कोरोनाभाइरस संक्रमितको उपचारका लागि तोकिएको पाटन अस्पतालमा अहिले १५ जना संक्रमितले उपचार गराइरहेका छन् । त्यसैले अब त्यहाँ नयाँ संक्रमित राख्ने बेड खाली छैन ।
यही कारण शनिबार दिउँसो एक संक्रमितले ठूलो सास्ती व्यहोर्नु परेको तथ्य बाहिर आएको छ ।
आइसोलेसनमा बेड खाली नभएपछि ललितपुरको पाटन अस्पतालमा पुगेका ती संक्रमित दिनभर एम्बुलेन्समा नै बस्नु पर्यो ।
सर्लाहीका यी संक्रमित केही दिनअघि भारतबाट फर्किएका थिए । बीचमा एक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि उनी सर्लाहीबाट काठमाडौं आइपुगेका थिए । कुलेश्वरमा रहेको राजधानी अस्पतालमा खुट्टाको उपचार गर्न गएका उनको हिस्ट्रीका कारण स्वाब लिएर कोरोना परीक्षण गरियो । अनि उनको रिजल्ट आयो– पोजेटिभ ।
त्यसपछि कुलेश्वरको अस्पतालले उनलाई पाटन अस्पताल पठाइदियो ।
तर, पाटनमा बेड खाली छैन । यता, टेकुमा पनि थप नयाँ संक्रमित राख्नका लागि आइसोलेसन बेड खाली नभए पछि ती संक्रमितलाई कहाँ राख्ने भन्ने टुङ्गो नै लागेन । किनकि उनलाई कोरोना पोजेटिभ आएको थाहा पाएपछि निजी अस्पतालले उनको भर्ना लिन मानेनन्, सरकारी अस्पतालमा आइसोलेसन बेड खाली भएनन् ।
अन्ततः स्वास्थ्य मन्त्रालयले दुवाकोटमा रहेको केएमसी अस्पतालको आइसोलेसन वार्डमा ती संक्रमितलाई पुर्याइयो । तर, केएमसीले आफ्नो अस्पतालमा कोरोना संक्रमितको राम्रो उपचार हुन नसक्ने बताएको छ ।
उता, एपिएफ अस्पतालले पनि यी संक्रमितलाई भर्ना लिन मानेन ।
यसले प्रष्ट पार्छ, अब काठमाडौंमा कोरोनाभाइरस संक्रमित भेटिएमा कुन अस्पतालमा राख्ने भन्ने राम्रो र प्रभावकारी तयारी सरकारसँग छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।