दलित युवतीकाे हत्या अभियोगमा जाहेरी दर्ता

रूपन्देहीको देवदहमा एक दलित किशोरीको जबर्जस्ती करणीपछि हत्या गरेको जाहेरी प्रहरीमा दर्ता भएको छ। प्रहरीले घटनालाई आत्महत्या भन्दै अनुसन्धान प्रक्रिया नै अघि बढाएको थिएन। घटनाबारे समाचार प्रकाशित भएपछि अधिकारकर्मीहरूको दबाबपछि मंगलबार प्रहरीले जाहेरी लिएको हो। इलाका प्रहरी कार्यालय बुटवलमा मृतक किशोरीका आमा शान्ति पासीले जबर्जस्ती करणी गरेको व्यक्तिलाई बचाउन समाजका अगुवाहरूले उमेर नै नपुगेको छोरीलाई घर भित्र्याएर हत्या गरेको जाहेरी उल्लेख गरेकी छन्।

जाहेरीमा २५ वर्षीय वीरेन्द्र भर, उनकी आमा ५० वर्षीया अकाली भर र ५५ वर्षीया सितली भरलाई विपक्षी बनाई मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीत सिंह राठौरले जानकारी दिए। गत जेठ १० गते वडा ११ का अध्यक्ष अमरबहादुर चौधरी र समाजका अगुवाले वीरेन्द्रलाई बचाउन उमेर नै नपुगेकी किशोरीलाई बचाउन जबर्जस्ती घर भित्र्याइ दिएका थिए। किशोरीलाई वीरेन्द्रले घर लगे पनि आमा अकालीले कथित तल्लो जातको बुहारी ल्याएको भन्दै घर प्रवेश गर्नमा रोक लगाएकी थिइन्। किशोरीलाई कुटपिटसमेत गरेको मृतककी आमा शान्तिले बताइन्। घटनापछि केटा पक्षबाट धम्कीसमेत आएको किशोरी ठूलोबुवा बलिराम पासीले बताए। उनले केटा पक्षले आर्थिक प्रलोभनसमेत देखाएको बताए।  

शनिबार दिउँसो देवदह–२ पेटबनिया रोहिणी खोला किनारमा रूखमा झुन्डिएको अवस्थामा दलित किशोरीको शव भेटिएको हो। शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको, भित्री वस्त्र देखिएको र चप्पलसमेत नलगाएको अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले बताएको छ।  

पीडित परिवारले हत्या भएको दाबी गर्दै न्यायको माग गर्दै बुटवल र भैरहवाको प्रहरी कार्यालयमा पटकपटक धाएका थिए। आर्थिक रूपमा समेत विपन्न दलित परिवारकी नाबालिकामाथि जघन्य अपराध गरेको घटनामा अधिकारकर्मीहरूले दबाब दिएपछि मात्रै जाहेरी दर्ता भएको पूर्वसांसद तथा अधिकारकर्मी विनोद पहाडीले बताए। घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाहीका लागि परिवारले जाहेरी दिएको उनको भनाइ छ। पछिल्ला दिनमा दलित समुदायमाथि भइरहेको विभेदले समाजमा न्याय हराएको महसुस भएको अधिकारकर्मीहरूले बताएका छन्। किशोरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ। 





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार ८:३६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया