वृद्ध भत्ता नबढाइएको बजेटमा वृद्धवृद्धाका लागि केही छ ?

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामि आर्थिक वर्ष २०७७–७८ का लागि बजेट ल्याएका छन् । कोरोना महामारीका कारण अर्थतन्त्रमा ठूलो नोक्सान भएकाले यसपटक बजेटमा तलब तथा भत्ताहरु केही पनि बढाइएको छैन । 

साथै यसपटक बजेटमा वृद्धवृद्धाका लागि भत्ता पनि बढाइएको छैन । तर, के बजेटमा केही फरक पारिएको छ ?

वृद्धवृद्धाबारे बजेटमा उल्लेख चाहिँ गरिएको छ ।

‘हालसम्म दिइँदै आएको सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छु,’ बजेट भाषणका क्रममा अर्थमन्त्री डा. खतिवडाले भने, ‘सबै स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सन्चालन गर्ने नीति अन्तर्गत आगामी आर्थिक वर्ष बाँकी स्थानीय तह तथा सम्भाव्य वडामा समेत विस्तार गर्ने प्रबन्ध मिलाएको छु ।’

सामाजिक सुरक्षाका भत्ताका लागि बजेटमा ६७ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

त्यस्तै, यो सरकारले सुरु गरेको सत्तरी वर्षमाथिका जेष्ठ नागरिकका लागि एक लाख रुपैयाँको निःशुल्क स्वास्थ्य बीमालाई निरन्तरता दिइएको छ । यो कार्यक्रमबाट तीन लाखभन्दा बढी जेष्ठ नागरिक लाभान्वित भएको भन्दै आगामी वर्ष थप तीन लाख नागरिकलाई सो सेवा उपलब्ध गराउने प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ ।



‘चालु वर्षमा तीन लाख विपन्न परिवारले निःशुल्क स्वास्थ्य वीमा सेवा प्राप्त गरेकामा आगामि वर्ष थप चार लाख परिवारले यो सेवा सुविधा प्राप्त गर्ने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री खतिवडाले भनेका छन् ।



  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार २२:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया