सशस्त्रले घर भत्काएपछि तीन महिनादेखि ३४ परिवार सुकुम्बासीको पालमुनि वास

कमल गाउँपालिका–५ लखनपुरका ७६ वर्षीय कमलपति चौलागाईंको तीन महिनादेखि बाँसको घोचामा ठड्याएको पालमुनिको वास छ । दिनदिनैजसो चल्ने हुरी र पानीले वेलावेला त्यही पाल पनि उडाउँछ । अनि, मध्यजेठको आँखा तिर्मिराउने घाम छल्न उनको ६ जनाको परिवारले रूखको छहारी खोज्नुपर्छ । 

चौलागाईंको यस्तो बिचल्ली कुनै प्राकृतिक विपत्तिले निम्त्याएको होइन, राज्यले उपहार दिएको हो । १४ वर्षदेखि बस्दै आएको घर सशस्त्र प्रहरीले भत्काइदिएपछि उनको खुला आकाशमुनि वास भयो । तीन महिनाअघि हतियारसहित आएका सशस्त्र प्रहरीले आफ्नो तालिम शिक्षालयको जग्गा अतिक्रमण गरी बसेको भन्दै चौलागाईंसहित ५२ परिवारको घर भत्काएको थियो । तीमध्ये ३४ परिवार सुकुम्बासी थिए, उनीहरू सबै अहिले खुला आकाशमुनि छन् । याे समाचार आजकाे नयाँ पत्रिकामा झापाबाट सुरन्जन घिमिरेले लेखेका हुन् ।

चौलागाईंको कहीँकतै एक बित्ता जग्गा छैन, अन्यत्र जाने विकल्प पनि थिएन । त्यसैले भत्काएकै ठाउँमा बाँसको घोचा र बोराको छानो लगाएर टाउको लुकाउने छानो बनाए । ‘हाम्रो जग्गामा किन बसेको भन्दै सशस्त्रले घर भत्काइदियो, भाँडाकुँडा र लुगाहरूसमेत लगेर गयो,’ उनले भने, ‘सुकुम्बासी हौँ हामी, अन्त कहीँ केही छैन । त्यसैले यहीँ ओत लाग्ने छानो बनाएँ ।’ तर, त्यही छानो पनि हावाहुरीले उडाएर लग्यो । 

अहिले स्थानीय समाजसेवी हुकुमसिंह राईले सहयोग गरेको त्रिपाललाई बाँसमा ठड्याएर ओत लाग्ने ठाउँ बनाएका छन् । तर, दिनदिनैजसो चल्ने हावाहुरी र पानीका कारण चौलागाईं निदाउन पाउँदैनन्, पानी र हुरीसँगको संघर्षमै बित्छ ७६ वर्षीय वृद्धको रात । ‘दिनैपिच्छे पानी पर्छ, अहिले त सुत्नै पाएको छैन,’ उनले पीडा सुनाए, ‘पानी परेपछि सबै ओछ्यान भिज्छ । पाल हावाले उडाउँछ कि भनेर रातभर समातेर बस्नुपर्छ । यसअघि तीनपटक उडाइसक्यो ।’ 

अहिले घर भत्काउने सशस्त्र प्रहरीलाई पहिला यिनै सुकुम्बासीले आँट, भरोसा र सुरक्षा दिएका थिए । ०६० मा माओवादी द्वन्द्व उत्कर्षमा रहेका वेला रतुवामाई वृक्षरोपण आयोजनाको जग्गा भोगाधिकार गरी सशस्त्र प्रहरीले पाथीभरा गण स्थापना गरेको थियो । गण जंगलले घेरिएको थियो । सशस्त्र प्रहरीले नै स्थानीय बासिन्दासहित सुकुम्बासीलाई आग्रह गरेर आफ्नैवरिपरि बसायो । अहिले भने गण भएको ठाउँमा गुल्म र तालिमकेन्द्र छ । 

‘हामी यहाँ १६ वर्षदेखि बस्दै आएका छौँ । सुरुमा माओवादीको जगजगी भएका वेला सशस्त्रले नै बोलाएर हामीलाई यहाँ बसाएको हो, त्यतिखेर हामीले नै उनीहरू (प्रहरी)लाई सुरक्षा दियौँ । तर, अहिले हामीमाथि नै अन्याय गरियो । अन्त कतै जग्गा छैन, अब कहाँ जाने हामी ?’ टहरोमा बसिरहेकी नरमाया चौलागाईंले भनिन् । 



अहिले बनाएका टहरा पनि भत्काउने भन्दै सशस्त्र प्रहरीले वेलावेलामा धम्क्याउने गरेको छ । ‘एक–दुई दिनअघि पनि सशस्त्र आएका थिए । लकडाउन भएर मात्रै नभत्काएको हो भन्दै थिए,’ स्थानीय खड्गदेवी लिम्बूले भनिन्, ‘यो पनि भत्काए भने हामी कहाँ जाने ? प्राण कसरी धान्ने ? हामी पनि यही देशका नागरिक हौँ । हामीसँग नागरिकता छ, सरकारले हेर्नुपर्दैन ?’

टहरामुनिका सुकुम्बासीलाई जंगली हात्ती र सर्पको त्रास पनि उस्तै छ । ‘पहिला राम्रो घर हुँदा त पटकपटक हात्तीले भत्काउँथ्यो, यी टहरामुनि के बाँकी राख्ला ? सर्प र विषालु किराहरूबाट केटाकेटीलाई कसरी जोगाउने भन्ने उस्तै पिर लाग्छ,’ टहरामै बसेका अग्नि कन्दङ्वाले भने । उनले सशस्त्र प्रहरीका आँखा छलेर लुकाएको जस्ताले बारेर त्रिभुज आकारको ओत लाग्ने टहरो बनाएका छन् । 



सशस्त्र प्रहरीले घर भत्काउँदा बस्तीमा जोडिएका बिजुलीको तारसमेत काटेर लग्यो, अहिले अन्धकार छ । चर्पी पनि भत्काएर गएको थियो । त्यसैले उनीहरू शौच गर्न जंगल जानुपर्छ । ‘बेलुका भएपछि त सर्पले ठुंग्छ कि भनेर जंगलमा चर्पी जान पनि डर लाग्छ,’ स्थानीय हरि रोक्काले भने, ‘अब हामी मर्नु ? यहाँको स्थानीय सरकार त हामीलाई खेदाउन लागेको छ । प्रधानमन्त्री केपी ओलीज्यू ! हामी तपाईंकै निर्वाचन क्षेत्रका बासिन्दा हौँ । अब हामीलाई तपाईंकै आस छ ।’

राहत माग्न जाँदा जनप्रतिनिधिले भने– मिडियासँग माग्नु 

मजदुरी गरेर घर चलाउने सुकुम्बासीले लकडाउनपछि काम पाएका छैनन् । अन्यत्रका सुकुम्बासी र मजदुरले थोरबहुत राहत पाए पनि लखनपुरका सुकुम्बासीलाई राज्यले त्यो पनि दिएको छैन । बरु, राहत माग्न गएका सुकुम्बासीलाई स्थानीय जनप्रतिनिधिले ‘मिडियासँग माग्नु’ भन्ने गैरजिम्मेवार जवाफ दिएर फर्काएका छन् । 

‘हामीले एकपटक पेट पाल्न पनि गाह्रो भयो, खान पाइएन भनेर मिडियामा बोलेका थियौँ । पछि राहत माग्न जाँदा वडाध्यक्ष डम्बर निरौलाले मिडियामै गएर माग्नु भन्नुभयो,’ स्थानीय पवित्रा बेघाले भनिन्, ‘जहाँको नागरिक भए पनि भोकै नराख्ने भनेर सरकारले भनेको समाचारमा आउँछ । तर, हामीलाई राज्यले यस्तो व्यवहार गर्छ, के हामी यो देशको नागरिक होइनौँ र ?’ वडाध्यक्ष निरौलाले भने आफूले ‘राहत माग्न मिडियामा जानु’ नभनेको दाबी गरे । लखनपुर क्षेत्रका सुकुम्बासीले खेती गरेर धान फलाएका कारण राहत नदिएको उनले बताए । 

  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ५:४३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया