भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण

काठमाडौं– नेपाली सेनाको जंगीअड्डाले दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

भारतका हिन्दुस्तान टाइम्स र टिएफआई पोष्ट डटकमले नेपाली सेनाबारे प्रकाशन गरेको समाचार प्रोपगाण्डा मात्र भएको जनाएको छ । ती पत्रिकाले भारतीय सेनाध्यक्षको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको दाबी गरेका थिए । 

नेपाली सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै ती दाबीलाई प्रोपगाण्डा मात्र भएको र दुई सेनाबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित भएको टिप्पणी गरेको छ ।

 ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ,’ सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

जंगीअड्डाले नेपालमा राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने परिस्थितिमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले यस प्रकारको अफवाह फैलाइएको आरोप लगाएको छ ।

नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको उललेख गर्दै भारतीय सेनाध्यक्षको टिप्पणीबारे रक्षामन्त्री ईश्वर पोखरेलले पनि धारणा सार्वजनिक गरिसकेको बताएको छ । 



भारतीय सेनाध्यक्ष नरभानेले यो मुद्दा नेपालले कसैको इसारामा उठाएको दाबी गर्दै लिपुलेकमा कुनै समस्या नभएको बताएका थिए । 



  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १३:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया