काैशीमा खेती गर्नेलाई नि:शुल्क बीउ र मल

ललितपुर महानगरपालिकाले कौशी खेतीलाई थप प्रबर्द्धन गर्न  निःशुल्क तरकारीको बीउ र मल वितरण गर्ने भएको छ।  सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी गरिरहेको जनाइएको छ।

अन्यत्रबाट आएका तरकारी नगरवासीले प्रयोग नगरुन् भन्ने सोचका साथ बीउ वितरण गर्न लागेको वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए। उनले भने,  कौशीखेती प्रबर्द्धनमा जोड पुगोस् भन्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको हो। कौशी तथा करेसा या खेतबारीमा तरकारी उत्पादन गरी १० देखि १५ दिनभित्र महानगरवासीले रायो र तोरीको साग नै भए पनि फलाएर भान्छा चलाउन सफल हुन्छन् भन्ने उनको बुझाइ छ।

बीउ लैजाने किसानको उत्पादनलाई बढवा दिन ‘दिव्या ब्राण्ड गड्यौला मल’ वितरण गर्ने भएको छ।  घर हुने जनताले राम्ररी तरकारी फलाउन आधादेखि एक किलो कम्पोष्ट मल पनि निःशुल्क पाउने भएका छन्। वडा नं १५ मा रहेका लगभग दुई हजार घरलाई यी बीउ र मल वितरण गर्ने तयारी भइरहेको जनाइएको छ।  हाम्रो वडामा रहेका २३ टोल सुधार समितिका अध्यक्षलाई बोलाएर आ–आफ्ना ठाउँमा यी वस्तु वितरण गर्न लगाउने भएको छु, उनले थपे।

गोदावरी र महालक्ष्मी नगरपालिकाले पनि यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरिरहेका छन्। कोरोनाका कारण बहालमा बस्ने जनताले राहत लिएसँगै घरजग्गा हुने जनताले बन्दाबन्दीमा धानलगायत तरकारीको बीउबिजन खरिद गर्न जान नपाएका कारण उनीहरुको समस्या समाधान गरी दिन यी दुई नगरपालिकाले सहयोग गरेका हुन्। ललितपुरमा रहेका तीन गाउँपालिका वाग्मती, महाँकाल र कोञ्ज्योसोममध्ये वाग्मतीले वडा नं ४ प्युटारका ४९० किसानलाई धानलगायत तरकारीको बीउबिजन निःशुल्क वितरण गरिसकेको वडाध्यक्ष नारायणबहादुर घलेले जानकारी दिए।  





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १७:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया