्यो संघर्ष गरिसकेको छ ।’
त्यसो त पछिल्लो समय विभिन्न सेलेब्रिटीहरुले यस विषयमा आआफ्नो धारणा राखेका छन् । अनि सामाजिक सन्जालमा नै राजेश हमालको मौनताको पनि विरोध हुन थालेको थियो ।
यही क्रममा भिडियो बनाएका राजेश हमालले सीमा विवाद वास्तवमा विवादै नभएको तर्क गरेका छन् । ‘छिमेकी राष्ट्रलाई ‘मिस अन्डरस्याण्ड’ मात्र भएको हो । नेपालले एउटै कुरा मागेको हो, जुन नेपालको हो । त्यसभन्दा धेरैरथोरै केही माग गरेको छैन,’ दृढ स्वरमा उनले भनेका छन् ।
भारतले चालेको कदमले नेपालीको भावनलाई मर्माहत पारेको उनी बताउँछन् । ‘वर्तमान अवस्थाको यो गतिविधि सह्य छैन । साधारण भाषामा यो अस्वीकार्य छ,’ भिडियोमा उनले भनेका छन्, ‘म यो भन्दिनँ, इतिहासमा हाम्रो कमजोरी थिएन, हामीले सम्झौता गरेनौं । जे होस्, हामीले हाम्रो स्वतन्त्रता बचाउन र सार्वभौमिकताका लागि त्यो त्याग गरेका हौं । यहाँको जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्नेवालामा छैन । यो अब सरकारको विषय मात्र होइन । यो मुद्दा अब हरेक नेपालीको हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।