भारतबाहेक विदेशबाट नेपालीलाई स्वदेश ल्याउने निर्णय
फाइल तस्वीर ।

सरकारले भारतबाहेक अन्य देशमा रहेका र अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको समितिको बैठकले विदेशमा रहेका र फर्किन चाहने नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धी कार्ययोजना पारित गरेको हो । 

अब विदेशमा रहेका नेपालीहरुबारे तथ्यांक संकलन गरेर अगाडि बढ्ने सरकारी तयारी छ । विदेशबाट नेपाल आउन चाहनेबारे १० दिनभित्र तथ्यांक संकलन गरिने बताइएको छ ।

अबको एक सातामा नै विदेशबाट नेपाली ल्याउने काम सुरु गर्ने सरकारको तयारी रहेको छ । 

शुक्रबार बैठकमा सहभागी नेपाल सरकारका एक अधिकारीका अनुसार पहिलो चरणमा अब विदेशबाट २५ हजार नागरिक नेपाल ल्याउने तयारी रहेको छ ।

पछिल्लो समय सरकारले भारतसहित विभिन्न देशबाट झन्डै १३ लाख नेपाली स्वदेश फर्किन सक्ने अनुमान गरेको छ ।



 

कसरी ल्याउने नेपाल ? यहाँ ल्याएपछि के गर्ने ? 



उच्चस्तरीय समितिको सो बैठकमा सहभागी नेपाल सरकारका उच्चपदस्थ एक अधिकारीका अनुसार विभिन्न देशले आफैं नेपाली नागरिक विमानस्थलसम्म ल्याइदिने प्रस्ताव गरेका छन् । 

सरकारले पनि विभिन्न देशमा विमान पठाएर नागरिकहरुलाई नेपाल ल्याउने तयारी गरेको छ । 

त्यसरी ल्याएका नागरिकलाई केही दिन काठमाडौंकै क्वारेन्टाइनमा राखिने योजना सरकारले बनाएको छ । 

काठमाडौंको क्वारेन्टाइन विभिन्न प्रकारका हुनेछन् । काठमाडौंमा होटलमा क्वारेन्टाइनमा बस्न चाहनेले पहिले नै आफैंले बुक गरेर आफ्नो खर्च आफैं तिर्नु पर्ने हुन्छ ।

यसको व्यवस्थापन पर्यटन मन्त्रालयले गर्ने जनाइएको छ । सार्वजनिक क्वारेन्टाइनको पनि विकल्प हुनेछ । काठमाडौंको क्वारेन्टाइनमा १४ दिन बसेपछि उनीहरुलाई आआफ्नो जिल्ला पठाइनेछ । तर, त्यहाँ पनि फेरि क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाइँदैछ ।

  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १८:३९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया